‘जिन्दगीमा सपना देख्ने र रहर पाल्ने त समय नै पाइनँ’

असार १८, २०८२

वीरेन्द्र यादव

”I don't have time to dream and cherish my dreams in life”

तिलोत्तमा — बिहानै उठेर साइकल ढोग्छु । त्यसपछि साइकलमा बोरा बाँधेपछि चिच्याउँदै घरदैलोमा पुग्छु । यसरी डुलेर फलाम, प्लास्टिक, कापी–किताब संकलन गर्न थालेको पनि १० वर्ष भइसक्यो । कसैले के काम गर्छस् भनेर सोध्दा यो काम गर्छु भनेर बताउन अलिक लाज लाग्छ । किनभने धेरैले मेरो कामको मर्मै बुझ्दैनन् ।

म आफूलाई कबाड संकलन नराम्रो काम हो भन्ने लागेकै छैन । तर कहिलेकाहीँ ग्राहकले 'कबाडीवाला' भन्दा मन चसक्क दुख्छ । 'म मान्छे हो, थोरै कबाडी हुँ र ? मेरो काम पो कबाडी संकलन गर्ने हो' भन्छु । घरी घरी त कस्तो काम रहेछ, बोलाउँदा पनि नराम्रो सुनिने जस्तो पनि हुन्छ । तर रोजीरोटीको कुरा छ, काम हो, ढाँटेको छैन, लुटेको छैन । यही काममा रमाउने कोसिस गरिरहेको छु ।

जिन्दगीमा सपना देख्ने र रहर पाल्ने त मैले समय नै पाइनँ । अझ भनुँ त्यस्तो त माहोल नै बनेन । कतिपयले फलामको काम छोड् पनि भन्छन् । काम छाडेपछि मेरो बिल्लीबाँठ हुन्छ भन्ने उनीहरूलाई के थाहा ?

जिन्दगी कस्तो बितिरहेको छ, त्यो पनि मलाई थाहा छैन । भोलि के होला भन्ने पिर मात्रै छ, तर सोच्छु, आज बाँच्नु छ, परिवार बचाउनु छ, भोलि त देखाजाएगा । अब बुढेसकाल लाग्दैछ । मलाई त आफ्नो भन्दा पनि परिवारको चिन्ता बेसी छ । मैले काम गर्न नसक्दा परिवारको हालत के होला भन्ने पिर छ । मैले कमाएको पैसाले सबै कुरा पर्याप्त पुग्दैन । नकमाउँदा झन् के होला ? 

मेरो जन्मघर रौतहट हो । उता त बस् जन्मिएँ र हुर्किएँ मात्र । उमेर भएपछि कामको खोजीमा भौंतारिने क्रममा रूपन्देही आइपुगेको हुँ । बुटवलमा बसे पनि कबाड संकलन गर्न तिलोत्तमा, सैनामैना र देवदहका गल्ली–गल्ली डुल्छु । 

मेरा तीन सन्तान छन् । अहिले ४० वर्षको भएँ । लेखपढ नगरेकाले रोजेर काम मिल्दैन । जे मिल्छ, त्यही गर्ने भनेर बुटवल आएको थिएँ । यहाँ आउनासाथ कबाड संकलकको काम मिल्यो । यही कामबाट सिजनमा महिनाको २५ हजारसम्म कमाइ हुन्छ । ‘अफ सिजन’मा दिनमा ५ सयदेखि १ हजारमा चित्त बुझाउनु पर्छ ।

बजारमा ५० रुपैयाँ किलोमा बिक्ने सामान छ भने हामी ३०/४० रुपैयाँमा किन्छौं । ग्राहकबाट जति कम मूल्यमा सामान खरिद गर्न सक्यो, त्यति नाफा हुने हो । कबाड बटुल्ने व्यक्ति भनेर सम्बोधन गर्दा नरमाइलो लाग्छ । तर, यो पनि काम हो भन्ने ठानेर गर्नैपर्छ । 

साथीहरू मिलेर एउटै कोठा सेयर गरेर बसेका छौं । बुटवलको साँध तिलोत्तमा–३ योगीकुटीमा साहुले भाडामा बस्ने व्यवस्था गरिदिएका छन् । कोठामा पालैपालो पकाउने, खाने गरिन्छ । कहिलेकाहीँ बाहिरफेर पनि खान्छौं । खाना/खाजामा दिनमा १ सय ५० देखि २ सय रुपैयाँसम्म खर्च हुन्छ । पैसा जोगाएर घर लैजान पाए हुन्थ्यो भन्ने लाग्छ । त्यसैले कम खर्च गर्छु । कहिले महिनामा २५ त कहिले १५ हजार रुपैयाँ घर पठाउने गरेको छु । महिनामा एकफेर पैसा घर पुग्छ । म भने ६ महिना, वर्षदिनमा जान्छु ।

खपटाले छाएको सानो घर छ । यो जुनीमा मैले पैसा कमाएर अर्को घर बनाउने दिन त आउँदैन । तर सन्तानलाई पढाउन सकेँ भने केही गर्छन् कि भन्ने लागिरहन्छ । राम्रो स्कुलमा पढाउँछु भनेर बालबच्चालाई १ वर्षजति यतै राखेँ । तर, सामुदायिक विद्यालयमा पढाउँदा पनि खर्च धान्न नसकेर रौतहट फिर्ता पठाउनु पर्‍यो । उनीहरू क्रमशः कक्षा ५, ७ र ९ मा पढ्छन् । घरमा पनि खेतीपातीको काम छैन । अरूको खेती लगाउने बेलामा म घर जान्छु । खेतमा काम गर्‍यो, पैसा जुटायो, फेरि यतै आयो । यस्तै चलिरहेको छ । 

बाध्यताले यो काम गरिरहेको छु । विदेश जान मसित पैसा थिएन । फेरि मसित केही सीप पनि भएन । घाममा दिनभरि चिच्याउँदै हिँड्दा कति पीडा हुन्छ भन्ने कुरा मलाई मात्र थाहा छ । मेरै छोराछोरीलाई मैले गर्ने काम मन नपर्न सक्छ । तर, मेरो बाध्यता महसुस गरे भने बुवाले हाम्रा लागि दुःख गर्नु भयो भन्ठान्लान् । यो काम पाएपछि अरू काम सिक्ने, गर्ने ध्यान नै भएन । यसमै रमाउँदै गएँ । 

प्रस्तुति : सन्जु पौडेल

वीरेन्द्र

Link copied successfully