काठमाडौँ — अँध्यारोमै बिहान ३ बजे तरकारी र मकै लिन कहिले तरकारीको गाडी त कहिले पैदल हिँडेर बसपार्कसम्म पुग्छु । बिहान तरकारी र काँचो मकै बेच्ने काम गर्छु । दिउँसो भने मकै पोलेर बेच्छु । मकै र तरकारी बेचेरै दुई छोरा र म दुःखसुख पालिरहेका छौं ।
मेरो घर सिन्धुली हो । १५ वर्ष मिस्त्रीको काम गरेर गाउँमै जसोतसो घरबार चलाएकी थिएँ । छोराहरू पढिरहेका थिए । श्रीमान्ले हरेक दिन मदिरा सेवन गरेर पिट्ने/यातना दिने गर्नुभयो । सहन सक्ने बेलासम्म त सहेँ तर सहनै नसकेपछि यसरी अब हुँदैन भन्ने भयो । अनि, दुई छोरा लिएर एक वर्षअघि काठमाडौं आएकी हुँ ।
सुरुवाती दिनमा यहाँ पनि २/३ महिना मिस्त्री काम गरेँ । पैसा नै नदिई ठेकेदार भागेपछि कोठा भाडा तिर्न र घरखर्च चलाउन मुस्किल भयो । उधारो बढ्दै गयो । कैयौं दिनसम्म अब के गर्नेे भन्ने तनावका कारण निद्रा लागेन । रातहरू निकै लामा लाग्थे । बैनीसँग पैसा सापटी मागेर मकै ल्याएर बेच्न थालेँ । बिस्तारै मकै बेचेर नै दिनमा कहिले ५ सय त कहिले १ हजार नाफा हुन लाग्यो । अब मकै र तरकारी बेचेर घर चलाउँछु भन्ने भयो र अहिले मकै–तरकारी बेचिरहेकी छु ।
बिहानमा बेचेको तरकारी, मकै र फलफूल अनि दिउँसोमा मकै पोलेर बेचेर १५ सय जति नाफा हुन्छ । कहिले त घाटा पनि हुन्छ । मकै नबिकेको दिन मकै छोडाएर सुकाउँछु अनि मकैले नै १/२ छाक टार्छु । पानी परेका बेला तरकारी बेच्न पनि पाउँदिनँ, मकै पोल्न पनि पाउँदिनँ । त्यो समय साह्रै मन दुख्छ । घाम लागेको हुँदो हो त अलि अलि भए पनि कमाउँथे भन्ने हुन्छ । धनी र ठूलाबडाका ठूलै इच्छा र सपना होलान्, उनीहरू पनि भगवानसँग त्यही पूरा हुन् भनी पुकारा र प्रार्थना गर्दा हुन्, हामी गरिब र दुःख गरेर खानेको पनि भगवानसँग पानी नपरोस् है नत्र आज घरमा चुलो बल्न मुस्किल हुन्छ भन्ने जस्ता पुकारा र प्रार्थना हुन्छन् हरेक दिन र रात ।
गाउँमा मैले नै ऋण लिएको ५० हजार तिर्न थियो । ठूलो छोरा १२ कक्षामा पढ्छ । ऊ के पढ्छ, मलाई थाहा छैन । उसको फि तीर्न, कोठा भाडा तिर्न भनी दिनको १ हजारका दरले जम्मा गरेकी थिएँ । एउटा ठूलो भुड्को कोठामा कसैले नदेख्ने गरी राखेकी थिएँ । कताबाट शत्रुको आँखा पर्यो तीन महिना जम्मा गरेको पैसा सबै चोरी भयो । म छाङाबाट खसेजस्तै भएँ । मैले मिहिनेत र संघर्ष गरेको सबै पानीमा डुब्यो । ऋण तिरेर, खप्टिएको कोठा भाडाको पैसा तिर्ने सोच सोचमै मात्र सीमित रहने भयो । बैंकमा राख्नुपर्ने रहेछ । त्यतिबेला बुद्धि आएन ।
सतको धन भए फर्केर आउँछ भन्छन् । मैले पनि संघर्ष गरेरै कमाएको थिएँ तर फिर्ता आएन । एक महिना अगाडिको मात्रै घटना हो यो । कति दिन त म रोएरै बसेँ । सम्झिदा अहिले पनि मन भारी हुन्छ । कहिलेकाहीं यस्तो लाग्छ– दुःखीलाई जे गरे पनि दुःखै मात्र लेखेको हुने रहेछ कि क्या हो । तर पनि के गर्न सकिन्छ र ? मन दुखाए पनि आफ्नै, बुझाए पनि आफ्नै ।
घर नजिकैको सरकारी स्कुलमा सानो छोरा बल्ल एक कक्षामा पढिरहेको छ । दुई छोरालाई राम्रोसँग पढाउन सके भने उनीहरूले कमाउलान् भनेर जसोतसो मन बुझाएकी छु । आफूलाई केही नकिनेर भए पनि बेला–बेला उनीहरूलाई कपडा किन्दिने गरेकी छु । आफूलाई भने सकभर कपडा फाटेर लाउनै नहुने भएपछि मात्र सबैभन्दा सस्तो कपडा किनेर लगाउँछु । बिहान गह्रौं भारी बोकेर हिँड्दै गर्दा, चर्को घामले पोल्दा टाउको र गर्धन दुख्ने हुन्छ । श्रीमानको दिनदिनै नमिठा वचनको प्रहार र बिना गल्ती सहनु परेको यातना सम्झिँदा त यो दुःख केही पनि हैन जस्तो पनि लाग्ने रहेछ । नमिठा वचनको भारी, तिरस्कार, अपमान र यातनाको भारीका अगाडि मकैका भारी पनि हलुंगो लाग्दो रहेछ ।
घरखर्चमै धेरै पैसा जान्छ । दिनमा हजार/१५ सय कमाइ भए पनि ५ सय त खर्चमै सकिन्छ । कहिलेकाहीँ मासु ल्याएर खान्छौं । अरु पैसा तेल, चामल, ग्यास ल्याउँदा खर्च हुन्छ । तरकारी भने बेचेर उब्रेको खान्छौं । टिनको टहरोको कोठामा बस्छु, त्यसको तीन हजार भाडा छ । जिन्दगी सुखदुःखको खेल रहेछ, हात, खुट्टा चल्ने बेलासम्म संघर्ष गरेर घर चलाउँछु, छोराहरूले चाहेसम्म पढाउँछु । उनीहरूको भविष्य राम्रो होस् भनेर यति गरेकी छु । पछि छोराहरूले राम्रो गर्लान् भन्ने मनमा छ ।
प्रस्तुति : आरती पौडेल
