'दलित समुदायका अधिकांश व्यक्तिको जमिन धेरै नहुने भएकाले अर्काकै भरमा बाँच्नुपर्दा जातीय विभेद पनि सहनुपर्ने रहेछ'
कालीकोट — पाँच वर्षदेखि दमको रोगी भएकाले उकालो–ओरालो हिँड्न सक्दिनँ । स्वाँ–स्वाँ भएर बिताउँछ जस्तो हुन्छ । टाढा जाने अवस्था नभएकाले घरनजिकको ताडी बजारमा ३५ हजार खर्च गरेर जस्तापाताले घेरेर घुम्टी पसल बनाएको छु । त्यसमै बसेर फाटेका टाला सिउँछु ।
ज्याला सस्तो भएकाले कहिलेकाहीँ नयाँ कपडा सिलाउन भनेर पनि मानिसहरू आउँछन् । यही सिलाइकटाइ गरेर दुइटी श्रीमती, तीन छोरा र एक छोरीको परिवारका लागि घरखर्च जुटाइरहेको छु । दमले च्यापेका बेला सुँघ्ने औषधि पनि यही लुगाफाटा सिएर जोहो गर्छु । सोझै भन्दा दमको ओखती किन्न फाटेका टाला सिउँछु ।
खाडाचक्र–४, दमाइबाडामा घर छ । अहिले ५२ वर्षको भएँ । १९ वर्षमात्र पुगेका बेला दम रोगले आमा बितिन् । त्यसपछि बुवाले कान्छी श्रीमती भित्र्याए । मेरी आमापट्टिबाट ममात्र जन्मिएँ । कान्छी आमाबाट ५ भाइबहिनी छन् । बुवा अहिले ७३ वर्षको हुनुभयो । उनीहरू अलग्गै बस्छन् । जेठो छोरो भएकाले सानैदेखि बुवाको पछिपछि हिँड्थेँ । बुवा बाजा बजाउन जाँदा त्यतै जान्थेँ । पढ्नुपर्छ भन्ने चेत भएन । गाउँमै स्कुल भएकाले तत्कालीन जनजीवन स्कुलमा भर्ना भएँ ।
स्कुल जाँदा पनि केही जान्दैनथेँ । जेनतेन ३ कक्षासम्म पुगेँ । फेल भएपछि घरमा गाली गर्नुभयो । अचेलको जस्तो स्कुलमै अन्नी (दिवा खाजा, दलित छात्रवृत्ति, निःशुल्क किताब) पाइने भए त म पनि पढ्थेँ होला । भोक लाग्थ्यो । भागेर घर आइहाल्थेँ । बुवा गाउँमा कसैको घरमा बाजा बजाउन गएको थाहा पाए स्कुलबाट भागेर त्यहीँ पुग्थेँ । स्कुलमा फेल भएपछि बुवाले पढाउन सकिँदैन भनेपछि स्कुल छाडेँ ।
गाउँमा हुने उच्छा मैला (विवाह, जन्म, मेला जात्रा र मृत्यु) मा बाजा बजाउने काममा लागेँ । त्यतिबेला अचेलका जस्ता कपडा सिउने मेसिन थिएनन् । सियो र धागोले कपडा सिउन सिकेँ । बाजा बजाउन त सानैदेखि आउँथ्यो । केही समय त्यही काम गरेँ ।
१३ वर्षको भएपछि शुभकालिका–४ की १२ वर्षकी मुगा नेपालीलाई भगाएर बिहे गरेँ । उनीबाट सन्तान जन्मिएनन् । त्यसपछि २३ वर्षको उमेरमा काली दमाईसँग विवाह गरेँ । उनीबाट ३ छोराछोरी छन् । दुःखसुख गरेर तीनै छोरा पढाइरहेको छु । जेठो रज १०, माहिलो दमन ७ कक्षामा गाउँकै जनजीवन माविमा पढिरहेका छन् ।
कान्छो दारासिंह खुट्टाको अपांग छ । ऊ घरनजिकैको एडभान्स एकेडेमी बोर्डिङ स्कुलमा यूकेजीमा पढिरहेको छ । कान्छो छोराको खुट्टाको उपचार गर्न भनेर ५ वर्ष सुर्खेत धाएँ । सन्चो भएन । ५ लाख ऋण मात्र लाग्यो । सिलाइकटाइको व्यापार मात्र चौपट भयो । जेठी छोरीले ७ कक्षासम्म पढी । १४ वर्ष पुगेपछि भागेर बिहे गरी । अहिले एक नातिनी र श्रीमानसहित मसँगै बस्छन् ।
मैले गाउँमा कपडा सिलाउँदा पेट पाल्न पनि मुस्किल भएकाले सुरुमा मान्म बजारमा कपडा पसलको बाहिर बसेर सिलाएँ । त्यसपछि ०६५ देखि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक संचालनमा आएपछि ताडी बजारको बसपार्कको छेउमा आफ्नै टिनको टहरो (घुम्टी) बनाएर नयाँ सिउने र पुराना कपडा टाल्ने काम गर्दै आएको छु ।
पहिले हातले कपडा तुनेर सिउने गर्थें । अचेल कल (मेसिन) आएको छ । कमाइ राम्रै हुन्छ । कहिलेकाहीँ दिनमा २ हजारसम्म कमाइ हुन्छ । कुनै दिन ५ सयमै चित्त बुझाउनुपर्छ । पेटीकोट १ सय, चोली ३ सय, ब्लाउज २ सय, दौरा–सुरुवाल ६ सय र स्टकोट ५ सयमा सिलाउँछु । गाउँमा अझै बालीघरे प्रथा कायमै भएकाले केहीले त नगदको सट्टा अन्न पनि दिन्छन् ।
कपडा सिलाएर नै खाडाचक्र–३ ताडी बजारमुन्तिर जग्गा किनेँ । घर बनाएँ । घर बनाउँदा र छोराछोरीलाई लत्ताकपडा, खानपिन र औष्िाधमूलो गर्दा ११ लाख ऋण लागेको छ । गाउँका केहीले बाँकी राखेको उधारो र सापटी फिर्ता गर्दिए त आधा ऋण घट्ने थियो । पुराना घर भएको चिउरेला दमाई टोल पुग्न दुई घण्टा ओरालो हिँड्नुपर्छ । जग्गा किनेर घर बनाएपछि पाण्डे टोलको बासिन्दा भएको छु ।
मैले ४० हजारमा किनेको जग्गा अचेल ५ लाख पर्छ । खाडाचक्र–३ मा दलित नभएकाले मेरो परिवारको मतदाता नामावली यही वडामा सारेको छु । यस वडामा ०७९ को स्थानीय चुनावमा मेरी जेठी पत्नी मुगा दमाई दलित महिला सदस्यमा चुनाव लडेर जितेकी छन् । दलित समुदायका अधिकांश व्यक्तिको जग्गा–जमिन धेरै नहुने भएकाले अर्काकै भरमा बाँच्नु पर्दा जातीय विभेद पनि सहनुपर्ने रहेछ ।
प्रस्तुति : तुलाराम पाण्डे
