What you should know
ताप्लेजुङ — छोरा–नाति पढाउन सजिलो हुन्छ भनेर सदरमुकाम छेउ फुङलिङ नगरपालिका–८ मा बसोबास गर्न आयौं । खरिद गरेर आउने उपाय थिएन । त्यही भएर बुढाबुढीले सल्लाह गरेर बजार छेउमा अधियाँमा जग्गा खोज्यौं ।
पूर्णबहादुर सुनुवारले अधियाँमा जग्गा दिने भए । पाँच वर्षअघि यहाँ आउँदा दुम्सीको अलिअलि पिर थियो । थोरैथोरै मकै खाइदिन्थ्यो । घर छेउकै सडकबाट गाडी गुड्छन् । त्यसैले बजार छेउ आनन्दले बस्न पाइने भयो भन्ने मनमा लागेको थियो । तर, तीन वर्षयता ढेंडु र राते बाँदरको आतंकले बस्नै नसक्ने अवस्थामा पुगिसकियो । म २०१४ सालमा जन्मिएको हुँ । अहिले खुट्टामा पनि अलिअलि समस्या छ ।
बाली पाक्ने बेला भयो कि दिनरात ढेंडु बाँदर रुँगेर बित्छ । पाँच हल गोरुले दिनभरि जोत्न पुग्ने अधियाँको जग्गा छ । वन्यजन्तुको आतंक नभइदिएको भए मेरो पाँच जनाको परिवारलाई यही बारीमा उत्पादन भएको अन्नले मजाले पुग्थ्यो । वर्षमा २० मुरीजति धान फल्छ । मकै पनि १० मुरीजति भइहाल्छ । साहुसँग आधा/आधा बाँड्दा पनि खान पुग्थ्यो । सागसब्जी यहीँ उत्पादन हुन्थ्यो । अलिअलि नुन, तेल, मरमसला किन्दा त परिवार चल्थ्यो । तर, बिहान उज्यालो भएदेखि बेलुकासम्मै बाली रुङ्नु पर्दा पीडा भएको छ ।
परिवारलाई बिहान र बेलुका गर्दा एक किलो चामल चाहिन्छ । बुढाबुढी बस्ने घर भएकाले पाहुनापाछा आउँछन् । उनीहरूलाई राम्रो खान दिनुपर्छ । साइनो सम्बन्ध हेरेर दुई चार पैसा खर्च पनि दिनुपर्छ । आफैंले अन्न फलाउँदा, आफैंले तरकारी फलाउँदा पनि महिनामा आठ/दश हजार रुपैयाँ त खर्च पनि भइहाल्छ । तर राम्रै भए त कुखुरा, सुँगुर, बाख्रा, गाई पाल्दा आम्दानी पनि हुन्छ । गाउँमा बस्नेलाई खर्च र आम्दानी उस्तै उस्तै हुन्छ । तर पछिल्ला वर्ष वन्यजन्तुको पीडा सहन सकिएन । बिहान उज्यालो हुँदा जुरुक्क उठेर खेतमा आउनु पर्छ ।
अहिले मकै पाक्ने सिजन छ । एक पटक मात्रै बाँदरको हुल पस्यो भने एक हल मेलोको मकै सिध्याइदिइ हाल्छ । बाँदरले मकै भाँचेर बोक्छ र रुखमा चढेर मैलाई देखाएर खान्छ । माथि माथि रुखमा ढुंगा पुर्याउन सकिँदैन । मेरो घर छेउमा अहिले एक डेढ सय ढेंडुको जत्था छ । मेरो छिमेकी र मलाई साह्रै दुःख दिएको छ । मार्न पनि पाइँदैन । यसले गर्दा कमाइखाने बाली सखापै पारिदिन्छ । श्रीमान् श्रीमती दिनमा बिहान, दिउँसो र बेलुका गरी दुईदेखि तीन तोङ्वा खान्छौं ।
वन्यजन्तुले दुःख नदिए त आफैंले उब्जाएको अन्नले पनि बुढाबुढीलाई पुग्थ्यो । कुखुरा, बाख्रा पनि आफैं पालेका छौं । मासु खाँदा पनि तिनलाई बिक्री गर्दा सापोनापो हुन्छ । चाडबाड र पाहुना आउँदा जाँदा अलिक ठूलो खर्च हुन्छ । नपुगेको खर्च छोराहरूले पनि सघाउँछन् । मेरा तीनमध्ये एउटा छोरो दक्षिण कोरियामा छ । अर्को नेपाली सेनामा छ । अर्को काठमाडौंमा व्यवसाय गर्छ । छोरीहरू पनि यता बजारतिर पनि छन् । विदेशमा पनि छन् । छोराहरू घर आउँदा, छोरीहरू माइती आउँदा चिनी, चियापत्ती, मरमसला लिएर आउँछन् ।
छोराछोरीले बाबुआमाले खायो खाएन भनी हेर्छन् । गाउँमा बस्दा खासै किनेर खानुपर्ने कुरा धेरै हुँदैन । मुन्टा, गट्टा, काँक्रा, घिरौला बिक्री गर्छु भन्दा पनि बजार नजिकै छ । आफूलाई टार्ने खर्च आउँछ । तर वन्यजन्तुको पीडा असैह्य हुने रहेछ । मकैमा सुत्ला लाग्न थालेदेखि नै च्यात्न थाल्छ । धान वाला लागेपछि खेतमा पस्यो भने सबै थुतिदिन्छ । छोराछोरी, छरछिमेकी, इष्टमित्रबाट राम्रो सहयोग पाएको छु । कसैसँग गुनासो छैन । तर ढेंडु बाँदरले नै असैह्य पीडा दियो । सभा, सम्मेलन, कार्यक्रमतिर गएर पनि यसलाई रोक्ने उपाय देऊ न भन्छु, खोइ कसैले केही उपाय दिएको छैन ।
मेरिङदेनबाट बसाइँ सरेर आउँदा साथीभाइले तैले त सुख पाउने भइस् भन्थे । एक वर्ष त धन्न बसाइ आएँछु पनि भनेँ । तर अहिले जनावरको आतंकले घरखर्च धान्न, साथीभाइलाई भन्न साह्रै गाह्रो भयो । पानी पर्दा होस् कि घाम चर्किंदा होस्– असोजदेखि मंसिरसम्म र वैशाखदेखि असारसम्म यही खेतमा बिताउनु परेको छ । छोराछोरी सरकारी स्कुलमा पढे । सरकारीमा पढ्दा त खासै खर्च पनि आउँदैन रहेछ ।
प्रस्तुति : आनन्द गौतम
