‘राजनीतिमा लागे पनि आय आर्जनको मुख्य स्रोत त कृषि नै रहेछ’

असार २६, २०८२

कर्णबहादुर बोहरा 

”Despite being involved in politics, agriculture is the main source of income.”

सल्यान — भर्खर १६ वर्ष पुगेका बेला एसएलसी परीक्षा दिएर घरमै बसिरहेको थिएँ । त्यही बेला माओवादी विद्रोहको सुरुवात भयो । रोल्पा/रुकुमबाट सुरु भएको विद्रोहको प्रभाव हाम्रो जिल्लामा पनि थियो । विद्रोहको हल्ला चले पनि त्यसप्रति वास्ता नगरी जिल्ला बाहिर गएर भए पनि उच्च शिक्षा हासिल गर्ने धोको थियो । लेखपढ गरेर सरकारी जागिर खाने सपना देखेको थिएँ । तर, सोचेजस्तो जिन्दगी नहुने रहेछ ।

मेरो पनि चाहनाअनुसार भएन । धमाधम गाउँका युवा तत्कालीन माओवादी पार्टीमा प्रवेश गर्ने लहर चल्यो । त्यसबेला चलेको लहरले मलाई पनि बाँकी राखेन । २०५३ सालमा म पनि माओवादी विद्रोहमा संलग्न भएँ । 

माओवादी पार्टीमा लागेर ११ वर्ष काम गरेँ । सुरुमा सैन्य फाँट र पछि स्वास्थ्यकर्मीको जिम्मेवारी निर्वाह गरेँ । विभिन्न स्थानमा भएका भिडन्तमा सहभागी भएको थिएँ । म्याग्दी सदरमुकामको लडाइँका क्रममा धेरै घाइते भए । मसमेत घाइते भएँ । स्वास्थ्यकर्मी भएकाले लडाइँमा घाइतेको उपचार गरेँ । लामो समय माओवादी विद्रोहमा सहभागी भए पनि अन्ततः आय आर्जनको मुख्य स्रोत कृषि पेसा नै रहेछ भन्ने बुझेँ । 

जब २०६३ सालपछि मुलुक शान्ति प्रक्रियामा प्रवेश गर्‍यो अनि फर्किएर बाबुआमाले अँगालेको कृषि पेसालाई अगाडि बढाएँ । बाख्रा, कुखुरापालन र खेतीपाती गरिरहेको छु । पछिल्लो समय युवा पुस्ता विदेशिँदै गएका छन् । उनीहरूलाई विदेश जानबाट रोकेर कृषि कर्ममा फर्काउन पनि अहिले म कुखुरा र बाख्रापालनमा लागेको छु । 

कुमाख गाउँपालिका–६, बडाचौरमा बसोबास छ । अहिले ४८ वर्षको भएँ । सुरुमा खेतीपातीमा मात्र सीमित थिएँ । २०७७ सालमा बोहरा पशुपन्छी फार्म दर्ता गरेर व्यावसायिक रूपमा कुखुरा र बाख्रापालनमा लागेको छु । आफ्नै पाखोबारीमा खोर बनाएर अण्डा उत्पादनका लागि ५ सय ५० लेयर्स कुखुरा पालेको छु । ४० भन्दा बढी बाख्रा छन् । लामो समयदेखि राजनीतिमा लागे पनि ग्रामीण क्षेत्रको जीवनस्तर उकास्ने मुख्य पेसा भनेको कृषि, पशुपालन नै हो । केही समय मौलाहाले बजारमा सानोतिनो व्यापार गरेँ । 

कुखुरा र बाख्रापालन गरेको स्थान बजारदेखि २५ मिनेटको दूरीमा छ । म बिहान बेलुकी कुखुरा र बाख्रापालनमा व्यस्त हुन्छु । दिउँसो परिवार, भाइबुहारी र छोराछारीले हेरविचार गर्छन् । लेयर्स कुखुरापालन गरेर अन्डा बिक्री गर्दा वार्षिक २ लाख ५० हजार र बाख्रापालनबाट २ लाख गरी ४ लाख ५० हजारसम्म कमाइरहेको छु । त्यसबाट मैले आफ्नो र भाइबुहारीको गरी ११ जनाको परिवार पालेको छु । छोराछारी पढाएको छु । लामो समय राजनीति गरे पनि अहिले म कृषि पेसामै सक्रिय छु । 

मौलाहालेमा पसल गर्दा कमाएको पैसा पनि अहिले कुखुरा र बाख्रापालनमा लगाएको छु । खोर निर्माण लगायत अन्य सामग्री जुटाउन १५ देखि २० लाख लगानी गरेको छु । यस वर्ष पशु अस्पताल तथा पशु सेवा कार्यालयले ४ लाख अनुदान दिएपछि त्यसमा ४ लाख आफूले थपेर बाख्रापालनका लागि खोर निर्माण गरेको छु । बाख्रा बढाउने तयारी गरेको छु । 

देशमा श्रमको महत्त्व नभएको भन्दै अहिलेको युवा पुस्ता प्लस टू पास गरेर खाडी लगायत मुलुक गइरहेको छ । विदेशिनेको संख्या बढ्दै जाँदा गाउँघर सुनसान बन्दै गएका छन् । बिचौलियाको जालमा परेर धेरै रकम खर्च गरी घरकालाई ऋणको भारी बोकाएर युवा विदेशिन नपरोस्, उनीहरूले काम नपाएर दुःख पाउन नपरोस् र घरमै बसेर परम्परागत कृषि पेसालाई व्यावसायीकरण गरेर सहज रूपमा जीविकोपार्जन गर्न सकून् भन्ने मेरो एकमात्र चाहना छ । त्यसका लागि मैले के गर्नुपर्छ, बरु सघाउन तयार छु । 

प्रस्तुति : विप्लव महर्जन

कर्णबहादुर

Link copied successfully