‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत खुबै सुनेकी थिएँ । अहिले मेरै जीवनमा त्यो गीत मेल खाइरहेको छ ।
What you should know
काठमाडौँ — म हुर्किएको ठाउँमा सीप सिक्नुपर्छ भन्ने थिएन । ‘लौ काम सिकी राख है, भविष्यमा सजिलो हुन्छ’ भनेर उतिखेर सल्लाह दिने पनि कोही भएनन् । आफैंले केही कर्म गरेर ज्यान पालौं भन्दा सीप चाहिने रहेछ । मसित त्यही भएन । तर पनि हातपाउ त छन् नि, तिनैलाई चलाएर भए पनि परिवारको रेखदेख गर्छु भनेर ज्यामी काम सुरु गरेकी हुँ ।
निर्माणस्थलमा बालुवा, इँटा बोक्ने, मसला बनाउने काम गर्छु । यो काम गर्न थालेको पनि ७ वर्ष भइसक्यो । लेखपढ नगरेपछि दुःख हुने रहेछ । शारीरिक अवस्थाले गर्दा श्रीमान्ले केही गर्न सक्नु हुन्न । भारतमा छँदा मोटरसाइकल दुर्घटनामा परेर उहाँको खुट्टामा असर परेको रहेछ । अहिले पनि लठ्ठी टेकेर हिँड्नुहुन्छ ।
मैले विवाह गरेको १० वर्ष भयो । दुई वर्षजति म पनि श्रीमान्सित भारतमै बसेँ । त्यतिबेला बरू अलिअलि काम गर्न सक्नु हुन्थ्यो । पछि उहाँलाई गार्हो हुँदै गएपछि हामी नेपाल आयौं । यहाँ आएको महिनाबाटै घरखर्च चलाउन ज्यामी काम गर्न थालेकी हुँ ।
मेरो घर तनहुँ हो, तर अहिले हामी काठमाडौंमा बस्छौं । अहिले ३७ वर्षकी भएँ । परिवारमा म, श्रीमान् र छोरा गरी तीन जना छौं । हाम्रो विवाह हुनुभन्दा पहिल्यै उहाँ दुर्घटनामा पर्नुभएको रहेछ । तीन कक्षामा पढिरहेको छोराको शुल्कदेखि घरमा चाहिने सामानको जोहोका लागि ज्यालादारीमा काम गरिरहेकी छु । कमाएको पैसाले नपुग्दा ऋण गरेर भए पनि श्रीमान् र छोराको रेखदेख गरेकी छु । ज्यामी काम पनि सधैं पाइँदैन । काम नपाएका बेला पनि खान त पर्यो । आम्दानी नहुँदा पसलमा उधारो बढ्छ । कोठा भाडा खप्टिन्छ । छोराको स्कुलको शुल्क बाँकी हुन्छ ।
पहिले दिनको ८ सय ५० ज्याला थियो । अहिले वैशाखबाट ठेकेदारले ९ सय ५० दिनको गर्दिनु भएको छ । त्यसले थोरै भए पनि राहत भएको छ । सबै कुरा महँगो छ । पहिला छोराको स्कुलको फि तिर्न पर्दैन्थ्यो । अहिले स्कुलले श्रीमान् अपांग भएको कागज माग्यो । भारतबाट फर्किंदा कागजपत्र उतै छाडेर आएकाले समस्या भयो ।
वडाध्यक्षसित सहयोग मागेको ‘अस्पतालबाट सिफारिस लिएर आऊ, नत्र हुन्न’ भन्नुहुन्छ । अस्पताल जाँदा पनि फेरि आउनूस् भन्यो । दिक्क लागेर अहिले त कतै जान र भन्न पनि छोड्यौं । श्रीमानलाई हिँड्न गाह्रो हुन्छ । दिनदिनै काम छोडेर हिँड्दा बेलुका के खाने भन्ने समस्या हुन्छ, त्यही भएर ‘बरु छोराको फि तिर्छु, अब कतै धाउन्न’ भन्ने भयो ।
अपांग देख्दादेख्दै अनेक कागज मागेर दुःख दिएपछि मन पोल्दो रहेछ । ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत खुबै सुनेकी थिएँ । अहिले मेरै जीवनमा त्यो गीत मेल खाइरहेको छ । छोराको महिनाको ७ सय शुल्क छ । कोठा भाडा ४ हजार, ग्यास २ महिना पनि चल्दैन । तेल, दाल, चामल छोइसक्नु छैन । कहिलेकाहीं छोराले मासु खाने भन्छ र मासु ल्याउँछौ । पैसा बचत भन्ने त सुको पनि छैन ।
‘काम गर्दा पैसा आउँछ, खाँदा जान्छ’ भनेजस्तो भएको छ । घरखर्च महिनामा २० हजारजति हुन्छ । महिनै भरि काम पाइँदैन । पाए त भाग्यको कुरा हो जस्तो लाग्छ । सबैले बसीबसी खानेलाई भाग्यको कुरा भन्छन्, भाग्यमानी भन्छन् । हाम्रो बसेर खाने भाग्य छैन । काम पाएको महिना नै हाम्रा लागि भाग्यमानी कुरा हो ।
श्रीमान्लाई अर्को रोग पनि छ । उहाँ एक्कासि ढल्नुहुन्छ । मुखबाट फिँज निकाल्नु हुन्छ । कहिले १५ मिनेट त कहिले आधा घण्टापछि आफैं उठ्नु हुन्छ । अस्पताल जान पैसा छैन । मेडिकलमा कहिलेकाहीँ जँचाउँछौं, केही हुन्न भन्छन् । पैसा जम्मा गरेर श्रीमान्को उपचार गर्न पाए र उहाँ छिट्टै निको भइदिए हुन्थ्यो भन्ने ठूलो धोको छ ।
हामीले प्रेम विवाह गरेका हौं । आफूले प्रेम गरेको मान्छे जस्तो भए पनि माया लाग्ने रैछ । छिटो खुट्टा पनि निको होस् र त्यो ढल्ने बिमारको पनि रोग पत्ता लागेर सन्चो होस् भन्ने छ । मेरो इच्छा र चाहना भन्नु नै त्यही हो । छोरालाई राम्रोसँग पढाउन र श्रीमान्लाई पहिलाको जसरी नै स्वस्थ बनाउन पाए म दुःख जति भए पनि गर्थें जस्तो लाग्छ ।
प्रस्तुति : आरती पौडेल
