‘दमको ओखती किन्न फाटेका टाला सिउँछु’

'दलित समुदायका अधिकांश व्यक्तिको जमिन धेरै नहुने भएकाले अर्काकै भरमा बाँच्नुपर्दा जातीय विभेद पनि सहनुपर्ने रहेछ'

असार २९, २०८२

मैमा दमाई

”I sew torn hair to cure asthma”

कालीकोट — पाँच वर्षदेखि दमको रोगी भएकाले उकालो–ओरालो हिँड्न सक्दिनँ । स्वाँ–स्वाँ भएर बिताउँछ जस्तो हुन्छ । टाढा जाने अवस्था नभएकाले घरनजिकको ताडी बजारमा ३५ हजार खर्च गरेर जस्तापाताले घेरेर घुम्टी पसल बनाएको छु । त्यसमै बसेर फाटेका टाला सिउँछु ।

ज्याला सस्तो भएकाले कहिलेकाहीँ नयाँ कपडा सिलाउन भनेर पनि मानिसहरू आउँछन् । यही सिलाइकटाइ गरेर दुइटी श्रीमती, तीन छोरा र एक छोरीको परिवारका लागि घरखर्च जुटाइरहेको छु । दमले च्यापेका बेला सुँघ्ने औषधि पनि यही लुगाफाटा सिएर जोहो गर्छु । सोझै भन्दा दमको ओखती किन्न फाटेका टाला सिउँछु ।

खाडाचक्र–४, दमाइबाडामा घर छ । अहिले ५२ वर्षको भएँ । १९ वर्षमात्र पुगेका बेला दम रोगले आमा बितिन् । त्यसपछि बुवाले कान्छी श्रीमती भित्र्याए । मेरी आमापट्टिबाट ममात्र जन्मिएँ । कान्छी आमाबाट ५ भाइबहिनी छन् । बुवा अहिले ७३ वर्षको हुनुभयो । उनीहरू अलग्गै बस्छन् । जेठो छोरो भएकाले सानैदेखि बुवाको पछिपछि हिँड्थेँ । बुवा बाजा बजाउन जाँदा त्यतै जान्थेँ । पढ्नुपर्छ भन्ने चेत भएन । गाउँमै स्कुल भएकाले तत्कालीन जनजीवन स्कुलमा भर्ना भएँ । 

स्कुल जाँदा पनि केही जान्दैनथेँ । जेनतेन ३ कक्षासम्म पुगेँ । फेल भएपछि घरमा गाली गर्नुभयो । अचेलको जस्तो स्कुलमै अन्नी (दिवा खाजा, दलित छात्रवृत्ति, निःशुल्क किताब) पाइने भए त म पनि पढ्थेँ होला । भोक लाग्थ्यो । भागेर घर आइहाल्थेँ । बुवा गाउँमा कसैको घरमा बाजा बजाउन गएको थाहा पाए स्कुलबाट भागेर त्यहीँ पुग्थेँ । स्कुलमा फेल भएपछि बुवाले पढाउन सकिँदैन भनेपछि स्कुल छाडेँ ।

गाउँमा हुने उच्छा मैला (विवाह, जन्म, मेला जात्रा र मृत्यु) मा बाजा बजाउने काममा लागेँ । त्यतिबेला अचेलका जस्ता कपडा सिउने मेसिन थिएनन् । सियो र धागोले कपडा सिउन सिकेँ । बाजा बजाउन त सानैदेखि आउँथ्यो । केही समय त्यही काम गरेँ । 

१३ वर्षको भएपछि शुभकालिका–४ की १२ वर्षकी मुगा नेपालीलाई भगाएर बिहे गरेँ । उनीबाट सन्तान जन्मिएनन् । त्यसपछि २३ वर्षको उमेरमा काली दमाईसँग विवाह गरेँ । उनीबाट ३ छोराछोरी छन् । दुःखसुख गरेर तीनै छोरा पढाइरहेको छु । जेठो रज १०, माहिलो दमन ७ कक्षामा गाउँकै जनजीवन माविमा पढिरहेका छन् ।

कान्छो दारासिंह खुट्टाको अपांग छ । ऊ घरनजिकैको एडभान्स एकेडेमी बोर्डिङ स्कुलमा यूकेजीमा पढिरहेको छ । कान्छो छोराको खुट्टाको उपचार गर्न भनेर ५ वर्ष सुर्खेत धाएँ । सन्चो भएन । ५ लाख ऋण मात्र लाग्यो । सिलाइकटाइको व्यापार मात्र चौपट भयो । जेठी छोरीले ७ कक्षासम्म पढी । १४ वर्ष पुगेपछि भागेर बिहे गरी । अहिले एक नातिनी र श्रीमानसहित मसँगै बस्छन् । 

मैले गाउँमा कपडा सिलाउँदा पेट पाल्न पनि मुस्किल भएकाले सुरुमा मान्म बजारमा कपडा पसलको बाहिर बसेर सिलाएँ । त्यसपछि ०६५ देखि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक संचालनमा आएपछि ताडी बजारको बसपार्कको छेउमा आफ्नै टिनको टहरो (घुम्टी) बनाएर नयाँ सिउने र पुराना कपडा टाल्ने काम गर्दै आएको छु । 

पहिले हातले कपडा तुनेर सिउने गर्थें । अचेल कल (मेसिन) आएको छ । कमाइ राम्रै हुन्छ । कहिलेकाहीँ दिनमा २ हजारसम्म कमाइ हुन्छ । कुनै दिन ५ सयमै चित्त बुझाउनुपर्छ । पेटीकोट १ सय, चोली ३ सय, ब्लाउज २ सय, दौरा–सुरुवाल ६ सय र स्टकोट ५ सयमा सिलाउँछु । गाउँमा अझै बालीघरे प्रथा कायमै भएकाले केहीले त नगदको सट्टा अन्न पनि दिन्छन् । 

कपडा सिलाएर नै खाडाचक्र–३ ताडी बजारमुन्तिर जग्गा किनेँ । घर बनाएँ । घर बनाउँदा र छोराछोरीलाई लत्ताकपडा, खानपिन र औष्िाधमूलो गर्दा ११ लाख ऋण लागेको छ । गाउँका केहीले बाँकी राखेको उधारो र सापटी फिर्ता गर्दिए त आधा ऋण घट्ने थियो । पुराना घर भएको चिउरेला दमाई टोल पुग्न दुई घण्टा ओरालो हिँड्नुपर्छ । जग्गा किनेर घर बनाएपछि पाण्डे टोलको बासिन्दा भएको छु । 

मैले ४० हजारमा किनेको जग्गा अचेल ५ लाख पर्छ । खाडाचक्र–३ मा दलित नभएकाले मेरो परिवारको मतदाता नामावली यही वडामा सारेको छु । यस वडामा ०७९ को स्थानीय चुनावमा मेरी जेठी पत्नी मुगा दमाई दलित महिला सदस्यमा चुनाव लडेर जितेकी छन् । दलित समुदायका अधिकांश व्यक्तिको जग्गा–जमिन धेरै नहुने भएकाले अर्काकै भरमा बाँच्नु पर्दा जातीय विभेद पनि सहनुपर्ने रहेछ । 

प्रस्तुति : तुलाराम पाण्डे

मैमा

Link copied successfully