‘दलित महिलालाई घरबाहिर निस्केर काम गर्न ज्यादै गाह्रो छ’

असार २३, २०८२

रामकुमारी देवी पासवान

It is very difficult for Dalit women to go out of the house and work.

बारा — सिम्रौनगढ नगरपालिका–८, कचोर्वा गाउँकी बासिन्दा हुँ । जिन्दगी कसरी चलाउन सकिन्छ भन्ने नबुझ्दै १२ वर्षअघि विवाह भएको थियो । अहिले ३० वर्षकी भएँ । छोरीमान्छेले पढाइलेखाइ गर्ने चलन थिएन । त्यही सोचको मारमा म पनि परेँ ।

यसरी बाल्यकालबाटै जिन्दगीले ठाउँसारी गरिरह्यो । केही समय बाराकै आदर्श कोतवाल गाउँपालिकाको टेढाकट्टी गाउँमा बुवा–आमासित बिताएँ । रौतहटको टेङ्ग्राहा गाउँमा रहेको मावलीमा किशोरकाल बित्यो । मावलीमा लानन–पालनका साथै हुर्केपछि त्यहीँबाट बिहेवारी भयो । 

मेरा २ छोरी र १ छोरा छन्् । जेठी १३ र अर्की १० वर्षकी भइन् । ८ वर्षको छोरा छ । तीन सन्तान हुर्काउन दुःखका पहाड छिचोल्न परिरहेको छ । जसोतसो अनेक कष्ट सहेरै तीनै सन्तानलाई गाउँकै विद्यालयमा पढाइरहेकी छु । ब्रेन ट्युमरका कारण ५ वर्षअघि श्रीमान् इन्दल पासवानको मृत्यु भएपछि आफ्नो र सन्तानको लालनपालनको जिम्मेवारी मैमाथि छ । 

जीवनसाथी गुमाएको केही दिन त संसारै अन्धकार लाग्यो । कतै केही देखिनँ । जसोतसो सम्हालिएर घर बनाउने काममा मजदुरी गर्न थालेँ । त्यसरी खटिएबापत दिनमा ४ सय कमाउँथेँ । त्यही कमाइले जसोतसो गरेर छोराछोरी हुर्काएँ । 

जीवित हुँदा मेरो श्रीमानले हाम्रो खुसीका लागि अनेक दुःख झेल्नु भएको थियो । निधन हुनुभन्दा तीन वर्षअघि ऋण काढेर वैदेशिक रोजगारीका लागि मलेसिया जानु भएको थियो । तीन वर्ष मेलेसियामा काम गरेर केही रकम जम्मा गर्नु भएको थियो । उहाँ बिरामी परेपछि त्यही बचत गरेको रकम खर्च गरेँ । त्यति रकमले के पुग्थ्यो र ? खर्च अपुग भएपछि ऋण खोजेर पर्साको वीरगन्ज, चितवनको भरतपुर र काठमाडौंका अस्पतालसम्म पुर्‍याएँ । ट्युमर बढ्दै गएपछि आँखा देख्नु भएन । जति उपचार प्रयास गरे पनि उहाँलाई बचाउन सकिनँ । 

उहाँलाई गुमाएपछि मेरो संघर्षको जीवन सुरु भयो । श्रीमानको उपचारमा ऋणदान गरेर १२/१३ लाख रुपैयाँ खर्च भएको थियो । त्यही ऋण तिर्नका लागि अहिले मावलीमा सिकेको सीप काम लागेको छ । साइकल कुदाएर बजारमा मालसामान पुर्‍याएर रोजीरोटी जुटाइरहेकी छु । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर विद्यालय पठाउँछु । त्यसपछि साइकलमा झोला–बोरा बोकेर तीन किलोमिटर टाढा सिमानापारिको बजारमा पुग्छु । त्यहाँबाट खाद्यान्न, कपडा ल्याएर फर्किन्छु । त्यसरी ल्याएका सामान आसपास लगेर बिक्री गर्छु । दिनभरि बजार डुलेपछि बेलुका अबेरमात्र घर फर्किन्छु । 

अहिले आफैंले कमाएर एउटा सानो घर बनाएकी छु सम्पत्तिका नाममा त्यही घर र एउटा साइकल छ । समाजमा साइकल चलाएर दुई/चार पैसा कमाउने कुरा मेरा लागि चुनौतीपूर्ण नै हो । मधेसकी महिला, त्यसैमाथि दलित समुदायकी हुँ । त्यसैले घर बाहिर निस्केर व्यापार गर्ने कुरा त्यति सहज थिएन ।

तर, बाध्यताका सामु रीतिरिवाज भनेर नहुने रहेछ । अनि त धक नमानी साइकल चलाएर गुजारा चलाइरहेकी छु । संघर्ष, मिहिनेत र कर्मबाट पछि हटेकी छैन । अहिले मेरो संघर्ष देखेर समाजले पनि सराहना गरिरहेको छ । म आफू भने यसबाट आत्मनिर्भर, खुसी र सुखी छु ।

मैले जसरी साइकल चलाएर छोराछोरीको पढाइलेखाइ, पालनपोषण, खानपान, लुगाफाटो जुटाउनु सबैलाई सहज छैन । सीमावारिपारि सामान ल्याएर व्यापार गर्दा सबैले चिनेका छन् । यसरी सामान ल्याउँदा कहिलेकाहीँ प्रहरी बाहेकले रोकटोक गर्दैनन् । पहिला कपडाको व्यापार गर्दा दैनिक २ हजारसम्म कमाउँथेँ । यो सिलसिला तीन वर्षसम्म चल्यो । त्यही कमाइबाट घर बनाएकी हुँ । पतिको बिमारीमा ऋण लिएर खर्चेको पैसा सधाएँ ।

यहीबीचमा छोरालाई घरअगाडि बोलेरो जीपले सडकमा ठक्कर दिएपछि खुट्टा भाँच्चियो । खुट्टाको उपचारमा तीन लाख खर्च भयो । जीपधनीले उपचार खर्च भनेर ६ महिनापछि ४० हजारमात्र दियो । प्रहरीमा जाँदा न कारबाही गरियो, न त उपचार खर्च दिलाउन सघाइयो । त्यही भएर थप आर्थिक मार पर्‍यो । अर्कोतिर पहिलाको जस्तो कमाइ पनि अहिले छैन । अहिले दैनिक १ हजारसम्म कमाएर घरखर्च चलाउँछु । 

पारिबाट उधारोमा सामान लिएर आएर त्यही सामान बेचेर पैसा लगेर तिर्छु । फाइदा भएको दैनिक १ रुपैयाँजति जोगाएर परिवार धानेकी छु । 

मावलीमा साइकल नसिकेको भए अहिले निकै कठिनाइ बेहोर्नु पर्थ्यो होला, भगवान् भरोसे परिवारको जीवन हुन्थ्यो । छोराछोरीको पढाइ कताबाट हुन्थ्यो ? दैनिक छाक टार्न कति मुस्किल हुन्थ्यो होला ? कल्पना गर्नुस् त ! साइकल चलाउने सीपबाटै सानो व्यापार गरेर परिवार धानेकी छु । साइकल मावलीबाट नै दहेजका रूपमा पतिलाई दिइएको थियो ।

त्यो चोरी भएपछि छिमेकी गाउँ इटवालका बन्हु कोइरीले अर्को पुरानो साइकल दिए । साइकलको पछाडिको ‘केरियर’ १५ सय खर्चेर बलियो फलामले बनाएँ । त्यसैमा बोरा र अगाडि ह्यान्डिलमा झोला बोक्छु । अहिले कपडाको व्यापार मन्दी भएपछि खाद्यान्नको व्यापार गर्न थालेकी छु । यसैबाट सबै परिवार खुसी छौं । 

प्रस्तुति : लक्ष्मी साह

रामकुमारी

Link copied successfully