[अर्काइभ] भारतीय एक समूहले बानेश्वरमा घरघर पसेर पेस्तोल ताकेपछि... 

असार १७, २०८२

कान्तिपुर संवाददाता

[Archive] After a group of Indians entered houses in Baneshwar and pulled pistols...

काठमाडौँ — २०५० चैत १४ को बिहान ६.४५ बजे । धेरैजसो सुतिरहेका बेला अपरिचित भारतीय एक जत्था बानेश्वरका घरघरमा पस्यो र घरधनीलाई कञ्चटमा पेस्तोल तेर्स्यायो । बानेश्वरको सीडीयो टोलमा एक प्रकारको आतंक नै मच्चियो ।

सुरुमा त स्थानीयले हातहतियारसहितका व्यक्ति को हुन् ? किन आए र यस्तो व्यवहार किन देखाए भन्ने प्रश्नको जवाफ नै पाएनन् । पेस्तोल र स्टेनगनसमेत बोकेर आएको १० जनाको उक्त समूह डीएलसी ५०८६ र युजी ७० ईई ०६१६ नम्बरको मोटरमा आएको थियो ।

सादा पोसाकमा रहेको हतियारधारी समूहले सुरुमा वाणिज्य विभागका पूर्वमहानिर्देशक शिवप्रसाद शर्माको घरमा प्रवेश गरेर उनका भाइ द्वारिकाप्रसादलाई समेत हात उठाउन लगाएर कन्चटमा पेस्तोल ताकेको थियो ।

पेस्तोल र छुरी बोकेका चार जनाले शिवप्रसादको सुत्ने कोठामा पसेर मदनकृष्ण श्रेष्ठ सिडिओको घर सोधेका थिए । उनीहरूले हिन्दी भाषामा बोलेका थिए । यहाँ दिल्लीको मान्छे बस्छ भन्दै उनीहरूले प्रश्न पनि गरेका थिए । पछि ‘सरी’ भन्दै मदनकृष्णको घरतिर लागेको जानकारी शिवप्रसादले गराएका थिए । 

घटनाका विषयमा स्थानीय शिक्षक दीपक शर्माले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले ‘सरदार’सहितको टोली हो भन्दै प्रश्न गरेका थिए ।

उक्त हतियारधारी जत्थाको टोली शिवप्रसादको घरबाट बाहिरिएर मदनकृष्णको घर गएर सुत्ने कोठामा प्रवेश गरेको थियो । मदनकृष्णको कन्चटमा पेस्तोल ताकेर ‘बबलु नामका आदमी कहाँ है ? जल्दी बताओ । नही तो गोली मारेगी’ भन्दै नोटका बिटा देखाएर ‘मुलायमसिंह यादवले बबलुलाई समात्न २ लाख पुरस्कार राखेको’ सुनाएका थिए । उनीहरूमध्ये ८ जना कोठामा पसेको र स्टेनगन बोकेका केही मान्छेसहितको गाडी भने मदनकृष्णको घरबाहिरै राखिएको थियो । 

मदनकृष्णले बबलुका बारेमा आफूलाई केही थाहा नभएको बताएपछि उनीहरूले परिचय खोलेका थिए । समूहमा आएका एक सरदारले आफू भारतीय प्रहरीको डीआईजी भएको बताएका थिए । अर्का सरदारले भने आफू केन्द्रको एसी भएको बताएका थिए । 

उनीहरू केही समयपछि ‘हम गलत जगह आए है, माफ कर दो’ भन्दै त्यहाँबाट निस्केर गएका थिए । खानतलासीका क्रममा उनीहरूले ‘हम अपराधीको खोजी गर्न आएको’ भन्दै एक जना सरदारको फोटो पनि देखाएका थिए ।

[Archive] After a group of Indians entered houses in Baneshwar and pulled pistols...

घरघरमा खानतलासी गर्दा पनि उनीहरू को हुन् ? किन यसरी आतंकित गरे ? उक्त घटनाका विषयमा नेपाल सरकारलाई सूचना छ कि छैन ? स्थानीय अनभिज्ञ थिए । होहल्ला हुन लागेपछि एमाले सांसद सलिम मिया अन्सारी घटनास्थलमा पुगेर प्रहरीलाई फोन गरेका थिए । प्रहरीले भारतीय प्रहरी अपराधी खोज्न आएको जानकारी आफूले पाएको सांसद मियालाई बताएका थिए ।

गृहमन्त्री शेरबहादुर देउवाले उक्त घटनाको विषयमा आफूलाई थाहा नभएको बताएका थिए । स्थानीय एक घरमा डेरा गरी बसेका भैंसी व्यापारी इद्रिस मियाले आफ्नो २० हजार नगद र केही सुन त्यो जत्थाले लगेको बताए । इद्रिस नेपालगन्ज घर बताउने अरुण अग्रवालले भाडामा लिएको घरमा बस्दै आएका थिए । मासिक १७ हजार तिरेर घर भाडामा लिए पनि अग्रवालको काम के हो त्यो थाहा थिएन । 

तीन महिनाअघि दिल्ली गएका अग्रवाल फर्केका थिएनन् । प्रहरी उपरीक्षक रेवतबहादुर थापाले दिल्लीमा ६ महिनाअघि भएको हत्याकाण्डमा संलग्न केही अपराधीसमेत लिएर उनीहरू अन्य अपराधी खोज्न आएको जानकारी दिएका थिए । उनले उक्त टोलीमा नेपाल प्रहरी पनि रहेको बताएका थिए । उनले भारतीय प्रहरीले अनुमति लिएर नै खानतलासी गरेको जानकारी दिएका थिए । उनको यो भनाइपछि मात्र भारतीय प्रहरीले खानतलासी गरेको प्रस्ट भएको थियो । उनले सुपुर्दगी ऐनअन्तर्गत कारबाही हुने गरेको बताएका थिए । सरकारी तहमा सहमति भएरै खानतलासी गरिएको भनाइ एसी थापाको थियो ।

बिनासूचना काठमाडौंको मुटुमा विदेशी सुरक्षाकर्मीले घरघरमा पसेर खानतलासी गर्दै आतंकित गरेकामा काठमाडौंमा विरोध सुरु भएको थियो । उक्त घटनालाई कान्तिपुर दैनिकले ‘नयाँ बानेश्वरको सीडीओ टोलमा भारतीय प्रहरीको कारबाही’ शीर्षकमा २०५० चैत १५ मा समाचार प्रकाशित गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully