[अर्काइभ] अमेरिकाले यसरी सुरु गरेको थियो डीभी कार्यक्रम

असार २९, २०८२

कान्तिपुर संवाददाता

[Archive] This is how America started the DV program

काठमाडौँ — ३१ वर्षअघिसम्म अमेरिका जान पाउने नेपालीलाई ‘भाग्यमानी’ मानिन्थ्यो । अहिले पनि अमेरिकी प्रवेशाज्ञा (भिसा) पाइयो भने खुसीयालीकै रूपमा एकापसमा सेयर गर्ने चलन छ ।

पछिल्लो समय अमेरिका पुग्न ज्यान जोखिममा राखेर चोरी बाटोबाट जाने चलन पनि निकै फस्टाएको छ । दलाललाई एउटै व्यक्तिले करोड बुझाएर तीन महिना हिँडेरै अमेरिका पुग्ने गरेका घटना अनगिन्ती छन् ।

अमेरिका जाने क्रममा कतिपयको बाटैमा ज्यानै पनि गएको छ । तर पनि नेपाली अमेरिका पुगेर रोजगारी पाउनुलाई जीवनको ठूलो उपलब्धि मान्ने गर्छन् । अमेरिकाले स्थायी बसोबास गराउने उद्देश्यले चिट्टाको माध्यमबाट व्यक्ति छनोट गरी लैजाने नीति लागू गरेपछि हजारौं नेपालीले आफ्नो सपना पूरा भएको ठान्ने गरेका छन् । नेपालमा जस्तोसुकै ठूलो पद, प्रतिष्ठा र आर्थिक हैसियत भए पनि अमेरिका जानेहरूले आफूलाई ‘भाग्यमानी’ नै ठान्छन् । 

नेपालीले आफूलाई ‘भाग्यमानी’ ठान्ने डीभी–नीतिको सुरुवात भने अमेरिकाले तीन दशकअघि गरेको थियो । १९९४ मार्च ३१ अर्थात् २०५१ चैत १८ को निर्णयअनुसार अमेरिकाले आफ्नो मुलुकमा आप्रवासन कम भएका मुलुकलाई यो अवसर दिने निर्णय गरेको हो । 

अमेरिकाले ५ वर्षभित्रमा एउटै मुलुकबाट ५० हजार जनाले अमेरिका जान निवेदन दिने मुलुकलाई यो अवसर प्रदान गर्ने नीति लागू गरिएको थियो । अमेरिकाले डाइभर्सिटी इमिग्रेन्ट भिसा लटरी (डीभी–वन) योजना अघि सारेपछि एक वर्षभित्र ५५ हजार जनालाई आफ्नो मुलुक लैजाने योजना अघि सारेको थियो । तर पहिलेदेखि नै कुनै मुलुकका नागरिक ठूलो संख्यामा अमेरिका बसोबास गरेका छन् भने त्यस्ता मुलुकलाई यो अवसर दिइएको थिएन । 

[Archive] This is how America started the DV program

अमेरिकी सूचना केन्द्रका कूटनीतिक संवाददाता एडमण्ड एफ सोरले जनाएअनुसार प्राप्त निवेदन कम्प्युटरको माध्यमबाट आकस्मिक रूपमा छानिने जनाएका थिए । भाग्योदय चिठ्ठाका रूपमा हेरिएको उक्त अवसरमा सहभागी हुनेको निवेदन १९९४ जुन १–३० भित्र अमेरिका पुगिसक्नुपर्ने प्रावधान राखिएको थियो । त्यतिबेला शैक्षिक योग्यता प्लस टू पास गरेको, बितेको पाँच वर्षभित्रमा दुईवर्षे तालिम लिएको वा पेसागत रूपमा कार्यअनुभवसहित दुई वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । 

नेपालबाट निवेदन दिन इच्छुक व्यक्तिले खाममा ‘डीभी–वन प्रोग्राम, नेसनल भिसा सेन्टर, पोर्टस्माउथ, एनएच ००२१०, यूएसए लेख्नुपर्ने व्यवस्था गरिएको थियो । डीभी भर्न पाउने सुविधा त्यतिबेला चीन, ताइवान, भारत, भियतनाम, दक्षिण कोरिया, बेलायत, क्यानाडा, मेक्सिको, जमाइका, एल साल्भाडोर, डोमिनिकल रिपब्लिक लगायत मुलुकलाई यो अवसर दिइएको थियो । डीभी भरेर चिठ्ठा परेमा अन्तर्वार्ता दिनुपर्ने प्रावधान राखिएको थियो । अमेरिकाले पहिलो पटक १९९५ भित्र भिसा वितरण गर्ने योजना अघि सारेको थियो । भिसा पाएका व्यक्तिले चार महिनाभित्र अमेरिका पुग्नुपर्ने नीति लागू गरिएको थियो । 

नेपालमा डीभी भरेर अमेरिका जान पाउने पहिलो पटक दिएको अवसर र प्रावधानमा केन्द्रित रहेर तयार गरिएको समाचार कान्तिपुर दैनिकले २०५१ वैशाख ८ गते ‘अब चिठ्ठाबाट अमेरिकी भिसा पाइने’ शीर्षकमा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully