काठमाडौँ — २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसको निर्वाचित सरकार गठन भएको तीन वर्ष पूरा हुँदै थियो । सरकार गठन भएदेखि नै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच अस्वाभाविक द्वन्द्व चर्किरहेको थियो । कोइराला सरकारका विरुद्ध एमाले निरन्तर सडक संघर्षमा थियो ।
नेपाल कम्युनिस्ट पार्टीको ४५ औं वार्षिक उत्सवको अवसर पारेर २०५० वैशाख ९ मा एमाले काठमाडौं विशेष क्षेत्रीय समितिले महँगी र भारतीय प्रहरीको हस्तक्षेपको विरोधमा एक कार्यक्रम आयोजना गरेको थियो ।
सोही कार्यक्रममा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेता तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले कांग्रेस भारतपरस्त भएको आरोप लगाउँदै त्यस पार्टीभित्रको झगडालाई सैद्धान्तिक नभइ कुर्सी, कमिसन र पैसाका लागि भएको बताउँदै यो समस्या समाधान नभएसम्म आफूहरूले सडक संघर्ष नछाड्ने भएका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहबीचको द्वन्द्व सतहमा आएका बेला अधिकारीले कांग्रेसमाथि यस्तो आरोप लगाएका थिए ।
२०५० जेठ ३ मा चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । उक्त घटनालाई एमालेले पार्टीका नेता केपी शर्मा ओलीको अध्यक्षतमा छानबिन आयोग गठन गरेर दासढुंगा दुर्घटना नभएर षड्यन्त्र भएको बताएको थियो । उक्त घटनाको छानबिन गर्न बेवस्ता गरेको भन्दै विशेषतः सत्तारुढ कांग्रेस र कोइराला नेतृत्वको सरकारका विरुद्ध सडक तथा सदनमार्फत एमालेले आन्दोलन गरिरहेको थियो ।
२०४८ को संसदीय निर्वाचनपछि प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमालेले सरकारको विरोधमा सडक आन्दोलनलाई निरन्तरता दिइरहेको थियो । त्यसैले उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले भनेका थिए, ‘हामीले सडक छाडेका छैनौं, सडक हाम्रो आधार हो, सडक राजनीति हाम्रो राजनीतिको केन्द्रविन्दु बन्नेछ । परेमा हामी हजार पटक पनि सडकमा जान तयार छौं ।’
एमाले अध्यक्ष अधिकारीले प्रधानमन्त्री कोइरालामा नैतिक र प्रजातान्त्रिक आचरण नभएको, कांग्रेस पार्टीका सभापति कृष्णप्रसाद भट्टराईमा आँट र हिम्मत नभएको आरोप पनि लगाएका थिए । उनले कांग्रेसजस्तो अराजक पार्टीले मुलुक चलाइरहेको भन्दै यस्तो पार्टीले प्रजातन्त्र जोगाउन नसक्ने बताएका थिए । कांग्रेसलाई प्रजातन्त्रप्रति निष्ठावान् र सिद्धान्तप्रति प्रतिबद्ध नभएको आरोप पनि अधिकारीले लगाएका थिए ।
यी सबै कुरालाई समेटेर ‘एमालेद्वारा सडक राजनीति नछाड्ने दृढता’ शीर्षकको समाचार कान्तिपुर दैनिकले २०५१ वैशाख १० मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] UML's proclamation of not giving up the street movement](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/pach-1572025011854-1000x0.jpg&w=1001&h=0)