‘सिलाइ मेसिन र म सँगसँगै बूढो भइरहेका छौं’

असार २०, २०८२

सुकदेव परियार

”The sewing machine and I are growing old together”

झापा — कपडा सिलाउने मेसिनसँगै यो जीवन पनि पुरानो भइसक्यो । खिया लागेको यही सिलाइ मेसिन जीवन कटाउने आधार बनेको छ । भुँइमान्छेको ठूलो सपना नै के हुन्छ र ? साँझ–बिहान छाक जुटाउन सके धन्य लाग्छ ।

आधा उमेर मेसिन चलाएर बित्यो । मेसिनसित मेरो गहिरो सम्बन्ध छ । मेसिन र म सँगसँगै बूढो भइरहेका छौं । एकअर्काका साहारा बनेका छौं । 

अहिले त समय फेरियो । सबैकुरा आधुनिक भए । पहिले जस्तो जमाना रहेन । सहरका मानिसले कपडा किनेर लुगा सिलाउन छाडिसके । रेडिमेडको जमाना आयो । पसलमा जान्छन्, फिटिङ कपडा खोजेर लाउँछन् । मेरो मेसिनले अहिलेका मान्छेले चाहेको जस्तो सिलाउन सक्दैन । बजारमा थरीथरी मेसिन पाइन्छन् । तर, म खरिद गर्न सक्दिनँ । मसित इन्टरलक पनि छैन, न त आइरन नै छ । पैसा बचाएर नयाँ आइरन किन्ने धोको पनि पूरा गर्न सकेको छैन । 

सप्तरीको धरमपुर–६ रूपनगरमा जन्मिएको हुँ । अहिले ६६ वर्षको भएँ । गाउँकै विद्यालयमा ५ कक्षासम्म पढेँ । सामान्य परिवारमा जन्मिएकाले धेरै पढ्न सकिएन । उतिबेला पढाइमा जोडबल गर्ने पनि कोही थिएन । जीवन कटाउन एउटा सीप जान्नै पर्छ भन्ने लागेपछि कपडा सिलाउन थालेँ । फेरि सानैदेखि यही काममा लगाव थियो । उमेर छँदै यही सीप जानियो र काम लाग्यो । अहिले बुढ्यौलीमा पनि यही सीपले काम दिएको छ ।

मेचीनगर–७, आयाबारीमा ७ धुरजति ऐलानी जमिनमा तीन कोठाको सानो घर बनाएको छु । त्यहीँ छोरा, बुहारी, एक नाति र एक नातिनी बसिरहेका छौं । श्रीमतीको १४ वर्षअघि नै निधन भइसक्यो । छोरा विर्तामोडतिर काम गर्न जान्छ, बुहारी घरमै काम गर्छिन् । म पनि बिहान ७ बजेतिर यही इटाभट्टा सहर आइपुग्छु । बेलुका थन्क्याएको मेसिन निकाल्छु र मान्छेले ल्याएका पुराना कपडा सिलाउन थाल्छु । बेलुका ६ बजेतिर मेसिन थन्क्याउँछु र घरतिर लाग्छु ।

पहिले जस्तो कमाइ छैन । सहरमा व्यवस्थित र नयाँ–नयाँ टेलर्सहरू खुलेका छन् । मान्छेहरू त्यतैतिर जान्छन् । दिनमा दुई–अढाइ सय रुपैयाँ कमाइ हुन्छ । शनिबार त बजार बन्द हुन्छ, त्यसैले शनिबार कमाइ नै हुँदैन । जे होस्, यही कमाइले जीवन चलेको छ । धान, चामल, तरकारी, मरमसला सबै किनेर खानुपर्छ । २५ किलोको चामलको बोरालाई १८ सय रुपैयाँ पर्छ । एक महिना पनि पुर्‍याउन गाह्रो हुन्छ । तरकारी, मरमसलामा छुट्टै खर्च छ । छोरो पनि कमाउने भएकाले घरखर्चमा सहयोग मिलेको छ ।

आफैं कपडा सिलाउने मान्छे तर आफैंले नयाँ कपडा किनेर नलगाएको वर्षौं भयो । अलिकति पैसा उब्रिँदा पानीट्यांकी (भारतको सीमावर्ती सहर) जान्छु र ५०–६० रुपैयाँ पर्ने पाइन्ट, ४०–५० रुपैयाँ पर्ने सर्ट किनेर ल्याउँछु । आफ्नै मेसिन छ, ठूलो भए घटाउँछु र लगाउँछु । पेट साह्रै दुख्छ, के भएको हो ? राम्ररी जँचाउन पनि सकिरहेको छैन । अहिले पनि काम गर्दा पेट बाँध्नुपर्छ, नभए दुख्छ ।

बेला–बेला सहरको दबाइ दोकानमा गएर दबाइ लिएर आउँछु । यसरी दबाइ खाँदा–खाँदै सकिन्छ महिनामा ३–४ हजार पैसा त । तर, पनि आफ्नो शरीर हो, खानैपर्‍यो । धन्न सरकारले भत्ता दिएको छ, तीन महिनामा ८ हजार रकम भत्ताबाट आउँछ । हामी दलित वर्ग त्यो पनि यसरी मजदुरी गरेर छाक टार्ने परिवारलाई यो भत्ताको रकम वरदानजस्तै भएको छ । यही भत्ताबाट थोरै–थोरै पैसा बचाउँदैछु, एकदिन धेरै पैसा बनाएर राम्रो डाक्टरलाई देखाउने इच्छा छ । 

प्रस्तुति : नवराज सुवेदी

घरखर्च

सुकदेव

Link copied successfully