[अर्काइभ] जब गणेशमान नै कांग्रेसबाट अलग हुन खोजे...

असार ३२, २०८२

कान्तिपुर संवाददाता

[Archive] When Ganeshman tried to break away from Congress...

काठमाडौँ — २०४८ को आमनिर्वाचमा बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार सञ्चालन गर्दै आएको नेपाली कांग्रेस २०५१ सम्म आइपुग्दा चरम आन्तरिक कलहमा रुमलिएको थियो । पछिल्लो समय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति पार्टीका सर्वोच्च नेता गणेशमान सिंहले चर्को असन्तुष्टि जनाउँदै कांग्रेसबाटै अलग हुन खोजेको आशय व्यक्त गरेका थिए ।

२०५० माघ २५ मा काठमाडौं–१ मा भएको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भएपछि आपसी द्वन्द्व थप गहिरिएको थियो । सरकारको गतिविधि र कोइरालाको निर्णय प्रक्रियाविरुद्ध भट्टराई र गणेशमान एकै ठाउँमा उभिएका थिए । 

यही पृष्ठभूमिमा सर्वोच्च नेता गणेशमानले २०५१ वैशाख १५ मा कान्तिपुरलाई दिएको अन्तर्वार्तामा आफू कांग्रेसबाट अलग हुने मनस्थितिमा पुगेको खुलासा गरेका थिए । अन्तर्वार्ताका क्रममा उनले सुशासन र प्रजातन्त्रको पक्षमा बोल्दै आए पनि सुनुवाइ नभएको गुनासो गरेका थिए । गणेशमानले भनेका थिए, ‘पार्टीले सरकारलाई सही बाटोमा हिँडाउन सकेन ।’ अन्तर्वार्ताका क्रममा व्यक्त उनका विचारले प्रधानमन्त्री कोइरालाप्रति उनी निकै रुष्ट र आक्रामक थिए भने प्रस्ट बुझिन्थ्यो । 

जनताले चुनेर पठाएपछि राम्रो काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै उनले प्रधानमन्त्री कोइरालाको कार्यशैलीप्रति चरम असन्तुष्टि पोखेका थिए । आफूले प्रधानमन्त्री बचाउने भन्दा पनि प्रजातन्त्रलाई बचाउने हो भन्दै टनकपुर सम्झौतालाई अदालतले सन्धि भनेपछि नैतिकताको प्रश्न उठेको विचार पनि व्यक्त गरेका थिए ।

‘मलाई २०४६ पछि पार्टी राजनीति छाड्नुपर्छ भनेर सल्लाह दिने धेरै थिए । तर म उनीहरूलाई भन्ने गर्थें, ‘लंगडो होस्, कानो होस् वा पङ्गु होस्– यही एउटा कांग्रेस छ जसले २–२ पटक आन्दोलन गरेर प्रजातन्त्र ल्यायो र रक्षा पनि यसैले गर्छ ।’ तर आफ्नो कुरा पार्टीमा सुनुवाइ नभएको उनले बताएका थिए । 

[Archive] When Ganeshman tried to break away from Congress...अन्तर्वार्ताका क्रममा उनले यही अवस्था रहेमा कांग्रेसलाई आउने निर्वाचनमा आफूले सहयोग गर्न नसक्ने अवस्था आउने बताएका थिए । मुख्यतः गिरिजाप्रसादप्रतिको कार्यशैली र आफू पार्टीमा अपमान भएको विषय उनले पटक–पटक उठाएका थिए । अन्तर्वार्ताको सारमा उनको आक्रोश कोइरालाप्रति नै थियो । गुनासो, आक्रोश र भावावेगमा केन्द्रित उक्त अन्तर्वार्तामा उनले कांग्रेस दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको पनि दाबी गरेका थिए । 

२०४६ को राजनीतिक आन्दोलनका कमान्डर सिंहलाई कुनै बेला ‘फादर अफ डेमोक्रेसी’ पनि भनिन्थ्यो । २०४६ चैत २६ राती राजा वीरेन्द्रले अन्तरिम सरकारको प्रधानमन्त्रीको प्रस्ताव गर्दा उनले अस्विकार गरेर सन्तनेता भट्टराईलाई अघि सारेका थिए । उनै गणेशमानले आखिर कांग्रेसबाटै अलग हुने मनसाय किन राखे ? कांग्रेसभित्रको आन्तरिक कलह कसरी सिर्जना भयो ? गणेशमान के चाहन्थे ? प्रधानमन्त्री कोइरालासँग उनको असन्तुष्टि केमा थियो ? प्रजातन्त्रको संस्थागत विकासमा आन्दोलनकारी दलहरू कहाँ चुकेका थिए ?

यी र यस्तै अनगिन्ती जिज्ञासाको उत्तर खोज्दै पत्रकार तारानाथ दाहालले लिएको गणेशमान सिंहसँगको लामो अन्तर्वार्तालाई कान्तिपुरले ‘प्रजातन्त्रमा नैतिकता माइनस गर्दा डिक्टेटरसिप हुन्छ’ शीर्षकमा २०५१ वैशाख १५ मा प्रकाशित गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully