[अर्काइभ] यसरी धराशायी बनेको थियो उदयपुर सिमेन्ट

असार २६, २०८२

कान्तिपुर संवाददाता

[Archive] This is how Udaipur Cement collapsed

काठमाडौँ — हेटौंडा र उदयपुर सिमेन्टलाई अहिले पनि गुणस्तरीय स्वदेशी उत्पादन मानिन्छ । तर आन्तरिक प्रशासनिक द्वन्द्व, राजनीति हस्तक्षेप र निजी क्षेत्रका सिमेन्ट उद्योगसँगको प्रतिस्पर्धाका कारण सरकारले स्थापना गरेका सिमेन्ट उद्योग दिनप्रतिदिन धराशायी बन्दै गएका छन् । 

ती उद्योग स्थापना गर्दाका बखत जुन अवस्थामा थिए, त्यसलाई अझ बढी उत्पादनमुखी र गुणस्तरीय बनाउँदै नाफामा लैजानुपर्ने दायित्वबाट सरकार चुकेको छ । 

नागरिकले गुणस्तरीयतामा विश्वास गरेको उदयपुरबाट उत्पादित गैंडाछाप सिमेन्ट कारखाना २०४४ मा स्थापना गरिएको हो । जापान सरकारको सहयोगमा स्थापना भएर ०४९ देखि व्यावसायिक उत्पादन सुरु गरेको उदयपुर सिमेन्ट उद्योग सरकारको पूर्ण स्वामित्वको उद्योग थियो । पञ्चायतकालमा स्थापना गरेर उत्पादन ‘टेस्टिङ’ गरेको उद्योगले ०४६ को परिवर्तनपछि सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त उद्योगबाट उत्पादित सिमेन्ट गैंडाछाप ब्रान्ड त्यतिबेला निकै चर्चामा थियो ।

वार्षिक २ लाख ७७ हजार टनभन्दा बढी उत्पादन निकाल्न सक्ने उक्त उद्योगले २०५०/०५१ मा दैनिक ८ सय टन उत्पादन गर्थ्यो । त्यतिबेला भारतीय सिमेन्टको प्रभाव नेपालमा भए पनि उदयपुर उद्योगबाट उत्पादित सिमेन्ट पनि प्रतिस्पर्धामा थियो । यो सिमेन्ट जापानी प्रविधिबाट बनेकाले जनविश्वास बढी थियो । सिमेन्टको ब्रान्ड अहिले पनि गैंडाछाप नै हो । 

[Archive] This is how Udaipur Cement collapsed

सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक गोपालसिंह थापाले ३२ वर्षअघि कान्तिपुरलाई दिएको अन्तर्वार्ताका क्रममा गरेको दाबी अनुसार पहिलो चरणमा अनुमान गरेबमोजिम नै लक्ष्यको ८० प्रतिशत उत्पादन भएको थियो । उक्त सिमन्टलाई बजारमा अन्य निजी र भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सहज बनाउने उद्देश्यले बिक्री करमा ५० प्रतिशत छुट दिइएको थियो । 

उद्योगले वार्षिक १० करोड बिजुली शुल्क र ६ करोड बिक्री शुल्क सरकारलाई बुझाउने गरेको थियो । कोइला, गिप्सस र रड खरिदमा बर्सेनि करोडौं रुपैयाँ खर्च हुने गरेको थियो । उद्योगले प्रत्यक्ष/अप्रत्यक्ष हजारौंलाई रोजगारी दिएको थियो । 

दक्ष जनशक्ति उत्पादन गर्न २०४९ मा तीन समूहमा गरी ४५ जनालाई तालिमका लागि जापान पठाइएको थियो । उद्योगलाई चाहिने चुनढुंगा उदयपुर खानीबाटै प्राप्त हुने र कम्तीमा ७५ वर्षसम्म उक्त खानी सञ्चालन गर्न सकिने अनुमान त्यतिबेला गरिएको जानकारी थापाले दिएका थिए । उद्योगलाई राम्रोसँग सञ्चालन गर्ने हो भने त्यतिबेला जति उत्पादन गरिन्थ्यो, त्यसलाई दोब्बर बनाउन सक्ने अवस्था थियो । 

उल्लेखित विषय र सन्दर्भहरूमा केन्द्रित रहेर तत्कालीन महाप्रबन्धक थापासँग लिइएको अन्तर्वार्ता कान्तिपुर दैनिकले ‘उदयपुर सिमेन्टको मुख्य प्रतिस्पर्धा स्वदेशी सिमेन्ट उद्योगसँग नै छ’ शीर्षकमा २०५१ वैशाख १ गते प्रकाशित गरेको थियो । 

कुनै बेला उदयपुर उद्योगको सिमेन्ट पाउन राजनीतिक शक्ति लगाउनुपर्थ्यो । तर अहिले भने उद्योग बेलाबेलामा खुल्ने र बन्द हुने भएकाले घाटामा रहेको छ । उद्योगले २ वर्षदेखि चालु खर्चसमेत धान्न सकेको छैन । उद्योगमा आर्थिक अभाव भएकाले कर्मचारी तीसौं वर्ष काम गरेर रित्तो हात अवकाश पाएका छन् । आर्थिक वर्ष २०६४/०६५ देखि उद्योग झन् धराशायी बन्दै गएको हो । सिमेन्ट बेच्ने व्यापारीलाई भुक्तानी दिन नसक्दा उद्योगले जताततै अदालतमा मुद्दाको सामन गर्नुपरेको छ भने उद्योग सञ्चालन गर्न कोइला खरिदका लागि बजेटसमेत छैन । 

मुद्दाका चाङ लागेपछि उद्योगका सबै ४० वटा खाता बन्द छन् । अदालतसँग अनुरोध गरेर अहिले एउटा बैंक खातामार्फत तलब खुवाउने र दैनिक प्रशासनिक काम भइरहेको छ । उद्योगको पछिल्लो तथ्यांक अनुसार झण्डै ३० हजार बोरा सिमेन्ट अहिले पनि बिक्री हुन सकेको छैन । निजी क्षेत्रबात उत्पादित सिमेन्ट सस्तो र विक्रेताले पाउने कमिसन पनि धेरै भएकाले गैंडाछाप बिक्री हुन नसकेको उद्योगका कर्मचारी बताउँछन् । मेसिनहरू सबै पुराना भएका छन् । त्यसले उत्पादनमा पनि प्रभाव पारेको छ । 

अनुदानको भरमा उद्योग सञ्चालन गर्न कठिन भएपछि सरकारले २०७२ सालमा निजीकरण गर्ने निर्णय गरेको थियो । तर त्यो पनि कार्यान्वयन हुन सकेको छैन । अहिले पनि उद्योगले २ सय ८ जना कर्मचारी पालेर राखेको छ भने सरकारसँग चालु खर्च माग गरिरहेको छ । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully