What you should know
कञ्चनपुर — पूर्व–पश्चिम राजमार्गको छेउमै मेरो चिया पसल छ । यहाँ मानिसहरूको भीड नै जुट्छ । फेरि मैले पकाएको चियाको स्वाद पाएकाहरू फर्की फर्की आउँछन् । आफैं अपांग भएकाले बाहिरफेर हिँडडुल गर्न सक्दिनँ । तर चिया बेचेरै परिवारको गुजारा भने मज्जाले चलाएको छु ।
कैलाली र कञ्चनपुरको सिमानामा भएकाले गजरौला चोकमा प्रायः भीडभाड भइरहन्छ । सधैंजसो जमघट हुने भएकाले चोकमा चियाको चुस्कीसँगै राजनीतिक गफगाफ गर्ने धेरै हुन्छन् । फुर्सदै फुर्सद हुने र कम फुर्सद हुने सबै यहाँ देखिन्छन् ।
अहिले म ५३ वर्षको भएँ । शारीरिक रूपमा कमजोर हुँदै गएको छु । त्यसैले मनमा कुनै दिन चिया पनि बनाउन नसके परिवार कसरी पाल्ने होला भन्ने चस्को पस्छ । सडक छेउमै रहेको छाप्रो पनि कहिले बाढीले डुबाउँछ । कहिले आगालागीमा पर्छ । कहिले चोरी हुन्छ । त्यसैले फेरि पनि कतिबेला के हुने हो भन्ने चिन्ताले पनि सताइरहन्छ । यस्ता विपदका बेला शून्यबाट व्यवसाय उकास्नुपर्छ । फेरि लगानी गर्नुपर्ने भएपछि अलिकति बचत गरेको रकम पनि खर्च भइजान्छ ।
युवा अवस्थामा जोश जाँगर खुबै हुन्थ्यो । त्यसबेला यहाँबाट नजिकै रहेको नैनीतालमा भारी बोक्ने काम गर्थें । त्यसबेला शारीरिक अवस्था राम्रो थियो । जीवनमा कहिले आपत पर्छ मेसो हुँदैन । २०५१ मा बसको छतमा बसेर यात्रा गरिरहेका बेला खसेर खुट्टामा चोट लाग्यो । ज्यान जोगियो । तर लामो समय उपचार गराउँदा पनि दायाँ खुट्टा काट्नु पर्यो । बायाँ खुट्टा पनि कमजोर नै छ ।
खुट्टा नै गुमाउनु परेपछि भारी बोक्ने कुरै भएन । नैनीतालको काम छाडेर २०५४ मा गाउँ फर्केर गजरौला चोकमा चिया पसल सुरु गरेको हुँ । त्यसपछि यसमै रमाइरहेको छु ।
चियासँगै पकौडा, समोसा लगायतका अन्य सामग्री पनि बनाउँछु । यसका लागि श्रीमती लक्ष्मीदेवीले सघाउँछिन् । उनले नै सबै सामान तयार पारिदिन्छिन् । त्यसपछि चिया, समोसा र पकौडा सबै पकाउने काम गर्न सक्छु । भाँडाकुडा पनि श्रीमती र बुहारीले धोइदिन्छन् । चिया बनाएपछि ग्राहक आफैं लिएर जान्छन् । ‘सेल्फ सर्भिस’जस्तै छ ।
मैले बनाएर गिलासमा मात्रै हाल्ने काम गर्छु । बिहान ५ बजेदेखि राती ८ बजेसम्म पसलमै बस्छु । त्यसपछि पसल बन्द गरेर छेउमै बनाएको छाप्रोमा सुत्छु । घर पसलभन्दा केही टाढा छ । ह्वील चियरमा आउजाउ गर्न गाह्रो हुन थालेपछि पसल छेउमै छाप्रो बनाएर बस्न थालेको हुँ ।
जमिनका नाममा घडेरीको एउटा टुक्रो मात्रै छ । त्यसमा छोराबुहारी र नातिनातिना बस्छन् । छोरा बेरोजगार छ । त्यही भएर घरखर्च सबै मैले नै धान्नु परेको छ । नाति–नातिना पढाउनेदेखि घरको रासन, लुगा कपडा सबै चिया–पकौडा बेचेरै चलेको छ । महिनामा १५/२० हजार यसमै खर्च हुन्छ ।
दैनिक दुई सय सहकारीमा बचत गरिरहेको छु । तर आवश्यक परेका बेला त्यही रकम निकालेर गुजारा चल्छ । दिनमा कतिको चिया–पकौडा बिक्री हुन्छ भन्ने भन्दा घरखर्च जेनतेन चलेको छ । त्यही मेरा लागी खुसीको कुरा हो ।
सडक किनारको पसल भएकाले कहिले चोरी पनि हुन्छ । एक पटक आगाली पनि भयो । २०६५ को बाढीले पसलभित्रका सामान र भाँडाकुडा सबै बगाएर लग्यो । तर पनि मैले हिम्मत हारिनँ । भाग्यलाई दोष दिँदै आफ्नो काममा लागेँ । जीवन संघर्ष हो र संघर्षमै जानुपर्छ भन्ने सोचेर जेनतेन काम गरिरहेको छु ।
कृष्णपुर नगरपालिकाले ह्वील चियर दिएको थियो । त्यो पुरानो भयो । यताउता जान ह्वील चियर चलाउन सक्दिनँ । कुनै दाताले स्कुटर सहयोग गरेमा घरसम्म आउजाउ गर्न सहज हुने थियो, छाप्रोमा बस्नुपर्ने थिएन भन्ने पनि सोच्छु । मन न हो, के के सोचिरहन्छ !
प्रस्तुति : भवानी भट्ट
