सप्तरी — किसानका समस्या बुझिदिने कोही छैन । नजिकको भनिएको स्थानीय सरकार पनि किसानमैत्री नहुँदा मन पिरोलिरहन्छ । पुर्खादेखि नै हाम्रो परिवारको रोजीरोटीको आधार भनेकै यही खेतीपाती हो । अधियाँ (बटैया) मा भए पनि खेती गरेरै ज्यान पाल्दै आएका छौं ।
अहिले त प्रकृति पनि किसानविरोधीजस्तो लाग्न थाल्यो । साउन आइसक्यो, वर्षा हुँदैन । आकासे पानीको भरमा खेती गर्नेका लागि यो भन्दा कठिन समय पहिले आएको थिएन । अहिले जताततै सुक्खा छ । खोला–नालामा पानी नभएकाले कहाँबाट ल्याउनु !
राजविराज नगरपालिका–१ पडरिया टोलमा घर छ । अहिले ५८ वर्ष पार गर्न लागेँ । किसानलाई पहिले यतिका समस्या थिएनन् । समयमा वर्षा भइहाल्थ्यो । मलखादको खासै अभाव हुँदैनथ्यो । मजदुर पाउन सजिलै थियो । नपाउँदा पनि एकअर्कालाई सघाएर रमाउँदै खेतीपाती गर्थ्यौं । खेती गरेरै छोरालाई इन्जिनियर बनाएँ । अहिले किसानलाई जति अभाव अरुलाई छैन । कृषिप्रधान मुलुकमा खेतीपाती गर्नै कठिन भइरहेको छ ।
आजसम्म मेरो सबै जमिन बाँझो छ । गाउँलेका अधिकांश जमिन बाँझै छन् । सिंचाइ अभावले बीउ पनि सुक्न थाल्यो । परको नहरमा छाडेको थोरै–थोरै पानी पम्पिङसेटले तानेर बुढो हुन लागेको बीउ जोगाउने प्रयासमा छु । तर, धान कहिले रोप्ने हो टुंगो छैन । आकाशे पानी कुर्नुबाहेक उपाय पनि देख्दिनँ । तत्कालै आकाशबाट पानी आयो भने रोपाइँ गर्न सकिन्छ र उत्पादन पनि ठिकठाक नै भइहाल्छ । तर, अब पनि पानी पर्न ढिलो भयो भने उत्पादनभन्दा खर्च नै बढी हुनेछ । पहिलो कुरा त २० देखि २५ दिनमा छरेको बीउ रोप्नुपर्ने हुन्छ । अहिले ३२/३४ दिन भइसक्दा पनि रोपाइँ गर्न पाइएको छैन ।
आफ्नै सवा बिघा खेतीयोग्य जमिन छ । थप डेढ बिघा जमिन बटैयामा लिएको छु । बटैया लिएको जमिनवालालाई बर्सेनि प्रतिबिघा ४० मन (४० किलोको एक मन) धान बटैयाबापत तिर्नुपर्छ । धान रोप्न सकिएन वा रोपेर पनि उत्पादन भएन भने तिरो कसरी तिर्ने ? यही चिन्ताले अहिलेदेखि सताइरहेको छ ।
खेती गर्न सकिएन भने उहाँ (जग्गाधनी)लाई सम्झाइबुझाइ गर्ने प्रयास गर्छु । सम्भवतः मान्नुहुन्छ पनि । मान्नुभएन भने अझ समस्या थपिन्छ । परिवारमा १४ सदस्य छन् । त्यसैले पनि वर्षभरि पुग्ने गरी धान उत्पादन गर्नुपर्छ । विगतमा उत्पादन नभएको होइन । तर, यसपालि चाहिँ समयमा आकाशबाट पानी आएन । सिंचाइको अभाव त छ नै । त्यसमाथि मलखादको पनि चरम अभाव खेप्दै छु ।
कालोबजारी गरेर बिक्री गरिरहेकाबाट काफी महँगो मूल्य तिरेर मलखाद किन्नुपर्छ । भारत गएर ल्याउनुपर्छ । यसरी खेती गर्दा मलखाद, सिंचाइ र मजदुर गरी प्रति–कट्ठा तीन हजारसम्म लागत पर्न जान्छ । उत्पादनअनुसार हिसाब गर्ने हो भने प्रतिकट्ठा लगभग दुई मन धान लगानी लाग्छ ।
गत वर्ष प्रतिकट्ठा ४ देखि ५ मन धान उत्पादन भएको पनि हो । तर, गत वर्ष अहिलेसम्म सबै खेतमा रोपाइँ पनि गरिसकेका थियौं । यसपालि ५/७ दिनभित्र खेत रोपाइँ गर्न सक्यौं भने ३/४ मन प्रति कट्ठा उत्पादन हुन सक्छ । तर, समयमै रोपाइँ गर्न सकिएन वा रोपेर पनि आकाशबाट पानी आएन भने लगानी डुब्ने लगभग निश्चित छ । तैपनि, भगवान् भरोसे रोपाइँ गर्ने सोच छ ।
हामीजस्ता किसानलाई नगरपालिकाले अहिलेसम्म कुनै सहयोग गरेको छैन । यसपालि मलखाद पनि दिएन । मलखाद वितरण भइरहेको छ भन्दै एकपटक गाइँगुइँ सुनेर पुगे पनि सकिसक्यो भने । केहीलाई १०/१० किलो मल दिएको पनि देखेँ । १० किलो पाएकाले पनि के नै गरिहाल्छ र ? खै, के गरी वितरण गर्छन्, बुझ्नै सकिएन ।
स्थानीय सरकारदेखि वितरण गर्नेसम्म सबैले किसानका समस्या बुझेर पनि अनभिज्ञझैं काम र व्यवहार देखाइरहन्छन् । जबकि, उनीहरू पनि किसानकै छोराछोरी हुन् । उनीहरू सुखदुःखमा सहारा बन्छन् भन्ने सोचेका थियौं । तर, होइन रहेछ । किसानलाई सुविधा हुने गरी एउटै कार्यक्रमसम्म ल्याएका छैनन् । हाम्रो देश कृषिप्रधान, त्यसमा मधेश अझ उर्वरभूमि । तर, हाम्रा स्थानीय सरकारले न त्यो कुरा बुझ्न सके, न किसानका समस्या नै ।
केही स्थानीय सरकारले कृषि मिटरको बिल तिरेर किसानलाई सघाएका छन् पनि । हनुमाननगरतिर त मास्टर मिटर नै जडान गरेर खेतखेतमा निःशुल्क बिजुली पुर्याइसकेको सुन्दा खुसी लाग्यो । तर, हाम्रोतिर किसानका लागि सुविधा त परै जाओस्, अनुभूति गराउन पनि सकेका छैनन् । खडेरी लागेर बेहाल होला जस्तै लाग्छ । किनकि, गाउँमा पनि ट्युवबेल सुक्न थाल्यो । यसपालि मजस्ता किसानलाई दैनिकी चलाउन ज्यादै मुस्किल पर्ला जस्तो छ ।
प्रस्तुति : विद्यानन्द राम
