[अर्काइभ] कांग्रेस फुटको डिलमा पुगेको गणेशमानको त्यो आरोप

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

[Archive] Ganeshman's allegation that the Congress reached a foot deal

What you should know

काठमाडौँ — पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले भनेका थिए, ‘अब पार्टी विभाजनको बिन्दुमा पुगेको छ ।’ उनले पार्टी विभाजनको घोषणा मात्र हुन बाँकी रहेको उद्घोष पनि गरे । 

खासगरी प्रधानमन्त्री गिरिजाप्रसादसँगको मनमुटावले गणेशमानले यसअघि नै आफू पार्टीमा बस्नै नसक्ने अवस्थामा पुगेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनपछि पोखरामा उनले कांग्रेसमा ३६ जना सांसदले कोइराला नेतृत्वको सरकारले पेस गरेको बजेट स्विकृत नगरी सरकार ढाल्ने प्रयास हुने बताएका थिए । कुराकानीका क्रममा उनले भनेका थिए, ‘स्वेच्छाचारीताबाट प्रजातन्त्र दिगो रहँदैन । प्रजातन्त्रको संरक्षण गर्न आफू लागिरहन्छु ।’

नेपाल पत्रकार महासंघ कास्कीले २०५१ वैशाख २३ मा आयोजना गरेको भेटघाट कार्यक्रममा गणेशमानले पञ्चायतकालमा सिंहदरबार जल्दा र रंगशालामा मान्छेको मृत्यु हुँदा नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग जोड्दै अहिले कानुन मिच्दा पनि राजीनामा निदिएको बताएका थिए । 

विशेषतः टनकपुर सम्झौतालाई अदालतले सन्धि भनेपछि कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो । भारतसँग २०४९ मा भएको टनकपुर परियोजनासम्बन्धी सम्झौतालाई कोइरालाले समझदारी भनेका थिए । तर सर्वोच्च अदालतले टनकपुर सम्झौतालाई सन्धि नै भएको व्याख्या गरेपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने तर्क गणेशमानको थियो । उनले आफूले पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई कोइरालामाथि कारबाही गर्न अनुरोध गरे पनि नटेरेको पनि बताएका थिए । 

पार्टीमा लामो समयदेखि चल्दै आएको विवाद, अरोप–प्रत्यारोप र मनमुटाव चरम अवस्थामा पुगेपछि गणेशमानले भने निरन्तर आफ्नो असन्तुष्टि राखिरहेका थिए । उनले किसुनजीबाट पनि केही हुन्छ भन्ने आशा नभएको गुनासो गर्दै नाबालक प्रजातन्त्र हुर्काउन गल्ती गर्नेलाई औंल्याउँदा आफ्नै पार्टीका साथीलाई मन नपरेको बताएका थिए ।

‘बाक्लो दाल’ खान खोज्नेलाई हटाउन किसुनजी पनि असमर्थ रहेको उनको आरोप थियो । उनले नेपालका वामपन्थीहरूले कृष्णप्रसादको समयमा सत्ताको स्वाद चाखेकाले अहिले पनि सर्वदलीय सरकारको चाहना राखेको दोष लगाएका थिए । कम्युनिस्टहरूले उग्रराष्ट्रवादको नारा दिइरहेको गणेशमानको आरोप थियो । 

गणेशमानको असन्तुष्टि र कांग्रेसको आन्तरिक कलहको विषयमा कान्तिपुरले पोखराबाट तयार गरेको समाचार २०५१ वैशाख २४ मा ‘कांग्रेस फुटेको घोषणा गर्न मात्र बाँकी’ शीर्षकमा प्रकाशित गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully