बारा — सिम्रौनगढ नगरपालिका–८, कचोर्वा गाउँकी बासिन्दा हुँ । जिन्दगी कसरी चलाउन सकिन्छ भन्ने नबुझ्दै १२ वर्षअघि विवाह भएको थियो । अहिले ३० वर्षकी भएँ । छोरीमान्छेले पढाइलेखाइ गर्ने चलन थिएन । त्यही सोचको मारमा म पनि परेँ ।
यसरी बाल्यकालबाटै जिन्दगीले ठाउँसारी गरिरह्यो । केही समय बाराकै आदर्श कोतवाल गाउँपालिकाको टेढाकट्टी गाउँमा बुवा–आमासित बिताएँ । रौतहटको टेङ्ग्राहा गाउँमा रहेको मावलीमा किशोरकाल बित्यो । मावलीमा लानन–पालनका साथै हुर्केपछि त्यहीँबाट बिहेवारी भयो ।
मेरा २ छोरी र १ छोरा छन्् । जेठी १३ र अर्की १० वर्षकी भइन् । ८ वर्षको छोरा छ । तीन सन्तान हुर्काउन दुःखका पहाड छिचोल्न परिरहेको छ । जसोतसो अनेक कष्ट सहेरै तीनै सन्तानलाई गाउँकै विद्यालयमा पढाइरहेकी छु । ब्रेन ट्युमरका कारण ५ वर्षअघि श्रीमान् इन्दल पासवानको मृत्यु भएपछि आफ्नो र सन्तानको लालनपालनको जिम्मेवारी मैमाथि छ ।
जीवनसाथी गुमाएको केही दिन त संसारै अन्धकार लाग्यो । कतै केही देखिनँ । जसोतसो सम्हालिएर घर बनाउने काममा मजदुरी गर्न थालेँ । त्यसरी खटिएबापत दिनमा ४ सय कमाउँथेँ । त्यही कमाइले जसोतसो गरेर छोराछोरी हुर्काएँ ।
जीवित हुँदा मेरो श्रीमानले हाम्रो खुसीका लागि अनेक दुःख झेल्नु भएको थियो । निधन हुनुभन्दा तीन वर्षअघि ऋण काढेर वैदेशिक रोजगारीका लागि मलेसिया जानु भएको थियो । तीन वर्ष मेलेसियामा काम गरेर केही रकम जम्मा गर्नु भएको थियो । उहाँ बिरामी परेपछि त्यही बचत गरेको रकम खर्च गरेँ । त्यति रकमले के पुग्थ्यो र ? खर्च अपुग भएपछि ऋण खोजेर पर्साको वीरगन्ज, चितवनको भरतपुर र काठमाडौंका अस्पतालसम्म पुर्याएँ । ट्युमर बढ्दै गएपछि आँखा देख्नु भएन । जति उपचार प्रयास गरे पनि उहाँलाई बचाउन सकिनँ ।
उहाँलाई गुमाएपछि मेरो संघर्षको जीवन सुरु भयो । श्रीमानको उपचारमा ऋणदान गरेर १२/१३ लाख रुपैयाँ खर्च भएको थियो । त्यही ऋण तिर्नका लागि अहिले मावलीमा सिकेको सीप काम लागेको छ । साइकल कुदाएर बजारमा मालसामान पुर्याएर रोजीरोटी जुटाइरहेकी छु । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर विद्यालय पठाउँछु । त्यसपछि साइकलमा झोला–बोरा बोकेर तीन किलोमिटर टाढा सिमानापारिको बजारमा पुग्छु । त्यहाँबाट खाद्यान्न, कपडा ल्याएर फर्किन्छु । त्यसरी ल्याएका सामान आसपास लगेर बिक्री गर्छु । दिनभरि बजार डुलेपछि बेलुका अबेरमात्र घर फर्किन्छु ।
अहिले आफैंले कमाएर एउटा सानो घर बनाएकी छु सम्पत्तिका नाममा त्यही घर र एउटा साइकल छ । समाजमा साइकल चलाएर दुई/चार पैसा कमाउने कुरा मेरा लागि चुनौतीपूर्ण नै हो । मधेसकी महिला, त्यसैमाथि दलित समुदायकी हुँ । त्यसैले घर बाहिर निस्केर व्यापार गर्ने कुरा त्यति सहज थिएन ।
तर, बाध्यताका सामु रीतिरिवाज भनेर नहुने रहेछ । अनि त धक नमानी साइकल चलाएर गुजारा चलाइरहेकी छु । संघर्ष, मिहिनेत र कर्मबाट पछि हटेकी छैन । अहिले मेरो संघर्ष देखेर समाजले पनि सराहना गरिरहेको छ । म आफू भने यसबाट आत्मनिर्भर, खुसी र सुखी छु ।
मैले जसरी साइकल चलाएर छोराछोरीको पढाइलेखाइ, पालनपोषण, खानपान, लुगाफाटो जुटाउनु सबैलाई सहज छैन । सीमावारिपारि सामान ल्याएर व्यापार गर्दा सबैले चिनेका छन् । यसरी सामान ल्याउँदा कहिलेकाहीँ प्रहरी बाहेकले रोकटोक गर्दैनन् । पहिला कपडाको व्यापार गर्दा दैनिक २ हजारसम्म कमाउँथेँ । यो सिलसिला तीन वर्षसम्म चल्यो । त्यही कमाइबाट घर बनाएकी हुँ । पतिको बिमारीमा ऋण लिएर खर्चेको पैसा सधाएँ ।
यहीबीचमा छोरालाई घरअगाडि बोलेरो जीपले सडकमा ठक्कर दिएपछि खुट्टा भाँच्चियो । खुट्टाको उपचारमा तीन लाख खर्च भयो । जीपधनीले उपचार खर्च भनेर ६ महिनापछि ४० हजारमात्र दियो । प्रहरीमा जाँदा न कारबाही गरियो, न त उपचार खर्च दिलाउन सघाइयो । त्यही भएर थप आर्थिक मार पर्यो । अर्कोतिर पहिलाको जस्तो कमाइ पनि अहिले छैन । अहिले दैनिक १ हजारसम्म कमाएर घरखर्च चलाउँछु ।
पारिबाट उधारोमा सामान लिएर आएर त्यही सामान बेचेर पैसा लगेर तिर्छु । फाइदा भएको दैनिक १ रुपैयाँजति जोगाएर परिवार धानेकी छु ।
मावलीमा साइकल नसिकेको भए अहिले निकै कठिनाइ बेहोर्नु पर्थ्यो होला, भगवान् भरोसे परिवारको जीवन हुन्थ्यो । छोराछोरीको पढाइ कताबाट हुन्थ्यो ? दैनिक छाक टार्न कति मुस्किल हुन्थ्यो होला ? कल्पना गर्नुस् त ! साइकल चलाउने सीपबाटै सानो व्यापार गरेर परिवार धानेकी छु । साइकल मावलीबाट नै दहेजका रूपमा पतिलाई दिइएको थियो ।
त्यो चोरी भएपछि छिमेकी गाउँ इटवालका बन्हु कोइरीले अर्को पुरानो साइकल दिए । साइकलको पछाडिको ‘केरियर’ १५ सय खर्चेर बलियो फलामले बनाएँ । त्यसैमा बोरा र अगाडि ह्यान्डिलमा झोला बोक्छु । अहिले कपडाको व्यापार मन्दी भएपछि खाद्यान्नको व्यापार गर्न थालेकी छु । यसैबाट सबै परिवार खुसी छौं ।
प्रस्तुति : लक्ष्मी साह
