What you should know
सुर्खेत — कक्षा ११ पढ्दा पढ्दै बिहे गरेँ । बिहेपछि पनि ११ कक्षाको परीक्षा दिएँ । १२ कक्षासम्म पढेँ । तर नतिजा राम्रो आएन । अहिले फेरि परीक्षा दिएर १२ कक्षाको नतिजा पर्खिरहेकी छु ।
बिहे भयो भन्ने मात्र हो । सिन्दुर–पोते केही गरिएको छैन । २०७७ को चैत अन्तिमतिर बिहे भए पनि सम्बन्ध राम्रो भएन । अहिले माइतीमै बस्छु । वीरेन्द्रनगर नगरपालिका–७ मा बसोबास छ । हजुरबुवा–आमा, आमा–बुवा, भाइहरू र म सँगै छौं ।
कलिलो उमेरमा गरेको बिहेको निर्णय पाको भएन । माइतै बसे पनि गुजाराका लागि वीरेन्द्रनगरको भानुपार्क छेउ ठेलामा व्यापार गर्छु । ठेलामा चाउचाउ, कुरमुरे, दालमोठ, चकलेट लगायत खानेकुरा राखेकी छु । चटपटे र पानीपुरी पनि बेच्छु । यस्तै–यस्तै गरेर घरखर्च जोहो गरिरहेकी छु ।
बुवा प्रहरी कार्यालयमा कार्यालय सहयोगी हुनुहुन्छ । अहिले सुर्खेतमै कार्यरत हुनुहुन्छ । मभन्दा पछिको भाइ भारतमा मजदुरी गर्छ । ऊ पनि पढइ छाडेर भारत पस्यो । अर्को भाइ अहिले ७ कक्षामा पढ्दै छ । घरमा त्यत्तिकै बस्दा खर्च चलाउनै मुस्किल भएपछि खुद्रा व्यापार सुरु गरेकी हुँ । केही काम नगरी बस्दा मानसिक रुपमा पनि गाह्रो भयो । मनमा अनेक कुरा खेल्ने, छटपटिने हुन्थ्यो ।
आफैंले केही गरेर आत्मनिर्भर बन्नेबारे सोचिरहेकी थिएँ । अलिकति भए पनि खर्च निकाल्नपर्छ, जस्तोसुकै भए पनि व्यवसाय गर्नुपर्छ भन्ने लागेर मैले यो काम सुरु गरेकी हुँ । सुरुमा आमाले जिल्लास्थित दलित महिल संघ (फेडो) सित जोडिदिनुभयो । उहाँहरूले दिएको तालिममा बसेँ । तालिमका क्रममा आत्मनिर्भर बन्नुपर्छ, हिंसा सहेर बस्नु हुँदैन भन्ने कुरा सिक्ने मौका पाएँ । त्यसले पनि केही गर्ने प्रेरणा जाग्यो ।
सुरुमा संस्थाबाट मैले ३५ हजार रुपैयाँ पनि ऋणस्वरुप पाएँ । समूह बनाएर बाँडेको पैसाले ठेला र केही सामान किनेर व्यापार सुरु गरेकी हुँ । गत पुस ४ बाट यो व्यापार थालेकी हुँ ।
व्यापार सुरु गरेबाट मैले राम्रैसँग घरखर्च चलाइरहेकी छु । पैसाले पुग्ने कुरा त भएन । तर पनि आफूले आफ्नो र घरको सामान्य खर्च धानिरहेकी छु । व्यापार राम्रो भएको दिन ३२ सयसम्म कमाउँछु । ठिकठिकै व्यापार भएको दिन २ हजार र कमै भएको दिन १ हजारदेखि १५ समयसम्म हुन्छ । केही नभएको मलाई यो व्यापारले धेरै सहयोग पुगेको छ ।
आफूसँग केही नभएको समय भोगेर आएकाले पनि होला– मलाई त यो धेरै राम्रो लागिरहेको छ । सानैबाट केही गर्न पाए हुने भन्ने लाग्थ्यो । अहिले आफ्नो सपना पूरा भएजस्तो लाग्छ । अझै सपनाहरू त कत्ति छन् कत्ति ! हामी सामान्य मान्छेका सपना पनि सामान्य नै हुन्छन् । आफूले लगाउन र खान मन लागेको कुरामा पछि हट्नु परेको छैन । यसले पनि खुसी दिएको छ ।
संस्थाको समूहबाट लिएको सबै पैसा फिर्ता गरिसकेकी छु । एउटा संस्थामा दिनको २ देखि ५ सयसम्म जम्मा गर्ने गरेकी छु । अरु आफूले खर्च गर्छु । घरमा चाहिने घरखर्चका लागि पनि भएको बेला दिन्छु । अलिक ठूलो पैसामा खर्च गर्न परे बुवाले गर्नुहुन्छ । घरमा तरकारी, नुन, तेल लगायतका घरायसी सामान मैले नै किनेर ल्याउँछु । मिठोमसिनो पनि यही व्यापारले खान पुगेको छ । चामल किन्न परे बुवा र म मिलेर किन्छौं ।
बुवाको एक जनाको कमाइले कति नै पुग्छ र ! त्यसैले मिलेर खर्च गर्छौं । पहिले आमाले पनि फलफूलको व्यापार गर्नु हुन्थ्यो । पछि पायल्सको बिरामी भएर औषधि उपचार गर्नपर्यो । अनि नसकेर त्यो काम छोड्न भयो । अचेल जति कमाए पनि खर्च पुग्दैन । हामी सामान्य कमाउनेलाई पुग्ने कुरै भएन । १ सय रुपैयाँभन्दा तलको तरकारी केही पाउँदैन । जताकतै खर्च छ । परिवारमा आमा बिरामी हुनुहुन्छ । अरु पनि कोही न कोही बिरामी भए पैसा, खानमा पैसा, लगाउनमा पैसा, एउटा भाइ पढिरहेको छ । जताततै पैसा खर्च हुन्छ । कमाइ भन्दा बढी खर्च छ ।
सुरुमा वीरेन्द्रनगरकै एक मार्टमा १ वर्ष काम गरेँ । महिनाको ८ हजार तलब मिल्थ्यो । त्यसले खर्च पुगेन । भनेको बेला बिदा पाइँदैन थियो । बिदा बस्दा पैसा काट्थे । अरुकोमा काम गर्न भन्दा आफ्नै गर्न सहज हुने रहेछ । पहिले भन्दा अहिले धेरै राम्रो भएको महसुस हुन्छ । आफ्नो तरिकाले सञ्चालन गर्न पाएकी छु, सानै भए पनि । खुसी लाग्छ । अहिले आत्मनिर्भर हुँदैछु भन्ने पनि लाग्छ । समूहको पैसा दिइसकेपछि अब पैसा केही बचत हुन्छ कि जस्तो लागेको छ ।
जेनतेन जिन्दगीको गुजारा चलेको छ । राम्रो हुँदै गयो भने व्यापार बढाउने सोचिरहेकी छु । मैले केही महिना पार्लरको पनि काम सिकेकी हुँ । ४ वर्षअघि २०७८ मा बुवाले ३० हजार लगानी गर्दिएर सिकेकी हुँ । तर व्यवसाय गर्ने पैसा नभएर रोकिएँ । अरुकोमा काम गर्दा ३५ सय बढी पाउन सकिनँ । अनि १ महिना मात्र काम गरेर छोडेँ । त्यतिबेला पैसा नभएर पार्लर खोल्न नसकेको पिर अझै मनमा छ । त्यतिबेला पार्लर खोल्ने पैसा भएको भए अहिले जिन्दगी अर्कै बनिसक्थ्यो । तर के गर्नु, पैसा भएन । त्यसैले हच्केर बस्नुपर्यो ।
कमाइ राम्रो भयो भने आफ्नै पार्लर खोलेर बस्ने मन छ । त्यसअघि ठेलाको व्यापारलाई भाडाको सटरसम्म पुर्याउने ठूलो धोको छ ।
प्रस्तुति : तृप्ति शाही
