[अर्काइभ] सभामुखको त्यो रुलिङ : ‘सांसदमाथि हातपात हुँदैमा बैठक रोकिँदैन’

असार २१, २०८२

कान्तिपुर संवाददाता

[Archive] That Ruling of the Speaker: 'The meeting does not stop if the MP is touched'

काठमाडौँ — अहिले पनि सांसदहरूमाथि हातपात र दुर्व्यवहार भएका घटना यदाकदा सुनिने गरेका छन् । यस्ता घटना अहिले मात्र होइन, ३२ वर्षअघि पनि हुन्थे । २०५० चैत २३ गते सिंहदरबार संसद् भवनअगाडि कांग्रेस सांसद बसन्तकुमार गुरुङमाथि महोत्तरीका रामबाबु यादवले हातपात गरेका थिए । त्यसको विरोधमा प्रतिनिधिसभामा सांसदहरूले संसद् बैठक नै स्थगित गर्न माग गरेका थिए ।

उनीहरूले सांसद गुरुङमाथि भएको हातपातको विषयमा गृहमन्त्री शेरबहादुर देउवाले नै सदनलाई जानकारी गराउनुपर्ने माग गरेका थिए । गृहमन्त्रीले यथार्थ जानकारी नदिएसम्म सांसदहरूले बैठक स्थगित गर्नुपर्ने प्रस्ताव नै दर्ता गरेका थिए । कांग्रेसका सांसद गम्भीरजंग कार्की प्रस्तावक र कांग्रेसकै छविप्रसाद देवकोटा समर्थक रहेको उक्त प्रस्तावलाई सभामुख दमननाथ ढुंगानाले रुलिङ गरेर छलफल गराउन दिएनन् । सांसदद्वयले गृहमन्त्री देउवाले घटनाका विषयमा स्पष्टीकरण नदिएसम्म बैठक स्थगन गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

सांसद गुरुङ संसद् बैठकमा पस्न लाग्दा रामबाबुले पास मागेका थिए । गुरुङले पास भित्रबाट ल्याउने भन्दै अघि बढ्दै गर्दा उनीमाथि रामबाबुले पछाडिबाट प्रहार गरेका थिए । सांसद गुरुङले आक्रमण गर्ने व्यक्ति नचिनेको बताएका थिए । प्रहरी नियन्त्रणमा रहेका रामबाबुले भने कांग्रेसको क्रियाशील सदस्यता दिन रोक लगाएको आरोप सांसद गुरुङमाथि लगाएका थिए । 

उक्त घटनालाई लिएर कांग्रेसभित्रै विपक्षीका रूपमा चिनिएका सांसदहरूले बैठक बसेर आफूहरूमाथि सुनियोजित आक्रमण गर्ने संकेत भएको निष्कर्ष निकालेका थिए । खासगरी कांग्रेसभित्रको द्वन्द्वका कारण सांसदहरू दुई भागमा विभाजित थिए । विद्रोही सांसदहरूको बोली पनि सरकारविरुद्ध बढी नै आक्रामक हुने गरेको थियो । 

विपक्षी दलका नेता मनमोहन अधिकारीले सांसदमाथि भएको यसप्रकारको घटनाले संसदको मर्यादा हनन भएको र मुलुकको शान्तिसुरक्षा कति कमजोर छ भन्ने ज्वलन्त उदारहण देखिएको बताएका थिए । 

राष्ट्रियसभा बैठकमा पनि विपक्षी दलका नेता माधवकुमार नेपालले सांसदमाथि भएको घटनाको निन्दा गरेका थिए । सभामुख ढुंगानाले भने यो घटनाको छानबिन संसद् सचिवालयले गर्ने बताएका थिए । उनले संसद् बैठक सञ्चालनका क्रममा भनेका थिए, ‘घटना सुनियोजित भए संसद्ले विचार गर्नेछ ।’ 

सत्तापक्षीय सांसद लोकराज जोशी र ध्रुव शर्माले यस्ता घटनालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । उनीहरूले सरकारको बढी आलोचना गरेका थिए । सत्तापक्षका सांसद पूर्णबहादुर खड्काले व्यंग्यात्मक शैलीमा भनेका थिए, ‘हाम्रो बोली बदलिएको छैन । शैली मात्र बदलिएको हो ।’ 

सांसदमाथि भएको हातपात र यसका विरुद्ध सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभामा राखेका धारणामा केन्द्रित भएर तयार गरेको ‘सदन हातामै सांसद कुटिए’ शीर्षक समाचार कान्तिपुरले २०५० चैत २४ मा प्रकाशित गरेको थियो । 

गुरुङमाथि भएको दुर्व्यवहारलाई कांग्रेसका सरकारविरोधी सांसदहरूले कतै सरकारले नै षड्यन्त्र गरेको त होइन भन्ने आशयको भाषण पनि सदनमा गरेका थिए । प्रतिपक्षी दल एमालेसहितका दलहरूले पनि सांसद गुरुङमाथि भएको हातपातको आलोचना गरेका थिए । उनीहरूले पनि सरकारमाथि प्रश्न गरेका थिए । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully