[अर्काइभ] गण्डक ‘ए’ परियोजना अघि बढाउने त्यो प्रयास

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

[Archive] That effort to advance the Gandak 'A' project

What you should know

काठमाडौँ — २०४८ को निर्वाचनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले निजी क्षेत्रको लगाानी आकर्षित गर्न खुला बजार अर्थतन्त्रको नीति अघि सारेको थियो । निजी क्षेत्रलाई विद्युत् उत्पादनमा प्रोत्साहन गर्न जलविद्युत् नीति २०४९ जारी गरिएको थियो । तर राजनीतिक किचलो र पानीको प्रयोगमा सर्वदलीय सहमति जुट्न नसक्दा समस्या बल्झिएको थियो ।

त्यतिबेला पानीमा ‘राष्ट्रवाद’ बढी हाबी हुने गरेको थियो । त्यसैले सरकार गठन भएको तीन वर्ष बित्दा पनि निजी क्षेत्रले ऊर्जा उत्पादनमा ढुक्क भएर लगानी गर्न आनाकानी गरिरहेको थियो । अरुण तेस्रो जलविद्युत् आयोजनाको राजनीतिक रूपमा भइरहेको विरोधका कारण विदेशी लगानीकर्ता बढी झस्किरहेका थिए । 

लामो प्रयासपछि विदेशी निजी लगानीमा ६० मेगावाटको खिम्ती आयोजना बन्ने लगभग निश्चित भएको थियो । खिम्तीका विदेशी लगानीकर्ता र नेपाल विद्युत् प्राधिकरणबीच ६० मेगावाट क्षमताको विद्युत् आयोजना बनाउन २०५० चैतमा सम्झौता भएको थियो । विश्व बैंकले ऋण लगानी गर्ने प्रस्ताव गरिएको अरुण तेस्रो जलविद्युत् आयोजना अघि बढ्न सकेको थिएन । भोटेकोसीमा अमेरिकी लगानी भित्र्याउने प्रयास भइरहेको थियो । 

ठूला आयोजनामा लगानी नजुटिरहेको अवस्थामा स्याङ्जास्थित १४४ मेगावाटको काली गण्डक ‘ए’ विद्युत् आयोजनाको निर्माणका लागि विद्युत् प्राधिकरणले अगुवाइ गरिरहेको थियो । २०५१ वैशाखसम्म उक्त आयोजनासम्म पुग्ने २८.५ किमि प्रवेश मार्गमध्ये ९० प्रतिशत निर्माण गरिसकिएको थियो । ७० को दशकको अन्त्यतिर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा अस्टेलियाली परामर्श दातृसंस्था स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसनले प्रारभिक काम गरेको थियो । उक्त आयोजनामा लगानी जुटाइनसकिएको भए पनि प्राधिकारणले १५ करोड खर्चेर प्रवेश मार्ग बनाइरहेको थियो ।

प्रवेश मार्गको निर्माणले स्थानीय भने लाभान्वित थिए । तर उक्त आयोजनाका विषयमा वातावरणीय प्रभाव र प्रभावितको अधिकारका विषयमा आवाज उठ्न भने थालिसकेको थियो । प्राविधिक अध्ययन लगभग सबै पूरा भइसकेको आयोजनाको सुरुङ ६ किमि थियो । सन् १९९१ जनवरीदेखि सम्भाव्य अध्ययन गरेको उक्त आयोजनाको लागत करिव १५ करोड अमेरिकी डलर अर्थात् त्यतिबेला १५ अर्ब ५० करोड नेपाली रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।

आयोजनाका निर्देशक निरन्जन कपालीले आयोजनाको सम्पूर्ण मस्यौदा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको टोलीसमक्ष पुनरावलोकनका लागि पेस गर्ने जानकारी दिएका थिए । उक्त आयोजना निर्माणका लागि आर्थिक पक्षको फाइलन भने भइसकेको थिएन । अरुण तेस्रो आयोजना निर्माणमा ढिलाइ भइरहेका बेला काली गण्डक ‘ए’ आयोजनालाई अघि सारिएको हो । अरुणअगावै कालीगण्डकले विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

मुलुकमा विद्युत् शक्तिको अभाव रहेको र आयोजनाहरू निर्माणमा राष्ट्रिय सहमति जुट्न नसकेका बेला ठूलो आयोजनाका रूपमा काली गण्डक ‘ए’ अघि बढाउन खोजिएको सन्दर्भमा कान्तिपुर दैनिकले ‘गण्डक ‘ए’ परियोजना निर्माणतिर’ शीर्षकमा २०५१ वैशाख २१ मा समाचार प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully