What you should know
डडेल्धुरा — कमाउँला, मिठो खाउँला, राम्रो लाउँला भन्दा भन्दै उमेर गइगयो । ठूला सपना थिएनन् र अहिले पनि छैनन् । मजस्ता बेरोजगारलाई एक दिन मजदुरी पाए त्यही ठूलो उपलब्धि हुँदो रहेछ । श्रम गर्ने हो । हातपाउ खियाउने हो । जति सकिन्छ दुःख गरेर दुई–चार पैसा कमाएर परिवार पाल्न सकुँ । सपना, चाहना, उद्देश्य जे भए पनि यतिमात्र हो ।
अहिले ५० वर्ष पुगेँ । यति लामो जिन्दगीको यात्रामा ढुक्कले स्वास फेरेर जहान परिवारसित हाँसीखुसी बोलेको कुनै सम्झना छैन । कहिलेकसो जबरजर्स्ती ओंठमा मुस्कान ल्याउँछु । काम खोज्दै यो जुनी जान लाग्यो । मजस्ताका लागि आराम गर्ने दिन कहिले आउला र ?
बैतडीको सिगास गाउँपालिका–२, गाँजरीमा जन्मिएको हुँ । जन्मिँदा आमा–बुवा खुसी हुनुभयो होला । जहिलेदेखि मेरो चेत आउन थाल्यो, त्यसपछि मैले गाउँले जीवनको दुःख बुझेँ । अनि अभावको जिन्दगी बाँच्न मन लागेन । २०–२२ वर्षको उमेरमा मजदुरी गर्न भनेर भारत पुगेँ । गाउँबाट कमाउन भारत जाने परम्परै थियो । मैले पनि पहिलोपटक परदेश जाँदा मनभरि ‘धेरै पैसा कमाउने’ सपना पालेको थिएँ । दुःख गरेर भए पनि पेटभरि खान पाउने आशा थियो । जब, भारत पुगेँ, अनि पो बुझेँ, ‘दुःख त सबै ठाउँमा उस्तै हुने रहेछ ।’ त्यहाँ पनि मजदुरी गरेँ । इँटा–बालुवाको भारी बोकेँ । दुई–चार पैसा कमाएँ, अनि फेरि गाउँ फर्किएँ ।
लामो समय जिल्लातिरै मजदुरी खोज्दै गुजारा गर्न थालेँ । अहिले मसँगै दुई छोरा, एक छोरी र श्रीमती छन् । उनीहरूको लालनपालनको जिम्मेवारी छ । आफ्नो जिल्लामा मिहिनेत गरेर नपुगेपछि डडेल्धुरा आएको हुँ । पाँच वर्षदेखि यहीँ सदरमुकाममा काम गर्दै आएको छु । यहाँका पसल, गोदाम, निर्माणधीन घरमा काम गर्दै दिन काटिरहेको छु । ग्यासको सिलिन्डर होस् कि सिमेन्टको बोरा, छड, चामल, दाल, जे भए पनि बोकेर घरमा पुर्याउनेदेखि गाडीमा लोड/अनलोड गर्ने काम गर्छु । यसैलाई यहाँ ‘लेबरी काम’ भन्छन् ।
डडेल्धुरा सदरमुकाममा एउटा सानो कोठा भाडामा लिएको छु । महिनामा दुई हजार रुपैयाँ तिर्छु । बिहान उठेर सामान्य चिया खाएर दिनको सुरुवात गर्छु । कहिलेकाहीँ ग्यासमा दालभात पकाउँछु । कहिले रोटी पाक्छ । हतार भएका बेला चिउरा चपाएर काममा जानु पर्छ । यस्ता हतारका धेरै दिन हुन्छन् ।
मिठो मसिनो खाने रहर छैन भन्न सक्दिनँ, तर त्यो रहरको साटो पेटभरि अन्न भए पुग्छ भन्ने बानी परेको छ । कहिलेकाहीँ त दिनभरि काम गरेर फर्केपछि भात पकाउन चामल नभएर चाउचाउ उमालेर खाएको दिन सम्झिन्छु । तर कहिले त चामल पनि छैन, बाँकी ग्यास छैन, पैसा छैन । त्यसबेला नजिकैको पसलबाट उधारो चामल ल्याउँछु र खाना बनाउँछु । कमाइ स्थिर हुँदैन । कुनै दिन १५ सय रुपैयाँ पनि कमाइ हुन्छ । धेरै कमाएका दिन संसारकै सबैभन्दा खुसी मै हुँ जस्तो लाग्छ । यस्तो खुसीको आयु लामो हुँदैन । दिनको कमाइ सरदर ३/४ सय रुपैयाँजति हो । त्यसैबाट बिहानको चिया, दिउँसोको खाना र बेलुकाका लागि नुनतेल जोहो गर्छु । अचेल भारी ओसारपसारका लागि बजारमा जति पनि विकल्प छन् । त्यसैले खासै कमाइ हुँदैन ।
सबैभन्दा दुःखको कुरा त कहिलेकाहीँ काम नै मिल्दैन । बिहान ७ बजे काम खोज्दै निस्किन्छु, दिनभर बजार डुलेर बेलुका रित्तो हात पनि फर्किनुपर्छ । त्यस्ता दिन चिसो पानी पिएरै सुत्नु परेको छ । भोलिको ज्याला आउने आशामा पेट सुम्सुम्याउँदै निदाउने गरेको छु । पैसा बचत भयो भने कहिलेकाहीँ घर जान्छु । यहाँबाट गाँजरी जान हिँड्नु पर्छ । त्यसैले बाटो खर्च चाहिन्न । कहिलेकाहीँ डडेल्धुरामा भेटिएका गाउँका मान्छेहरूको हातमा श्रीमतीका लागि केही खर्च पठाउँछु ।
अहिले छोराछोरी पढ्दैछन् । म भने स्कुल जान पाइनँ, जिन्दगी स्कुलजस्तै बन्यो । दिनभर घाममा काम गर्नु, रातमा रोटी चपाउनु, अनि भोलिको चिन्ता बोकेर सुत्नु । यही मेरो शिक्षा भयो ।
जीवनको स्वाद त नुनिलो छ । मिठो मसिनो भन्ने कुरा कहिलेकाहीँ सपना लाग्छ । तर त्यसैमा पनि आत्मसन्तोष खोज्न थालेको छु । मलाई थाहा छ, म कसैको साहु होइन, मालिक होइन । तर म पसिना बेचेर इज्जतको रोटी कमाउने मान्छे हुँ । जीवनले कहाँ पुर्याउँछ, थाहा छैन । तर जबसम्म ममा श्वास छ, तबसम्म यो बोझ बोकिरहन्छु । अनि राति भोकै सुत्दा पनि भोलिपल्ट बिहान उठेर फेरि चामलको बोरा बोक्न तयार हुन्छु ।
प्रस्तुति : तर्कराज भट्ट
