‘अहिलेको महँगीमा २५/३० हजार कमाइले जीविका चलाउनै धौ धौ छ’

असार २८, २०८२

सूर्यमाया तामाङ

”In today's high prices, earning 25/30 thousand is difficult to earn a living”

काभ्रे — सजावटका सामग्रीमा सबैको नजर परिहाल्छ । त्यसैले यस्ता सामान हेर्नेमात्र होइन, सानैदेखि बनाउने इच्छा पनि थियो । कतै पाहुना लाग्न जाँदा होस् या बजारतिर बरालिँदा– पहिलो नजर त सजावटका सामग्रीमै जान्थ्यो । तर, बनाउने अवसर मिलेको थिएन ।

सिलाइको कामप्रति पनि उत्तिकै रुचि थियो । कपडा सिलाउन दिने ठाउँमा जाँदा ध्यान दिएर कसरी सिलाउने रहेछन् भनेर हेरिबस्थेँ । अनि आफैंलाई सिलाइको काम गर्ने रहर लाग्थ्यो । कहिलेकाहीँ कपडामा आइरन गरेर सघाउँथे पनि । मेरो रहर देखेर बुबाले आइरन किनेर ल्याइदिनुभयो । तर, कपडा सिलाउने धोको थाँती नै रह्यो । 

सिन्धुपाल्चोकमा जन्मे/हुर्किएर एसएलसी उत्तीर्ण भएपछि क्याम्पस पढ्न भनेर काठमाडौं गएँ । २०५८ सालतिर प्लस टू पढ्न काठमाडौं बसाइँ सरेपछि त्यहाँ पढाइसँगै २०६१ सालमा सिलाई सिक्ने अवसर पाएँ । त्यही सीप सिकेपछि गार्मेन्टमा काम पाएँ । 

काठमाडौंजस्तो महँगो सहरमा एक्लैले सबै कुराको व्यवस्थापन गर्न कठिन थियो । संघर्षका दिन सम्झिँदा अहिले पनि अत्यास लागेर आउँछ । गार्मेन्टममा काम गरेबापत मासिक २५ सय रुपैयाँ ज्याला थियो । त्यति आम्दानीले काठमाडौंमा जीविकोपार्जन गर्नै मुस्किल थियो । कोठा भाडामात्र १४ सय रुपैयाँ थियो । बाँकी ११ सय रुपैयाँले त रासन–पानीको जोहो गर्नै गाह्रो हुन्थ्यो । पैसा नहुँदा कुनै दिन त भोक–भोकै पनि बसियो । समयमै कोठाभाडा तिर्न नसक्दा घरबेटीले कोठा खाली गर्नु भन्दै गाली गर्थे । सम्झिँदा पनि त्यो पल कसरी बिताएँ होला जस्तो लाग्छ । 

अहिले ४१ वर्षकी भएँ । २०६५ सालमा रामेछापको बेथानका राजकुमार तामाङसँग विवाह भयो । विवाह भएको केही समयसम्म काठमाडौंमै बसियो । गुजारा गर्न २०६७ तिर गिफ्ट पसलमा काम गर्न थालेँ । त्यहाँ बेच्न राखिएका कुसन, डलहरू देख्दा आफूलाई पनि बनाउन मन लाग्थ्यो । त्यो रहरलाई पूरा गर्दै डल र कुसन बनाउन सिकेँ । बिस्तारै दुःखका दिन सकिँदै गएको आभास हुन थाल्यो । परिवारको संख्या पनि बढ्यो । पहिलो सन्तानका रूपमा छोरी जन्मिइन् । श्रीमानले पनि सरकारी रोजगारी पाउनुभयो । त्यसपछि हामी २०६९ सालमा काभ्रे आयौं । 

श्रीमान् सरकारी कर्मचारी भएकाले उहाँ रोजगारीका लागि विभिन्न ठाउँमा पुग्नु पर्थ्यो । श्रीमानको अस्थायी जागिर भएकाले उहाँको कमाइले मात्र पनि घर–व्यवहार धान्न धौ धौ हुन्थ्यो । त्यसबीचमा पनि जीविकोर्पाजन गर्नका लागि सिलाइ र बुनाइको काम गरिरहन्थेँ ।

दोस्रो सन्तानका रूपमा छोरा भयो । पारिवारिक जिम्मेवारी पनि बढ्दै गयो । छोरा–छोरीलाई पढाउन, घरव्यवहार चलाउनका लागि पनि खर्च बढ्न थाल्यो । सबै कुराको व्यवस्थापन गर्नका लागि व्यवसाय सञ्चालन गर्ने सोच बनाएँ । सिलाइ बुनाइको कामलाई व्यावसायिक रूपमा सञ्चालन गर्नका लागि पसल खोलेँ । आफूले जानेको सीप आफूमा मात्रै सीमित राख्नु हुँदैन भनेर तालिम पनि दिन थालेँ ।

कोभिड–१९ को समयमा मास्क र पीपी सेट पनि तयार गरेँ । झोला बनाउने सीप पनि सिकेँ । त्यसताका बजार राम्रो भएकाले व्यापार पनि राम्रै थियो । दुई जनालाई रोजगारी पनि दिएकी थिएँ । त्यस समयमा न्यूनतम ४० हजारको मासिक आम्दानी हुन्थ्यो ।

पहिले त अर्डर लिएरै भ्याइँदैन्थ्यो । अहिले यसको बजार राम्रो छैन । बनाएको पनि बिक्री हुँदैन । करिब ३ लाख लगानी गरेर मासिक २५–३० हजार कमाइ भइरहेको छ । यति आम्दानीले पसलको भाडा र घरखर्च चलाउन पनि धौ धौ छ । 

व्यापार व्यवसायको प्रवर्द्धन र अन्य सहयोग प्राप्त हुन्छ कि भनेर घरेलु कार्यालयमा पनि व्यवसाय दर्ता गरेँ । अहिले अनलाइनको जमाना छ । अनलाइनतिर राख्दा पनि राम्रै होला भनेर त्यता पनि प्रयास गरेँ । होलसेलमै दिँदा पनि सामान बिक्री भएको छैन । श्रीमानको आम्दानीले मात्रै घरखर्च टरेको छ ।

अहिलेको महँगीमा २५/३० हजारको आम्दानीले जीविका चलाउनै गाह्रो छ । त्यति पैसा त पसलको कोठाभाडा र आफू बसेको कोठा–भाडा तिर्न पनि पुग्दैन । खाली बस्नुभन्दा दुई–चार पैसा भए पनि आम्दानी हुन्छ भनेर काम गरिरहेकी छु । आत्मनिर्भर हुनुपर्छ भन्ने सोचले काम गर्दैछु । आफैंले काम गरेपछि आफ्नो खर्चका लागि अरुका अगाडि हात थाप्नुपर्दैन । बजार राम्रो भएमा भोलिका दिनमा व्यवसायलाई विस्तार गर्ने र थुप्रै महिलालाई रोजगारी दिने सोच बनाएकी छु । 

प्रस्तुति : ज्योती श्रेष्ठ

सूर्यमाया

Link copied successfully