रूपन्देही — घरमै बसेर एक छाक खान नपुग्ने भएपछि बाहिर निस्किएको हुँ । त्यसैले म रोजीरोटीको खोजीमा हिँडेको मुसाफिर हुँ । मेरो घर बाँकेको नेपालगन्ज हो । तर, लामो समय घर बसेको भनेको त्यही बाल्यकालमा हो ।
सानोमा आफूलाई अभावबारे जानकारी हुन्थेन । अभिभावकले जुराएको खाने–खेल्ने बेला थियो । पछिल्ला केही वर्षदेखि मेरो बास घरबाहिरै धेरै छ । रूपन्देही र कपिलवस्तु मेरा मुख्य व्यापारिक केन्द्र हुन् । ७ वर्षदेखि दुई जिल्ला डुलेर दाल बिक्री गरिरहेको छु । दाल बेचेर दुःख टारिरहेको छु । दुई दिने जिन्दगानीमा कसैसित गुनासो छैन ।
तर, पढ्न नसकेकामा पछुतो भने छ । ५ कक्षासम्म मात्रै पढेँ । साथीसँगीको पनि पढ्नमा ध्यान थिएन । त्यही लहलहैमै मैले पनि अध्ययनमा मन लगाइनँ । उतिखेर पढ्न नमानेको परिणाम अहिले कडा परिश्रम गर्नु परिरहेको छ । पढ्ने माहोल नभएर होला- गाउँमा कसैले पनि पढ्नुपर्छ भनेर हौस्याएनन् । जेठो छोरो भएकाले आमा–बुवाको चाहना पनि छिटो कमाउने भइदिए हुन्थ्यो भन्ने नै थियो । उहाँहरूले पनि कमाइ हुने काम सिकाउनपट्टि जोड दिनुभयो । घरमा साना दुई भाइ छन् । १५ वर्षको उमेरमै बिहेवारी भयो । अहिले मेरै चार सन्तान भइसके ।
आफूले काम नगरे परिवार भोकै रहने अवस्था छ । परिवारमा कमाउने अरु कोही छैनन् । बुवा–आमा बुढो भइसक्नु भयो । पहिला–पहिला गाउँबाट धान खरिद गरेर कुटाएर चामल बेच्ने गर्थें । पछि बजार बुझ्दै जाँदा गाउँ–सहर डुलेर पनि बिक्री गर्न सकिन्छ भन्ने भएपछि रूपन्देही आएँ । अहिले बुटवलमा भाडामा कोठा लिएर बसेको छु । साथी पनि छन् । मासिक ३ हजार ५ सय भाडा छ । त्यस बाहेक पनि खर्च हुन्छ । हरेक बिहान २५ रुपैयाँको एक कप चिया पिउँछु । दिउँसो र राती २ छाक खाना होटेलमै खान्छु । एक पटकको १ सय ८० रुपैयाँ पर्छ । १५ दिन कमाइवरी घरतिर जान्छु । बाँकेबाट दाल ल्याउने गर्छु । एकपटक घर जाँदा त्यहीँ १० हजारजति बोकेर गइन्छ ।
पैसा कमाउन कि पढ्नुपर्ने रहेछ, होइन भने विदेश जानुपर्ने रहेछ । मैले पनि २ पटक मलेसिया जान प्रयास गरेँ । तीनपटक दुबईका लागि आवेदन भरेँ । तर, सफल नभएपछि विदेश जान भाग्यमा लेखेको रहेनछ भन्ने लाग्यो । मेरो भाग्यमा यही दाल बेच्न लेखेको रहेछ । डुलेर व्यापार गर्न पनि दुःख छ । पालिकाका कर्मचारी र पसलेले देखे भने गाली गर्छन् । मैले के नै बिगारेको छु र डुलेर दाल बेच्दा पनि गाली खानुपर्ने ?
एक किलो दाल बिक्री गर्दा १५ रुपैयाँजति नाफा बच्छ । एकपटकमा ५० किलो साइकलमा लादेर डुल्छु । त्यो बिक्री भएपछि डेरामा फर्किने हो । पुरानो साइकल छ । एकपटक बिग्रिंदा कम्तीमा १/२ हजार खर्च हुन्छ । साइकल घरबाटै ल्याएको हुँ, जाँदा लिएरै जान्छु ।
मनभरि रहर छन् । सबै रहर मेरो हौसियतले पूरा हुँदैनन् । नेपालगन्जको पनि गाउँमा परिवार भएकाले सहरको जति खर्च त लाग्दैन । बाबुनानीलाई पढाउन, घरमा सबै सामान किन्न पनि पैसा चाहिन्छ । जसोतसो चल्छ, प्रशस्त पुग्दैन । जिन्दगी सहज त पक्कै छैन । तर यति ग्राहो पनि नभइदिए हुने नि ! दिनभरि साइकलमा डुल्दा घामपानी सबै थेग्दै हिँड्नुपर्छ । बिरामी परिएला, दाल नबिक्ला, पैसा नकमाइएला, अनेकथरि तनावले मन पोल्छ । उपाय के त ?
गर यही व्यापार, नगरे कसरी पाल्छौ परिवार ? सँगै आएका साथीको अवस्था पनि मेरैजस्तो छ, त्यही हेर्ने चित्त बुझाउने हो । डर र चिन्ता त्यही कसैले देखेर रोक्छ कि ? बेच्न दिन्न कि भन्ने हो, तर कसै कसैले काम गरेर खाएका छौ, नडराउ भनिदिंदा ढाडस मानेर अघि बढ्छु । मैले अपराध गरेको छैन, ग्राहकले किन्न मन लाए किन्छन्, नत्र दाल रहन्छ । जबरजस्ती पनि गरिँदैन । हामीलाई यसरी बेच्न नरोकिदिए हुन्थ्यो, नथर्काए हुन्थ्यो, बस् यत्ति चाहना छ ।
प्रस्तुति : सन्जु पौडेल
