धनकुटा — उहिले गाउँघरमा बाउ–आमाले खेतीपाती गरेर निर्वाह गरेका थिए । त्यो परम्परा हाम्रो पुस्तासम्म पनि कायम रहेन । यतै खनिखोस्री दिन कटाउनेभन्दा कमाउन भन्दै विदेश जाने लहर चल्यो । गाउँका युवा हातमा पासपोर्ट बोकेर विदेश जाने भन्दै सहर धाउन थाले । पढाइ पूरा गरेको प्रमाणपत्रभन्दा राहदानीको महत्त्व पो धेरै हुन थाल्यो ।
सपना बोकेर विदेश जानेमध्येमा म पनि थिएँ । दाजु–दिदीले पैसा जोहो गरिदिएपछि मलेसिया जानका लागि आवेदन गरेँ । त्यसबेला विदेशी भूमि टेक्नासाथै जिन्दगी बदलिन्छ जस्तो लागेको थियो । तर, विदेश सोचेजस्तो नहुँदो रहेछ । मलेसिया जाने बेला २२ वर्षको थिएँ । यता हुँदी कडा काम नगरेको मैले मलेसियाको गर्मीमा नेपाली दाजुभाइहरू १०/१५ तलामा डोरीमा झुन्डिएर काम गरेको देखेपछि मन चिसो भयो । मेरो काम चाहिँ वेल्डिङ गर्ने भएकाले अरूको हेरी सजिलै थियो । महिनामा ओभरटाइम गरेर ३५ हजार पुग्थ्यो ।
मलेसियामा काम गर्दा नेपालीलाई हेपेको देख्दा साह्रै रिस उठ्थ्यो । ठूला घर, विकशित सहर भए नि त्यहाँका मान्छेको मन नेपालीको जस्तो एकरत्ति थिएन । जति दुःख–मिहिनेत गरे नि पैसा नढाइदिएपछि दिक्क लाग्यो ।
कमाइ धेरै नभएकाले घरमा खर्च पठाउन पुग्थेन । त्यसैले त्यस्तो अभाव झेल्नुभन्दा बरु नेपाल फर्किएर आफैंले केही गर्ने सोच बनाएर नेपाल फर्किएँ । तीन वर्ष मलेसियामा बिताएपछि रित्तो हात घर फर्किनु पर्यो । मुलुक आएको केही समय के गर्ने भन्ने अलमलमा बिताएँ । ठूलो व्यवसाय थाल्न पैसा थिएन, सानोतिनो दोकान गर्दा चल्ने हो कि होइन दोधारमा परेँ ।
अलिअलि जम्मा गरेको पैसाले २०७४ सालमा नयाँ अटो रिक्सा किनेँ । धरानमा बसेर ्अटो रिक्सा चलाउन थालेको पनि ८ वर्ष भइसक्यो । यसको कमाइले घरखर्च चलिरहेको छ । धेरै बचत गर्न सकेको छैन । कोरोना महामारीपछि महँगी र मन्दीले हामीजस्ता चालकलाई असर गर्यो । धरानमा अहिले अटो रिक्साको चाप बढेकाले प्रतिस्पर्धा पनि छ । जसले गर्दा पहिलेको कमाइ घट्यो । यसबाट हुने कमाइ खान–बस्न, बिजुली–पानीको बिल तिर्न पुगेको छ । कमाइजति खानपिनमै सकिन्छ ।
एकदिन राम्रो हुन्छ होला भन्दा भन्दै जीवन बित्न लाग्यो । अहिले ३४ वर्ष पुग्न लागेँ । मिहिनेत गरेर कमाएको पैसाले पेट पाल्न मात्र पुगिरहेको छ । दिनमा कहिले १ हजार हुन्छ त कहिले ५ सय पनि हुँदैन । साथीभाइ–आफन्तले टन्न कमाउँछ भन्छन् । एक्लै छ, कसैलाई पाल्नु परेको पनि छैन, धेरै बचत गरिसक्यो होला भनेको सुन्छु । तर पैसा अहिले कमायो, उतिखेरै सकिजान्छ ।
जति दुःख गरे पनि महिनामा सरदर २० हजार कमाइ हुन्छ । छोरीचेली, माइती आउँछन् । चाडपर्व मनाउनै पर्यो । कहिले दुःखबिमार भइन्छ । त्यसमा पनि पैसा खर्च हुन्छ । दिनहुँ अटोमा पेट्रोल भर्नुपर्छ । मर्मत खर्च उस्तै लाग्छ ।
धनकुटाको सघुरीगढीमा जन्मिएको हुँ । परिवारका ४ दिदी र ३ दाजुको कान्छो भाइ हुँ । गाउँमा १० कक्षासम्म पढेँ । उच्च शिक्षा अध्ययनका लागि गाउँमा क्याम्पस थिएन । त्यसैले क्याम्पस पढ्न सहर धरान झर्नुपर्थ्यो । १० कक्षाको परीक्षा सकिएको केही महिनामा आमाको मृत्यु भयो । आमा बितेको एक महिनामै बुवा पनि खस्नु भयो । हाम्रो मध्यम परिवार भएकाले धेरै धन र पुर्ख्यौली सम्पत्ति थिएन । घरको सबै बोझ दाइहरूको काँधमा आइपुग्यो ।
एसएलसीको रिजल्ट पनि राम्रो आइपछि धरानस्थित चन्द्रसंस्कृत क्याम्पसमा भर्ना भएर पढ्न थालेँ । त्यसबेला मलाई पढाइको धेरै महत्त्व लागेन, जति अहिले लागिरहेको छ । क्याम्पस पढ्दा पढ्दै विदेश जाने रहर लाग्यो । उतिबेला मजाले पढेको भए अहिले जागिरे हुन्थेँ होला । त्यस्तो सोच्दा पछुतो पनि लाग्छ ।
प्रस्तुति : एलिना राई
