‘सयौं घर बनाए पनि डेराकै बास छ’

असार ३१, २०८२

सरिता घर्तीमगर 

”Even if hundreds of houses are built, there is only a tent”

पाल्पा — यतिबेला दैनिक काँचो मकै किनेर पोलेर बिक्री गर्छु । एक पटकमा सय घोगा हरियो मकै खरिद गर्छु । त्यो पनि दुई–तीन दिन लाग्छ– बिक्री हुन । कहिलेकाहीँ त काँचै मकै पनि बिक्री हुन्छ । यसै गरी गुजारा चलेको छ ।

बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमपोखरा मेरो जन्मघर हो । अहिले ५४ वर्षकी भएँ । विगत २८ वर्षदेखि तानसेनमा बसोवास गर्दै आएकी छु । तानसेन नगरपालिका–२ को नारायणस्थानमा कोठा भाडामा लिएर एक्लै बस्छु । 

घर बनाउने कामका सिलसिलामा तानसेन आएकी थिएँ । त्यसअघि मैले बुटवलमा पनि घर बनाउने काम गरेकी थिएँ । त्यसभन्दा अघि म भारतको सिलोङमा बस्थेँ । श्रीमान‍्सहित केही वर्ष सिलोङमा काम गरेर बसेकी हुँ । पछि घर आइयो । श्रीमान‍्ले रक्सी बढी खाने भएकाले के रोग लाग्यो, थाहा पनि भएन । दुई छोरा सानै हुँदा श्रीमान‍्को मृत्यु भयो । 

५ र ३ वर्षका छोराको लालनपालन गर्ने जिम्मेवारी मेरो काँधमा आयो । त्यसपछि मैले ज्याला मजदुरी गर्न थालेकी हुँ । पछि जेठो छोरा साउदी अरेबिया गयो । कान्छो अहिले पनि सिलोङतिरै बस्छ । बुहारी, नातिनातिना भीमपोखरामै बस्छन् । मैले यहाँ सानोतिनो काम गरेर गुजारा चलाएकी छु । कहिलेकाहीँ म पनि घर जान्छु । श्रीमान‍्को मृत्यु भएपछि धेरै दुःख गरेँ । झण्डै २५ वर्ष घर बनाउने श्रमिक भएर काम गरेँ । 

तानसेन र बुटवलमा घर बनाउने काम गरेँ । लुम्बिनी मेडिकल कलेजमा धेरै वर्ष भवनहरू बनाउने काम गरेकी हुँ । ठेकेदारले जहाँ जहाँ भन्छन्, त्यहीँ त्यहीँ काम गर्नु पर्दथ्यो । ज्याला भने महिला भनेर पुरुषलाई भन्दा थोरै थियो । तैपनि केही काम त गर्नै पर्‍यो । मैले पनि काम धेरै गरेकी छु । तीन–चार वर्ष भयो मैले घर बनाउन हिँड्न छाडेको । पहिले तानसेन, नारायणस्थानमा मकै पोलेर बस्थेँ । स्थानीय बासिन्दाले किचकिच गरेपछि त्यहाँ छाडेर लहरेपीपल आएकी छु । अहिलेसम्म नगरपालिकाले केही भनेको छैन ।

मैले डेरा भाडा १ हजार ५ सय तिरेकी छु । हिजोका दिनमा दुःख गरेकाले अहिले रोग लाग्न थालेको छ । दुई–तीन वर्ष भयो सुगर र प्रेसर छ । औषधि किनेर खानुपर्छ । बिमा कार्ड बनाएकी छैन । औषधिमा पैसा खर्च हुन्छ । खाना, डेराभाडा, औषधि लगायतमा मासिक १० देखि १२ हजारसम्म खर्च हुन्छ । कमाइ खासै छैन । एक्लै भएकाले पहिलाजस्तो खाना रुच्दैन । २५ किलोको एक बोरा चामलले लगभग महिना दिन पुग्छ । तरकारी महँगो छ । म यहाँ पहिलो पटक आउँदा तानसेन बजार गाउँजस्तो थियो । 

घरहरू पनि पुराना धेरै थिए । अहिले त नयाँ घर धेरै बने । यहाँका सयभन्दा धेरै घर त मैले नै काम गरेर बनाएकी छु । त्यतिबेला ज्याला पनि थोरै थियो । महँगी पनि थिएन । २ सय ज्याला पाउँदा पनि धेरै पाएजस्तो हुन्थ्यो । अहिले दैनिक ६ सयदेखि १ हजारसम्म कमाइ गर्दा पनि थोरैझैं हुन्छ । किनभने महँगी अकासियो । सुरुमा तानसेनमा दुई–तीन सयमा भाडामा बस्न पाइन्थ्यो । अहिले १ हजार ५ सय सस्तो कोठामा बस्दा पनि तिर्नु परेको छ । महँगो, पक्की घरमा बस्ने हो भने ४–५ हजार भन्छन् । 

म एक्लै बस्ने भएकाले पुरानो घरमै सस्तोमै बस्न पाएकी छु । अहिले पनि घर जाँदा बुहारी, नातिनातिनालाई केही लगिदिन मन लाग्छ । अलिअलि पैसा हातमा हाल्दिन मन लाग्छ । बचत खासै गर्न सकेकी छैन । दिनभर कमायो, खानै ठिक्कजस्तो हुन्छ । 

अब त बुढेसकाल लागेछ क्यार । दुःख गर्न सक्दिनँ । तैपनि दिन कटाउन पर्‍यो । यत्तिकै बसेर पनि भएन । घरमा गएर बस्न मन लाग्दैन । सरकारले महँगी नियन्त्रण गर्नुपर्छ । होइन भने हामीजस्ता गरिबको उठिबास लाग्छ । कमाइ हुनेले किनेर खान्छन् । दुःखी गरिबले घरखर्च धान्नै मुस्किल हुँदै गएको छ । यस विषयमा सबै नेता अनि सरकारको ध्यान पुगोस् । हामीजस्ता गरिब, दुःखीलाई पनि बाँच्ने अवसर दिइयोस् । 

प्रस्तुति : माधव अर्याल 

सरिता

Link copied successfully