[अर्काइभ] कांग्रेसभित्रको त्यो द्वन्द्व

कांग्रेस गिरिजाप्रसादसँगै सती जान सक्दैन : सिंह

असार २८, २०८२

कान्तिपुर संवाददाता

[Archive] That conflict within Congress

काठमाडौँ — २०४६ को राजनीतिक परिवर्तनपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व यसरी चर्किएको थियो कि शीर्ष नेताहरू भौतिक आक्रमणमा उत्रन मात्र बाँकी थियो । नेताहरूबीचको असहमति मिडिया र सार्वजनिक मञ्चबाट छरपस्ट भइरहेको थियो ।

कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मनमुटाव २०४८ मा झापाको कलबलगुडीमा भएको केन्द्रीय महाधिवेशनमै देखिएको थियो । त्यसपछि कांग्रेस सरकारको गठनपछि भएका राजनीतिक नियुक्तिप्रति गणेशमानको गम्भीर असहमति थियो । महेश आचार्यलाई अर्थ राज्यमन्त्री र रामशरण महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएकामा गणेशमानले पार्टीभित्रको समझदारी तोडेको भन्दै आपत्ति जनाएका थिए । 

यही प्रसंगमा उनले महेशप्रति इंगित गर्दै भनेका थिए, ‘दुधे बालकलाई अर्थमन्त्री बनाइयो ।’ संसदीय निर्वाचन पराजित भएकाहरूलाई राजनीतिक नियुक्ति नदिने समझदारी पार्टीमा भएको थियो । तर नुवाकोटबाट २०४८ को संसदीय निर्वाचन हारेका महतलाई योजना आयोगको उपाध्यक्ष बनाएकामा गणेशमानले पार्टीभित्रको समझदारी तोडेको आरोप कोइरालालाई लगाएका थिए । 

एमालेका तत्कालिन महसचिव मदन भण्डारीको दासढुंगामा भएको दुर्घटनापछि रिक्त काठमाडौं– १ को संसदीय उपनिर्वाचनमा पार्टी सभापति कृष्णप्रसाद भट्टराइ पराजित भएको दोष प्रधानमन्त्री कोइरालामाथि लगाइएको थियो । गणेशमानले कोइरालाले खुलेयाम अन्तर्घात गरेर सभापति भट्टराई हराएको ठोकुवा गरेका थिए । २०५० माघ २५ मा भएको उपनिर्वाचनको दुई महिनाभन्दा बढी समय बिते पनि कांग्रेसको अन्तरकलह साम्य हुने होइन, झन्झन् झाङ्गिएको थियो ।

नेपाल विद्यार्थी संघले २०५१ बैशाख ६ मा आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गणेशमान, प्रधानमन्त्री कोइराला र सभापति भट्टराई एउटै मञ्चमा बसेर एकले अर्कालाई रिस पोखेका थिए । उक्त कार्यक्रममा बोल्ने क्रममा गणेशमानले प्रधानमन्त्री गिरिजाप्रसादविरुद्ध कटाक्ष गरेका थिए । उनले लामो भाषण गर्दै कांग्रेस गिरिजाप्रसादसँगै सती जान नसक्ने भन्दै कटु आलोचना गरेका थिए । उनले भनेका थिए, ‘पार्टीको सिद्धान्त र आदर्श अनुसार सरकार र पार्टी सञ्चालन भएको छैन ।’ उनले पार्टीमा व्यक्तिगत मात्र नभइ सैद्धान्तिक मतभेद रहेको र त्यो मतभेद जीवनमरणको रूपमा रहेको बताएका थिए । 

[Archive] That conflict within Congress

पार्टी र सरकार यसरी नै चलेमा आफू बिस्तारै कांग्रेसको राजनीतिबाट अलग हुने चेतावनी पनि उनले दिएका थिए । उनले सरकार दुई वर्षअघिदेखि नै गलत ढंगले चलेको भन्दै प्रधानमन्त्री परिवर्तन गर्नुपर्ने विचार राखेका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्री गिरिजाप्रसादलाई ‘बलिको बोका’ बनाएर भए पनि प्रजातन्त्रका निम्ति पार्टी जोगाउनुपर्छ ।’ उनले प्रजातन्त्रको स्थायित्वका लागि कांग्रेसले ५ वटा चुनाव जित्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीले राजिनामा दिए उचित हुन्छ ।’ 

गणेशमानले सैद्धान्तिक मतभेद भने पनि सभापति भट्टराईले भने पार्टीभित्रको झगडा सबै सिद्धान्तको नभएको बताएका थिए । भट्टराईले भनेका थिए, ‘पार्टीको मतभेद जिवन्तताको प्रमाण भए पनि त्यसको सीमा नाघ्न हुँदैन ।’ उनले खुला बजार अर्थतन्त्र संसारमा मुख्य आर्थिक आन्दोलन भएकाले त्यसमा समाजवादलाई कसरी मिलाउने र गरिबको कल्याण गर्ने सोचाइ राख्नुपर्ने बताएका थिए । उनले योजना आयोगका उपाध्यक्ष महतप्रति इंगित गर्दै युवा विद्यार्थीलाई भनेका थिए, ‘तपाईंहरू महतजीलाई समाइराख्नुस् र प्रधानमन्त्रीलाई टोकसी राख्नुस् ।’

प्रधानमन्त्री कोइरालाले गणेशमानप्रति इंगित गर्दै आफ्नो विरोधप्रति कुनै पनि दुःख नलागेको बताएका थिए । उनले पार्टीभित्रको द्वन्द्वलाई सरकारको स्थायित्व र अस्थिरताबीचको लडाइँ भएको धारणा राखेका थिए । उनले आपसी कलहले कांग्रेस नफुट्ने र नटुट्ने भन्दै कोइरालाले आपसमा ‘सँगै बाँचौं र सँगै मरौं’ भन्ने नारा हुनुपर्ने बताएका थिए ।

स्थानीय विकास मन्त्री रामचन्द्र पौडेलले शीर्ष नेताहरू बोल्नु अगाडी नै भनेका थिए, ‘नेताहरूको वरिपरि बसेर उहाँहरूलाई फुटाउने षड्यन्त्र हुनेछ भन्ने बीपीको भविष्यवाणी कतै मिलिरहेको त छैन ?’ उनले दरबार र कम्युनिस्ट देखाएर पार्टीलाई खाल्डोमा हाल्ने अवस्था त भएको छैन भन्दै आफूहरू सिद्धान्तबाट विचलित भएर व्यक्तिवादी बनेको बताएका थिए । उनले आफू गणेशमान, गिरिजा र कृष्णप्रसादको मान्छे भएर नहिँडेको भन्दै कांग्रेस भएर बस्ने बताएका थिए । २०१७ देखि ०२६ सालसम्मको आन्दोलन विद्यार्थीले नै चलाएको भन्दै पौडेलले नेताहरू जेलबाट छुटेपछि विभाजन सुरु भएको बताएका थिए । 

सभामुख दमननाथ ढुंगानाले प्रजातन्त्रिक आन्दोलनका वाहकहरूमा नै प्रजातान्त्रिक संस्कार न्यून रहेको बताएका थिए । गृहमन्त्री शेरबहादुर देउवाले परिवर्तन मानसिकता र सामाजिक मान्यताहरूमा आउनुपर्ने बताएका थिए । कार्यक्रममा नेविसंघका महामन्त्री चन्द्र भण्डारीले भाषण गर्दा होहल्ला भएर आउट–आउट भनिएको थियो ।

स्वागत भाषणका लागि मञ्चमा उभिएका भण्डारीविरुद्ध भएको हुटिङ साम्य पार्न कार्यक्रमको अध्यक्षता गरिरहेका नेविसंघका सभापति एनपी साउदले चर्को स्वरमा सबैलाई चुप लाग्न ह्वीप नै जारी गरेका थिए । नेविसंघले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा आपसी विवादकै कारण स्वागत भाषण पनि दुई जनाले गरेका थिए । भण्डारी र काठमाडौं जिल्ला समितिका सभापति दुई जनाले स्वागत भाषण गरेका थिए । 

भण्डारीले भाषण गर्दा दर्शकदीर्घाबाट आउट–आउट भन्ने स्वर सुनिएपछि अध्यक्ष साउदले भाषण छोट्याउन भनेका थिए । तर भण्डारी मञ्चमा उभिरहेपछि सभास्थलमा भागदौड मच्चिएको थियो । खासमा त्यतिबेला भण्डारी कोइराला पक्षसँग निकट भएकाले काठमाडौं–१ को उपचुनावमा उनले निर्वाह गरेको भूमिकाप्रति कांग्रेसभित्रकै एउटा पक्ष असन्तुष्ट थियो । त्यसकै परिणाम हुटिङ भएको थियो । 

होहल्ला नरोकिएपछि सभापति भट्टराईले मञ्चमा उभिएर चर्को स्वरमा हप्काएका थिए । त्यसपछि विद्यार्थीहरू बसेका थिए । तर भट्टराईको गालीलाई गणेशमानले मन पराएका थिएनन् । बोल्ने क्रममा उनले ‘होहल्ला गलत भएको’ बताए पनि भट्टराईको हप्काइप्रति कटाक्ष गर्दै भनेका थिए, ‘आफ्नो पार्टीलाई कुन अनुशासनमा राख्या छ र, विद्यार्थीप्रति रोष देखाउनु ।’ खासमा गणेशमान र कांग्रेसका केही सांसदले गिरिजाप्रसादमाथि कारबाही हुनुपर्ने र प्रधानमन्त्रीबाट राजिनामा पनि दिनुपर्ने माग गरेका थिए । 

नेविसंघको उक्त कार्यक्रम नेताहरूको राजनीतिक विचारभन्दा पनि एकाआपसमा भएका मनमुटावलाई सार्वजनिक गर्ने थलो बनाइएको थियो । 

कांग्रेसभित्रको द्वन्द्व र शीर्ष नेताहरूले राखेका धारणालाई आधार बनाएर पत्रकार तारानाथ दाहालले लेखेको समाचारलाई कान्तिपुर दैनिकले २०५१ वैशाख ७ मा ‘सिंहद्वारा सरकारको कटु आलोचना’ शीर्षकमा प्रकाशित गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully