'फुर्सद भयो कि घरबाट सारङ्गी बोकेर हिँडिहाल्छु,महिनाभरि डुल्न पाएँ भने अन्नपात र नगद गरेर ८० हजारसम्म कमाउँछुुु'
What you should know
नवलपुर — मकै रोपेर सकेपछि सारङ्गी बोकेर घरबाट निस्किएको हुँ । मेरा लागि मकै खेती र सारङ्गी दुवै महत्त्वपूर्ण छन् । झमझम पानी पर्न थालेपछि घर फर्किनुपर्छ ।
दाङको घोराही उपमहानगरपालिका–१२ मा बसोबास छ । अहिले ३३ वर्षको भएँ । सारङ्गी रेटेर गाउँघर डुल्न थालेको पनि २० वर्ष भइसक्यो ।
सारङ्गी बोकेर बुवाको पछिपछि हिँड्दा त्यस्तै १३ वर्षजतिको मात्रै थिएँ । अलि बुझ्ने भएपछि साथीभाइसँग हिँडियो । सुरुमा हाम्रो समूह थियो । बिस्तारै केही साथीहरू विदेशतिर लागे । यसरी डुल्नुको एउटा काइदा भनेको नेपाल घुम्न पाइन्छ । घुम्दै, गाउँदै, मनोरञ्जन प्रदान गर्दै धेरै जिल्लामा डुल्न पाएँ ।
सारङ्गी रेटेर डुल्दै हिँड्नु हाम्रो पुर्ख्यौली पेसा हो । मेला/पर्वमा हाम्रो पुस्ताले समाजको खबर र व्यथालाई गीतमार्फत प्रस्तुत गर्थे । विभिन्न दुर्घटना, कुरीति तथा कुप्रथाबारे सञ्चारमाध्यमले जस्तै गरेर हामीले गीतमार्फत खबर पुर्याउने गर्थ्यौं । अहिले पुरानो समय छैन । अहिले बस्ती अनुसारको गीत गाउनु पर्ने समय आयो । अहिले त झन् र्याप शैलीमा गाउँदा खुसी हुन्छन् । म पनि समाज हेरेर कहिले लोक त कहिले भजन गाउँछु ।
राजनीतिक दलका नेता र यिनका गतिविधिबारे श्रोता र दर्शकलाई सोधेर मात्र गाउने गरेको छु । कोही त खुसी भएर नगद, चामल र तरकारी दिनुहुन्छ । केहीले अन्न मात्र दिन्छन् । पेसा गीत गाउने भएकाले आफू बसेको स्थानका मानिसको रुचि र चाहना अनुसार गाउने गरेको छु । स्कुल भर्ना भएर ५ कक्षासम्म पढेँ । अक्षर चिनेपछि स्कुल जानै छाडिदिएँ ।
फुर्सद भयो कि घरबाट सारङ्गी बोकेर हिँडिहाल्छु । दिनभरि डुलेर दिनमा कहिले एक हजार त कहिले दुई हजार कमाइ हुन्छ । बजारमा नगद दिन्छन् । गाउँघरमा प्रायः अन्न धेरै पाइन्छ । उहाँहरूले जे दिनुहुन्छ, त्यही स्वीकार्छु । यो देऊ, त्यो देऊ भनेर फेरि माग गर्न पनि मिल्दैन । बजारमा चहलपहल भएका दिन तीन हजारसम्म कमाइ हुन्छ ।
महिनाभरि डुल्न पाएँ भने अन्नपात र नगद गरेर ३० हजारदेखि ८० हजारसम्म कमाउँछु । बाहिरफेर हिँड्दा होटलमा बस्ने र खाने गर्दछु । सबै खर्च कटाएर महिनामा ४०/५० हजार बचाउने गरेको छु । कडा मिहिनेतपछि कमाइ हुने हो । कमाइजति छोराछोरी, परिवार र घर बनाएको ऋण तिर्न ठिक्क हुन्छ । छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सकेकामा धेरै खुसी छु । यसरी भएको कमाइबाट गाउँमा रहेको पुरानो घरलाई मर्मत गरेको छु भने ४ कोठाको पक्की घर पनि बनाएको छु । एक छोरा, एक छोरी र श्रीमतीका न्यूनतम आवश्यकता पूरा गर्न सहजै पुगेको छ ।
दुई दशकका दौरान मुलुकका ७५ जिल्लामा टेकिसकेको छु । हिमाली क्षेत्रमा धेरै बस्ती पुग्न सकिँदैन । त्यस्ता जिल्लाका सदरमुकाममा बसेर मात्र गीत गाएको छु । तराई र पहाडी जिल्लाका बजार र ग्रामीण क्षेत्रसम्म पुगेको छु । जहाँ जान्छु, त्यही परिवेश अनुसारको गीत तयार गरेर सुनाउने गर्दछु । सीप र जाँगर भयो भने अरूको देशमा गुलामी गर्नु पर्दैन, यहीँ पुर्ख्यौली पेसा गरेर पनि जीविका चलाउन सकिन्छ भन्ने मेरो मान्यता हो ।
मेरो छोराले यो पेसा गर्ला/नगर्ला– अहिल्यै भन्न सक्दिनँ । तर, यही पेसालाई आधुनिक तबरबाट गर्न सकियो भने विदेश नै पलायन हुनु पर्छ भन्ने मलाई लाग्दैन । हामी तीन दाजुभाइ नै यही पेसामा रमाएका छौं । मैले आफू गाउँगाउँ डुलेर भए पनि परिवारलाई खुसी राख्ने प्रयास गरेको छु । अब एउटै इच्छा भनेको छोराछोरीले राम्रो पढाइ गरुन् र उनीहरूकै नामबाट चिनिन पाइयोस् भन्ने छ ।
प्रस्तुति : नवीन पौडेल
