चितवन — बिहान ३ बजे उठेर नित्यकर्मसँगै बाँकी काम गर्ने बानी नै परिसक्यो । अहिले ६२ वर्षको भएँ । बानी परेपछि बूढो ज्यान भए पनि उठ्न गाह्रो नहुँदो रहेछ । २०३२ सालदेखि नारायणगढमै बसिरहेको छु । मेरो खास घर भारतको बिहारस्थित सिवानमा हो ।
अहिले छोराछोरीका परिवार सबै भारतमै छन् । श्रीमती र म यहाँ बसिरहेका छौं । श्रीमती बिरामी भएकाले साथमा नै राखेको हुँ । सिवानबाट पहिलेदेखि मान्छेहरू काम गर्न चितवन आउँथे । गाउँका मान्छेहरू आउने भएपछि मेरो दाइ रामकिसुन प्रसाद मभन्दा दुई वर्षअघि नै चितवन आएका थिए ।
दाइले नारायणगढ सहिदचोकमा त्यसबेला सानो खाजा पसल चलाएका थिए । बिहारमा प्रख्यात चनाको सातुको सर्वत, लिट्टी चोखा, पकौडा, आलुचप यस्तै यस्तै बेच्ने पसल थियो । मलाई पनि दाइले नै बोलाएका हुन् । म सुरुमा आएर बरफ बेच्न थालेँ । बरफ बेच्दै म साइकलमा नारायणी तरेर निकै टाढा नवलपुरका गाउँबस्ती पुग्थेँ । यहाँ रामचन्द्र साहुको बरफ कम्पनी थियो त्यसबेला ।
नारायणगढमा अहिले पो ठूल्ठूला पक्की घर भए । त्यसबेला दाइले सहिदचोकमै सानो छाप्रोमा पसल राखेका थिए । भाडा दुई सय रुपैयाँजति थियो कि भन्ने लाग्छ । तीन वर्ष बरफ बेचेपछि मैले पनि दाइलाई सघाएँ ।
पछि त झुप्राहरू महल हुन थाले । सटरमा पसल राखेर व्यपार गर्न हामीलाई गाह्रो भयो । मेरा पाँच भाइ छोरा र एउटी छोरी छन् । उनीहरूलाई हुर्काउन, पढाउन गाउँ छाडेर परदेश आइएको छ । केही कमाइ यहाँबाट भइरहेको छ भने अब कहाँ जाने ? पसल छाडेर ठेला लिएँ ।
ठेलामा हिँड्न लागेको पनि भयो २०/३० वर्ष भयो । तर पछि बजारमा ठेला राख्न पनि गाह्रो हुन थाल्यो । नगरपालिकाले यहाँ राख्न मिल्दैन भन्न थाल्यो । अनि बिहान सबेरै व्यापार गर्ने सोच बनाएँ । बिहानै जाग्ने भनेको तरकारी मण्डी हो । पहिला भरतपुर ओरालोको लायन्स चोकमा सब्जी मण्डी थियो । अहिले क्षेत्रपुर छ । पाँच वर्ष भयो, त्यता गएको ।
पहिला लायन्स चोक हुँदा पनि म सबेरै पुग्थेँ । गर्मीमा चनाको सातुको सर्बत खाँदा निकै फाइदा गर्छ । यो पेटका लागि पनि राम्रो हो, ज्यानलाई पनि शीतल हुन्छ । जाडो याममा बिहारको परिकार भनेर प्रख्यात लिट्टी चोखा पनि ठेलामा राख्छु । तर यता आलुचप, पकौडा, जेरी बिक्री हुन्छ । तीन बजे आँखा खुलेपछि आफ्नो कर्म गर्छु । अलि कति कसरत पनि गर्छु । अनि ठेला लिएर निस्कन्छु ।
म अहिले नारायणगढको कमलनगरमा डेरा गरेर बस्छु । यहाँबाट क्षेत्रपुर अलि टाढा नै छ । बिहानै ठेला गुडाउँदै निस्कनु पर्यो । ११ बजेतिर डेरामा फर्किन्छु । थाकेको हुन्छु । अरू काम केही गर्नु छैन । आराम गर्छु । भोलिको तयारी पनि गर्नु पर्दछ । म सातु आफैं बनाउँछु ।
व्यापार के राम्रो हुनु ? उही सामान्य खर्च धानिएको छ । दिनमा ५० गिलास सातुको सर्बत बिक्री भयो भने पनि २ हजारदेखि २५ सय रुपैयाँको कारोबार हुन्थ्यो । एक गिलास सातु सर्वतको ५० रुपैयाँसम्म पर्छ । तर अचेल त्यति राम्रो बिक्री हुँदैन । ३०/३५ गिलास बिक्री भयो भने खुसी हुनुपर्ने अवस्था आएको छ । यति व्यापार गरेर के कमाउनू ? बसेको डेरा भाडा तिर्नै पर्यो ।
महिनाको सात/आठ हजार रुपैयाँ डेरा भाडा बुझाउनु पर्दछ । खानु पर्यो, लगाउनु पर्यो । बचत नै कति हुन्छ र ? फेरि श्रीमती सुगरको बिरामी छिन् । उनलाई औषधि किन्छु । सात/आठ हजार रुपैयाँ औषधिमै लाग्छ ।
कुनै बेला महिनामा आठ/१० हजार रुपैयाँ बच्छ । यसैमा सन्तोष मान्नु परेको छ । कमाउन त बालबच्चा साना हुँदा आवश्यक थियो । अहिले उनीहरू ठूला भए । सबै छोराछोरीको बिहे भयो । आफ्नो सुर गरेर उतै देशमा गाउँमा बसेका छन् ।
म यता किन छु भन्दा हातगोडा चल्दासम्म काम गरौं, आफूलाई चाहिने पैसा अरूसँग किन माग्नु भनेर हो । श्रीमतीको पाठेघरमा समस्या छ । अप्रेसन गर्नु पर्दछ भन्छन् । यसका लागि पनि केही बचत गर्नु छ । अरू त जेनतेन चलेकै छ, पैसा भए श्रीमतीको पाठेघरको पूर्ण उपचार गर्न पाइथ्यो कि !
प्रस्तुति : रमेशकुमार पौडेल
