‘सीप सिकेर देशमै व्यवसाय गरेकामा गर्व लाग्छ’

आम्दानीभन्दा पनि घरखर्च र दिनचर्या राम्रै चलेको छ

असार २७, २०८२

इन्द्रबहादुर कुँवर

”I am proud to learn skills and do business in the country”

गुल्मी — नोकरीभन्दा त सीप सिकेर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोच आएपछि भारतको मुम्बईमा कपाल काट्न सिकेँ । याे काम जानिसकेपछि ७ वर्षभन्दा बढी मुम्बईमै सैलुन चलाएँ । मुम्बईपछि राजस्थानको जयपुरमा १० वर्ष बिताएँ । लामो समय भारतका सहरमा बिताएपछि मन परिवर्तन भयो । स्वदेशमै केही गर्नुपर्छ भन्ठानेर २०६९ सालमा जन्मघर गुल्मी फर्किएको हुँ ।

आफ्नै ठाउँमा आएपछि रेसुङ्गा नगरपालिका–२ मा बसाइँसराइ गरेँ । अनि सदरमुकामकै क्याम्पस रोडमा सीपअनुसारको व्यवसाय अगाडि बढाएँ । मैले मोनिका ब्युटिपार्लर एण्ड हेयर कटिङ संचालन गरेर 'जेन्स' र 'लेडिज'को ब्युटिपार्लरसम्बन्धी काम गर्न थालेँ । लेडिजका लागि श्रीमती मोनिका र जेन्सका लागि म आफैंले सेवा दिन्छु ।

व्यवसाय सुरु गर्दा सटर भाडा ५ हजार रुपैयाँ थियो । त्यतिबेला यससम्बन्धी व्यवसाय गर्ने नेपाली कमै थिए । हामीले व्यवसाय मात्रै होइन, तालिम पनि दिन थाल्यौं । अनि मैले र मोनिकाले तालिम दिएपछि यससम्बन्धी सीप सिक्ने बिस्तारै बढ्दै गएका छन् । अहिले त हाम्रो सटर भाडा मासिक १८ हजार रुपैयाँ पुगेको छ । आम्दानीसँगै खर्च पनि बढ्दै गएको छ । दुई जनाले गरेपछि राम्रै कारोबार हुन्छ ।

आम्दानी त त्यति धेरै हुँदैन, रोजगारी पनि प्रदान गरेका छौं । ५ जनाले हाम्रो व्यवसायबाट रोजगारी पाएका छन् । सेवाग्राहीको संख्या त ठूलो कुरा होइन, सेवाग्राही सन्तुष्ट हुनु ठूलो कुरा हो । सेवाग्राहीको प्रतिक्रियाअनुसार सन्तुष्ट भएको पाएको छु । यसैमा आफैंलाई खुसी लाग्छ । 

म २०३३ सालमा रेसुङ्गा नगरपालिका–३ भाडागाउँमा जन्मिएको हुँ । पढ्दापढ्दै बीचमै छोडेर म रोजगारीका सिलसिलामा भारत गएँ । मेरो मुख्य जवानी उमेर त भारतमै बित्यो । मैले नोकरी गरेर धेरै समय बिताएँ । सही समयमै सही निर्णय गरेर आफ्नै ठाउँमा आएर व्यवसाय गरेकामा आनन्द अनुभूति हुन्छ ।

एक छोरा अध्ययनमा छन् । एक छोरी सीप सिकेर व्यवसायमा सघाइरहेकी छिन् । यसैलाई पनि ठूलो सम्पत्ति मानेको छु । आम्दानीभन्दा पनि घरखर्च राम्रै चलेको छ । मिठोमसिनो खान र चाडपर्व मान्न त्यति धेरै सोचिरहन पर्दैन । यसैमा खुसी छौं । देशबाहिर त जति कमाए पनि सन्तोष हुँदैन । स्वदेशमा त थोरैधेरै कमाइ भए पनि सन्तुष्ट हुने वातावरण बन्छ । आफ्नै ठाउँबाट सेवा दिन पाउँदा खुसी लाग्छ । 

दैनिक व्युटीपार्लर र हेयर कटिङ गरेर औसतमा ४ हजारको कारोबार हुन्छ । जसमा २ हजार फाइदा हुन्छ । रोजगारी दिनेबाहेकको आम्दानी यही हो । यसैले घरखर्च चलेको छ । भान्सामा त्यति धेरै खर्च हुँदैन । सामान्य दाल, भात र तरकारी नै हाम्रा लागि मनपर्ने खाना हो । घरखर्च, चाडपर्व र छोराछोरी पालनपोषण आम्दानीबाट चल्छ । यसैमा सन्तुष्ट छौं ।

सीप नै मुख्य नै कुरा रहेछ । अध्ययनसँगै सीप सिकेर देशमै केही गर्न सके त्यसभन्दा राम्रो अरु हुँदैन । विदेश जानै परे पनि सीप सिकेर मात्र जानुपर्छ । हामीले तालिम प्रदान गरेका केहीले आफ्नै व्यवसाय गरेका छन् । केही विदेशमा यही कामका लागि गएका छन् । यो नै हाम्रो कमाइ हो । तर विदेशमा कमाइ गरेपछि देश फर्किनुपर्छ । अनि देशमै केही न केही त गर्नैपर्छ । तब मात्रै देशप्रतिको माया र कर्तव्य पनि पूरा हुन्छ । मनमा पनि आनन्दको सन्तोष हुन्छ ।

अहिले त म नाई संघ गुल्मीको अध्यक्ष छु । हामीले नयाँ युवालाई तालिम दिएर यस व्यवसायमा आकर्षित गर्नुपर्छ भन्ने सोच छ । मोनिकाको साथले व्यवसायमा टिकिरहन सम्भव भएको छ । घरपरिवार राम्रो चलाउन सकिएकामा दुवै जना खुसी छौं ।

दिनभर व्यवसायमा सँगै हुन्छौं । अघिपछि पनि घर–परिवार एकै ठाउँमा सबेर दिनचर्या बितिरहेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म व्यवसायमा खटिएका हुन्छौं । जिन्दगी त संघर्षपूर्ण छ । संघर्षले नै घरखर्च र दिनचर्या सहज बनाइरहेको छ ।

व्यवसायसँगै घरमा ४०/५० वटा सुन्तलाका बिरुवा हुर्काइरहेका छौं । यसले पनि पछि कमाइ दिनेछ । साथमा किबीका बिरुवा पनि लगाएका छौं । सानोतिनो कृषि कार्यले पनि हाम्रो घरखर्चलाई सहज बनाउनेछ भन्ने विश्वास लिएका छौं ।

प्रस्तुति : सन्तोष महतारा 

इन्द्रबहादुर कुँवर

Link copied successfully