What you should know
काठमाडौँ — एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले २०५१ जेठ २ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘दासढुंगा दुर्घटनाको न्यायिक छानबिन गर्न आयोग गठन नगरेमा एमालेले देशव्यापी आन्दोलन छेड्ने र मदन–आश्रितको हत्यारा गिरिजाप्रसाद नै हो भनी घोषणा गरिनेछ ।’
यसरी एमालेले दासढुंगा दुर्घटनामा मृत्यु भएका पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित हत्याको आरोप प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै लगाउने चेतावनी दिएको थियो । नेता भण्डारी र आश्रितको दुर्घटनामा मृत्यु भएपछि एमालेले न्यायिक छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
मदन–आश्रितको २०५० जेठ ३ मा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर मृत्यु भएको थियो । नेताद्वयको निधन हुने वित्तिकै सरकारले २०५० जेठ ४ मा सर्वोच्च अदालतका अतिरिक्त पूर्वन्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एक सदस्यीय छानबिन आयोग बनाएको थियो । उक्त आयोगले दिएको प्रतिवेदनमा उल्लेख भएको दुर्घटनाको निष्कर्षलाई एमालेले अस्विकार गरेको थियो । एमालेले सर्वोच्चका बहालवाला न्यायाधीशको अध्यक्षतामा पुनः सर्वसम्मत उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको थियो ।
एमालेले सरकारी आयोगले दिएको प्रतिवेदन गलत भएको टिप्पणी गरेर पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद केपी शर्मा ओली (हालका प्रधानमन्त्री) को अध्यक्षतामा अर्को छानबिन आयोग गठन गरेको थियो । सरकारले गठन गरेको अनिल आयोगको प्रतिवेदनमा उल्लेखित विषयलाई एमालेले पूर्णत एकांकी, भ्रमोत्पादक र असत्य ठहर गरेको थियो । ओली आयोगले पार्टीको केन्द्रीय समितिमा बुझाएको प्रतिवेदनमा भण्डारी र आश्रितको दुर्घटनालाई ‘सुनियोजित र षड्यन्त्रकारी’को संज्ञा दिइएको थियो ।
ओली प्रतिवेदनमा हत्याकाण्डको प्रत्यक्ष अपराधी चालक अमर लामा देखिए पनि उनको मात्र हात नभएको उल्लेख गरिएको थियो । तर ओली आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गरिएको छैन । एमाले नेताहरूका अनुसार उक्त प्रतिवेदन अहिले कहाँ छ भन्ने कुरा आफूहरूलाई पनि थाहा नभएको बताउँछन् ।
मदनको पुण्यतिथिको एक अदिनअघि एमाले काठमाडौं विशेष कमिटीले आयोजना गरेको विचार गोष्ठीमा महासचिव नेपालले भण्डारीको प्रतिभा सुरक्षित गर्न नसक्दा एमालेलाई ठूलो क्षति भएको बताएका थिए । मदन–पत्नी विद्या भण्डारी र आश्रित–पत्नी माया न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा सभामुख दमननाथ ढुंगानाले संसद्को चौथो अधिवेशनमा टनकपुर बाँध परियोजनाको विवाद सुल्झ्याउन निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए ।
एमालेले मदन–आश्रितको पुण्यतिथिका दिन मुलुकभर विभिन्न कार्यक्रम गरेर उनीहरूको योगदानको चर्चा गर्ने योजना बनाएको थियो । उनीहरूको दुर्घटनामा भएको मृत्युको विषयलाई लिएर एमालेले वर्षभर सरकारविरुद्धको आन्दोलन गरिरहेको थियो । चालक अमर लामामाथि छानबिन गर्न कांग्रेस सरकार नै बाधक रहेको आरोप एमालेको थियो । उनीहरूको मृत्युपछिको एक वर्षको अवधिमा भएको आन्दोलनका क्रममा धनजनको ठूलो क्षति भएको थियो ।
यिनै सन्दर्भहरूलाई समेटेर कान्तिपुर दैनिकले २०५१ जेठ ३ मा ‘एमालेद्वारा देशभर आन्दोलन गर्ने चेतावनी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । अहिले मदन–आश्रितको दुर्घटनामा मृत्यु भएको ३२ वर्ष बितेको छ । तर उनीहरूको हत्याको रहस्य अझै खुल्न सकेको छैन ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Girija Prasad's warning to accuse Madan's killer!](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/madha-2272025011223-1000x0.jpg&w=1001&h=0)