What you should know
काठमाडौँ — एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा मृत्यु भएको एक वर्ष पुगेको थियो । यसै सन्दर्भमा काठमाडौंबाट प्रकाशित हुने 'सचेत' मासिकले जीप चालक अमर लामाको लामो अन्तर्वार्ता प्रकाशित गरेको थियो । लामाले कुराकानीका क्रममा दोषी ठहर्ने प्रमाण फेला परेमा आफू लाखौं नागरिकका अगाडि टुँडिखेलमा झुन्डिएर मर्ने घोषणा गरेका थिए ।
नेताद्वयको दुर्घटनाको छानबिनका लागि सरकारले उदासिनता देखाएको भन्दै एमाले नेता–कार्यकर्ताले आक्रोश पोख्ने क्रम रोकिएको थिएन । मदन–आश्रितको दुर्घटनाका विषयमा जानकारी दिन सक्ने एकमात्र साक्षी चालक अमर लामाबाहेक कोही थिएन । चालक लामालाई चितवन जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । उनी चितवन कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।
‘दोषी’ भनिएका चालक लामालाई अदालतले कैद सजाय तोकिसकेपछि पुनः सोधपुछ र दुर्घटनाको छानबिन गर्न अप्ठेरो हुने भनाइ सरकारको थियो ।
चालक लामाले आफूले अब कसैलाई पनि बयान नदिने पनि 'सचेत'लाई दिएको साेही अन्तर्वार्ताका क्रममा बताएका थिए । दुर्घटनापछि सबैभन्दा बढी बयान दिने व्यक्ति आफू नै भएको बताउँदै ‘म पनि मानव हुँ, मेरो पनि अस्तित्व छ, त्यसलाई स्वीकार्नुपर्ने’ उनको दाबी थियो । अब बयानको तात्पर्य नभएको पनि उनले तर्क गरेका थिए ।
एमालेले माग गरेको सर्वपक्षीय आयोगले निकालेको निष्कर्ष के हुने भन्दै लामाले प्रतिप्रश्न गरेका थिए । उनले सर्वदलीय आयोगले खुबै निष्कर्ष दिए मेरो लापरबाही भन्न सक्छ भन्दै त्यस्तो निष्कर्ष शून्य हुने दाबी गरेका थिए । उनले अदालतले आफूलाई थुनामा राखेकामा असन्तुष्ट जनाउँदै सवारी चालक ऐन अनुसार यो एउटा दुर्घटना भएको बताएका थिए ।
एमालेका कार्यकर्ता लामाले आफूलाई पार्टी सदस्यताबाट हटाएकामा दुःख लागेको पनि बताएका थिए । उनले आफू गलत काममा नझुक्ने बताउँदै मदन भण्डारीले आफूलाई झुक्न नसिकाएको पनि दाबी गरेका थिए । उनले मदनकी धर्मपत्नी विद्या भण्डारी ‘पार्टीका सकुनी प्रवृत्ति’का केही मान्छेको बहकावमा लागेको बताएका थिए । उनले भनेका थिए, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा गएर भए पनि आफू निर्दोष हुन चाहन्छु ।’
दासढुंगा दुर्घटनाको जीवित साक्षी लामामाथि गहिरो अनुसन्धान नभएको भन्दै एमालेको बढी गुनासो थियो । अर्न्वार्ताका क्रममा लामाले दासढुंगा दुर्घटनासँग जोडेर तयार गरेको किताब सेन्सरका लागि प्रमुख जिल्ला अधिकारीले लगेको पनि बताएका थिए ।
मानव अधिकार संगठनका अध्यक्ष ऋषिकेश शाहले २०५१ वैशाख ३ मा काठमाडौंमा आयोजित कार्यक्रममा अदालतमा विचाराधीन लामाको मुद्दामा बहालवाला न्यायाधीश, कांग्रेस र एमाले जोसुकैले बनाएको आयोगले पनि केही गर्न नसक्ने बताएका थिए । उनले जसले दोषी देखाउँछ, त्यसको प्रमाण पुर्याउनुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘चालक लामाले न्याय नपाएमा आफू अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर भए पनि लड्ने छु ।’
लामाले सचेत साप्ताहिकलाई दिएको अन्तर्वार्तामा आधारित रहेर कान्तिपुर दैनिकले २०५१ जेठ ४ मा ‘मदनले मलाई झुक्न सिकाएकै छैन : अमर लामा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
मदन–आश्रित चढेको जीप दुर्घटनाको सन्दर्भ अहिलेसम्म पनि उठिरहेको छ । घटनाको एउटा मात्र जीवित साक्षी चालक लामालाई पनि गोली हानेर हत्या गरेका कारण अब दासढुंगा दुर्घटनाको रहस्य सधैं गर्भमै रहने अवस्था बनेको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That statement of Madan Bhandari's driver Amar Lama...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/amar-lama-2372025094319-1000x0.jpg&w=1001&h=0)