‘छोरीहरूलाई पढाएर भविष्य उज्यालो बनाउने चाहना छ’

असार १७, २०८२

नवीन चर्माकार

”I want to make the future bright by educating my daughters”

संखुवासभा — बाबुबाजेको पेसा भनेको अर्काको जुत्ता सिलाउने हो । बाल्यकालमा बाबुबाजेको पछि लागेर यही पेसा सिकेँ । १० कक्षासम्म पढेर १४ वर्षको उमेरमा विद्यालय छाड्नु पर्‍यो । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएकाले पढ्न सकिनँ । अहिले संखुवासभा उद्योग वाणिज्य संघको कर्मचारीका अतिरिक्त फुर्सदमा पुराना जुत्ता-चप्पल सिलाएर घरखर्च चलाउँछु।

म अहिले ३५ वर्षको भए ।  मेरो घर खाँदबारी नगरपालिका–८, राटमाटे हो । मेरो एउटै रहर र इच्छा भनेको छोरीहरूलाई ठूलो ठाउँमा राम्रो स्कुलमा पढाउने सपना छ, तर महिनाको कमाइ र खर्च बराबरी हुँदा त्यो सपना बोक्न मलाई त्यति सजिलो छैन ।

अहिले संखुवासभा उद्योग वाणिज्य संघमा कर्मचारी छु । तर पनि शनिबारे खाँदबारीमा लाग्ने शनिबारे हाटमा जुत्ता टालटुल गरेर बस्छु । सातामा दुई पटक खाँदबारीमा हाट लाग्छ । शनिबार अफिस छुट्टी हुने भएकाले हप्तामा एकपटक पुराना जुत्ता सिउने काम गर्छु । त्यसबाट १५ सयजति कमाइ हुन्छ । 

केही वर्ष कार्यालय सहयोगीका रूपमा काम गरेँ । अहिले संघमा स्तरवृद्धि भएको छ । कार्यालय सहायकका रूपमा काम गर्न थालेको छु । ६ वर्षअघि कार्यालय सहयोगीबाट बढुवा भएर सहायक भएको हुँ । तर, मासिक तलब १५ हजार छ । यो रकममा पाँच जनाको परिवारको गुजारा चलाउन कहिल्यै सजिलो भएन । दुवैतिरको पैसा जोड्दा २१ हजार चानचुन हुन्छ । 

मेरी जेठी छोरी जुनु अहिले सरकारी स्कुलमा १० कक्षामा पढ्दै छिन् । पहिले बरुण बोर्डिङ स्कुलमा पढ्थिन् । तर शुल्क तिर्न नसकेपछि सरकारी विद्यालयमा सार्न पर्‍यो । गरिबका छोराछोरीलाई भन्दा आफन्त र धनीमानीका छोराछोरीले छात्रवृत्ति र सुविधा पाउँछन् । जसोतसो कक्षा ८ सम्म निजी स्कुलमा छोरी पढाएँ । कान्छी छोरी कोपिला पाँच कक्षामा जुनुसँगै आदर्श विद्या मन्दिर पाठक गाउँमा पढ्छिन् । आफूले पढ्न नसकेपछि छोरीले भनेको विषय पढाउने रहर छ । उनीहरूलाई ठूलो मान्छे बनाउने सपना बोकेर हिँडेको छु । 

छोरीको शिक्षामा कुनै सम्झौता गर्दिनँ भन्ने लागेको छ । आफूले पढ्न नपाएको पीडा छ, छोरीहरू पढून् भन्ने चाहना बलियो छ । अब आउने वर्ष एसईईमा जुनुले राम्रो नतिजा ल्याउँछे भन्ने ठूलो आशा छ । 

बाल्यकालमा मेरो पढ्न पाउने सपना तुहियो, आर्थिक अभावकै कारण उच्च शिक्षा पढ्न समेत पाइनँ । भर्ना गर्ने पैसाको जोहो गर्न नसक्दा पढाइ छाड्नु पर्‍यो । तर छोरीका लागि दिनरात नभनी जोडतोडले लागिरहेको छु । छोरीहरूलाई पढाउन भनेरै केही रकम जोहो गरेको छु । छोरीहरूको पढाइमा लगानी गर्न सके उनीहरूको भविष्य उज्यालो हुन्थ्यो । 

श्रीमतीलाई ढाडको समस्या छ । उपचारकै क्रममा ३ लाखजति खर्च भयो । थोपाथोपा गरेर बचत गरेको रकम यसरी उपचारमै सकियो । उपचार गर्न काठमाडौं डेढ महिना अस्पतालमै बस्नुपर्‍यो । 

गाउँभरि ऋण खोजेर उपचार गराएँ, थोरैथोरै गरेर आफन्तको पैसा किस्ता किस्तामा तिर्दैछु । श्रीमती पनि थलिएकी छिन्, त्यसैले पनि मलाई समस्या थपिएको छ । श्रीमती खाना पकाउने काम गर्छिन् । कहिलेकाहीँ खेतालाको काम पनि गर्छिन् । तर, ढाड दुखेका कारण अहिले त्यो पनि सम्भव छैन । काम गर्न सक्दा उनले दिनभर काम गरेर ५ सय कमाएर ल्याउँछिन् । व्यवसाय गर्ने ठूलो रहर छ, तर पुँजी छैन । महिनामा जागिरबाट आएको तलब र शनिबारे हाटको जुत्ता टालटुल गर्ने कामले बिहान–बेलुका खानलाई जसोतसो चलेको छ । केही पैसा जोहो गर्न सकेनौँ भने बिरामी हुँदा सिङ्गो परिवार नै समस्यामा पर्छ । 

खेतबारी केही छैन । सबैथोक किनेर खानु पर्छ । घरधन्धा गर्दै भए पनि श्रीमतीले सागसब्जी रोपेकी छिन् । महिनाभरि खानका लागि १५ हजारले पुग्दैन । महँगी बढेको छ, एक किलो चामल किन्न परे एक सय रुपैयाँ घटी पाइँदैन । एक लिटर भटमास तेलकै झन्डै २ सयसम्म तिर्नु पर्छ । एक किलो नुनको २५ रुपैयाँ पर्छ । मेरो आफ्नै कच्ची घर छ । सबै परिवार त्यही कच्ची घरमा बस्छौं । आफ्नै हातले बनाएको त्यो घर अहिले मेरो भरोसा बनेको छ । दसैँतिहार बाहेक अरुबेला छोरी र श्रीमतीलाई नयाँ लुगा किनिदिन सकिँदैन । मेरो अवस्था देखेर छोरीहरूले पनि गुनासो गर्दैनन् । 

प्रस्तुति : दीपेन्द्र शाक्य

घरखर्च

नवीन

Link copied successfully