गोरखा — गाउँघरमा रल्लिदै बस्नेको ठूलो इलम नै के हुन्छ र ! दुई/चार पैसा आम्दानी गर्न भनेर बाख्रा पालेको छु । तिनै बाख्राको गोठालो लाग्छु । बिहान बथान लगेर वनपाखा डुलाउँदैमा दिन कटिजान्छ ।
बुवाको पालामा सानो गोठमा थोरै बाख्रा थिए । त्यही ४/५ वटा थिए होलान् । मैले पाल्न थालेको १०–१२ वर्षर् भयो । अहिले ४० वटा पुर्याइसकेको छु । कुनैले तीन, कुनैले दुई र केहीले एउटा पाठो जन्माउँछन् । पाठा पैदा भएका दिन गोठमा रमिता हुन्छ ।
मायाले हुर्काएका बाख्राले जन्माएका पाठापाठी आफ्नै सन्तानजस्तो लाग्छ । पाठापाठीको स्याहार, माउ र खसीबोकालाई पाखा पखेरा डुलाउँदै ठिक्क हुने भएकाले अरुतिर ध्यान पुर्याउन सकिँदैन । पुग्दो स्याहार नगरे मर्ने डर हुन्छ । बाख्रा पाल्ने रहर गरिहालियो, अब दुःख जति सहनै पर्यो नि ! लौ दुःख दियौ भनेर पशुसित गुनासो गर्ने कुरा पनि भएन ।
अजिरकोट गाउँपालिका–४, सिम्जुङको महभीरमा घर छ । अहिले ६० वर्ष टेकेँ । दुई छोरी र दुई छोरा छन् । १२ कक्षा पास गरेपछि जेठो छोरा नेपाली सेनामा भर्ती भयो । एक छोरी काठमाडौंमा पढ्छिन् । बाँकी दुई छोराछोरी घरमै छन् ।
मैले पनि ७ कक्षासम्म पढेको हुँ । हाम्रो पालामा चिठीपत्र पढ्न सक्नेलाई ठूलै विद्वान् मानिन्थ्यो । केही समय त म पनि गाउँमा जान्ने टोपलिएँ । २०५४ सालमा ५ वर्षका लागि साबिकको सिम्जुङ गाविस–१ को वडाध्यक्ष चुनिएँ । तत्कालीन चुनावमा राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएको थिएँ । जसै वडाध्यक्षको पदावधि सकियो अनि राजनीति छाडेर खेतिपातीमा होमिएको हुँ ।
सानै छँदा बुवा बितेपछि घर–व्यवहारको जिम्मेवारी मैमाथि आइपर्यो । त्यसले पनि नेतृत्व लिन आँट दियो । म जनप्रतिनिधि हुँदा महिनाको १ हजार २ सय रुपैयाँ भत्ता मिल्थ्यो । अहिले जस्तो मोटरबाटो थिएन । पैदल घरदैलोमा पुगेर नागरिकका दुःखसुख बुझिन्थ्यो । लौ सुविधा चाहियो भनेर गुनासो गरिएन ।
उहिलेको वडाध्यक्ष भन्दा अहिले किसान हुँदा सोधखोज र प्रशंसा धेरै मिलेको छ । बाख्रा पालनका अलावा मौरीका ६ घार छन् । बाख्रा र मह बिक्री गरेर वर्षमा एक लाख रुपैयाँ बचत गर्छु । वर्षमा तीन पटक मह काढ्न पाइन्छ । एक मानाको एक हजार रुपैयाँमा बेच्छु । मौरी बेचेर १५/१६ हजार कमाउँछु । वर्षमा कम्तीमा ३/४ खसीबोका बेचेकै हुन्छु । एक धार्नी खसीको मासुको मूल्य २५ सय पर्छ । त्यहीअनुसार भाउ पाउने हो । कमाएको पैसाले चामल किन्ने हो । चाडपर्व पनि त्यही पैसाले धान्ने हो ।
बाख्राको मल तह लाउन खेती गरेको छु । दुई हल लाग्ने खेतमा धान, ६ हल मेलो बारीमा मकै, आलु, कोदो, तोरी लगाउँछु । आलु मात्र वर्षमा ७ मुरी फल्छ । आलुबाट धेरै फाइदा छ । यति उब्जनी भएपछि जति खाए पनि भयो । ग्राहक आए आफूखुसी आलु लैजान भन्छु । एक पाथी आलु २ सय ५० रुपैयाँमा बिक्री हुन्छ । कोदो वर्षमा ६ मुरी फल्छ । धान ८ मुरी फल्छ । ६ जनाको परिवारलाई यही खेती किसानीले खान पुगेको छ, आनन्द पनि यसैमा छ ।
खेती किसानी गर्दा सुखमा बस्ने भन्ने हुँदैन । दुःखैदुःख छ । पहिले खानका लागि चामल किन्नै आँबुखैरेनी जानुपर्थ्यो । म आफैं पनि मिठो मसिनो, चोखो खानका लागि चामल लिन हिँडेर नै आँबुखैरेनी कतिपटक पुगेँ ।
ठूलो रोगव्याधी केही लागेको छैन । दुई वर्षअघि भीरबाट लड्दा टाउकोमा सानो चोट लागेको थियो । अहिले कान कमजोर भएका छन् । केही वर्षअघिसम्म चार जना छोराछोरीलाई एकैचोटी पढाउँदा निकै दुःख थियो । ११ कक्षामाथि पढाउँदा त यति पैसा खर्च हुँदो रहेछ । बोको बेच्दा पनि नपुग्ने । सधैं पैसाको समस्या हुन्थ्यो । मासु खान परिहाल्यो, चाडवाडमा खुसी मनाउन परिहाल्यो । जागिर नभएपछि दुःख हुँदो रहेछ । यही दुःख सम्झिएर खेती किसानी छाडिनँ । जेठो छोरा नेपाली सेनामा जागिरे भएपछि अहिले घरखर्च चलाउन धेरै सजिलो भएको हो ।
प्रस्तुति : हरिराम उप्रेती
