काठमाडौँ — २०५० चैत १४ को बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित सीडीओ टोलका घरघरमा पसेर भारतीय प्रहरीले पेस्तोल तेर्स्याएको घटना निकै पेचिलो बनेको थियो । खासमा सादा पोसाकका प्रहरीले राजधानीको मुटुमा आएर नागरिकको घरघरमा छिरेर आतंकित बनाएकामा प्रतिनिधिसभामा मात्र होइन, मुलुकभर चौतर्फी रूपमा त्यसको विरोध भइरहेको थियो । र, संसद्मा त हंगामा नै मच्चिएको थियो ।
भारतीय प्रहरीले यसरी घरघरमा पसेर खनातलासी गरेको बारेमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले चित्तबुझ्दो जवाफ नदिएपछि प्रतिनिधिसभाको २०५० चैत १५ को बैठकमा प्रतिपक्षी दलले गरेको होहल्ला रोक्न सभामुख दमननाथ ढुंगानाले ‘रुलिङ’ नै गर्नुपरेको थियो ।
उक्त घटनाका बारेमा संसद्मा प्रमुख प्रतिपक्षीसहितका दलले मागेको जवाफ दिन गृहमन्त्री असमर्थ भएका थिए । उनले घटनाको विस्तृत विवरण दिन एक साताको समय मागेपछि प्रतिनिधिसभा सांसदहरूले हंगामा नै मच्चाएका थिए । सभामुखले गरेको रुलिङ अस्विकार गर्दै केही सांसद बैठक हलबाटै बाहिरिएका थिए ।
२० जना भारतीय प्रहरी नेपाल प्रवेश गरेर व्यक्तिको घर खानतलासी गरेको भन्दै सत्ता र प्रतिपक्षी दलका सांसदले सरकारको धारणा माग गरेका थिए । गृहमन्त्री देउवाले भने संक्षिप्त जानकारी दिएर आवश्यक परेमा थप कारबाही अघि बढाउने बताएका थिए । तर प्रतिपक्षी सांसदले भारतीय प्रहरीलाई के कारबाही भयो भन्दै थप प्रश्न गरेका थिए ।
सभामुख ढुंगानाले पनि गृहमन्त्री देउवालाई थप केही बताउन भनेका थिए । देउवाले घटना संवेदनशील भएको भन्दै थप जानकारी दिन एक साताको समय मागेका थिए । गृहमन्त्रीको जवाफ सुनेपछि संसद्मा फेरि होहल्ला मच्चियो । त्यो परिस्थिति सम्हाल्न सभामुख ढुंगानाले प्रमुख प्रतिपक्षी दलका संसदीय दलका सचिव भरतमोहन अधिकारीलाई सन्तुलित विचार राख्न भनेका थिए । अधिकारीले भने गृहमन्त्रीले गम्भीर विषयमा सैद्धान्तिक धारणा मात्र राखेको बताएका थिए । उनले घटनाको विस्तृत जानकारी २४ घण्टाभित्र दिन माग गरेका थिए ।
जवाफमा देउवाले मुलुकको सार्वभौमसत्ता र अखण्डताका विषयमा सांसदहरूले देखाएको चासो जायज रहेको भन्दै धन्यवाद दिएका थिए । सभामुख ढुंगानाले सरकारलाई घटनाका बारेमा जानकारी दिन समय दिनुपर्ने विचार राखेका थिए । तर संसदमा हंगामा रोकिएन । सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता मनमोहन अधिकारीलाई बोल्ने समय दिए । अधिकारीले सरकारले सात दिनको समय माग्नु गलत भएको तर्क गरे । उनले पनि २४ घण्टामा सबै विवरण सार्वजनिक गर्न माग गरे । उनले कुर्सीका लागि भारतसँग डराउनु हुँदैन भन्दै अगाडि भनेका थिए, ‘घटनाको परराष्ट्रमन्त्रीको हैसियतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि जवाफ दिनुपर्छ ।’
अधिकारीले भारतलाई नेपालको सरकारको मालिक ठान्ने गरेको बताएकामा कांग्रेस सांसदले भने रुचाएनन् । उनको यो अभिव्यक्तिप्रति असहमति जनाउँदै स्थानीय विकास तथा कृषिमन्त्री रामचन्द्र पौडेलले नियमापत्ति जनाएका थिए । प्रतिपक्षी सांसदहरूले होहल्ला कायम राखेपछि सभामुख ढुंगानाले सरकारलाई २४ घण्टाभित्र जवाफ दिन ‘रुलिङ’ गरे ।
सभामुखले संयुक्त जनमोर्चा नेपालका सांसद लीलामणी पोखरेललाई बोल्ने समय दिए । तर लिलामणीले एक घण्टाका लागि सदन बहिष्कार गरेको घोषणा गरे । उनीसहित जनमोर्चाका सबै सांसद ‘राष्ट्रघाती सरकार मुर्दावाद’ भन्दै हलबाट बाहिरिए । त्यस्तै मजदुर किसान पार्टीका नारायणमान बिजुक्छे, डिल्लीबहादुर महतसहितका सांसद पनि सदन बहिष्कार गरेको भन्दै बाहिरिएका थिए ।
त्यसपछि शून्य र विशेष समयमा बोल्दै सांसदहरूले भारतले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । त्यसैदिन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाशचन्द्र लोहनीसहितका सांसदहरू बानेश्वरको सीडीओ टोलमा गएर घटनाको जानकारी लिएका थिए । लोहनीले घटनाको छानबिन गर्न संसदीय टोली बनाउनुपर्ने र भारतले नेपालसँग माफी माग्नुपर्ने बताएका थिए ।
पीडितले भने हतियारसहित भारतीय प्रहरी आफ्नो घरमा आएको जानकारी नेपाल प्रहरीलाई दिए पनि सरदारसहितको टोली हो भन्दै पन्छिएको बताएका थिए । पीडितमध्ये शिवप्रसाद शर्माले प्रहरीलाई १०० नम्बरमा फोन गर्दा बेवास्ता गरेको गुनासो गरेका थिए । कांग्रेस सांसद आत्माराम ओझा र एमाले सांसद सलिल मिया अन्सारीले भारतीयले लुटेको सामान फिर्ता गर्नुपर्ने बताएका थिए । काठमाडौंका प्रहरी उपरिक्षक रवेतबहादुर थापा घटनास्थल नगएको विषयमा पनि सांसदहरूले प्रश्न गरेका थिए । स्टेनगन, पेस्तोल, बम, भाला, हक्कीलगायतका हतियार लिएर बिना सूचना आफ्नो घरमा आतंक मच्चाएको भनाइ शर्माको थियो ।
यिनै सन्दर्भसहित प्रतिनिधिसभामा भएको हंगामाका विषयमा पत्रकार नारायण वाग्लेले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० चैत १६ मा ‘भारतीय प्रहरीको कारबाहीप्रति संसदमा हंगामा, जवाफ दिन गृहमन्त्रीलाई २४ घण्टाको म्याद’ शीर्षकमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The commotion seen in the House of Representatives on Chait 15...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/deuba-0272025124026-1000x0.jpg&w=1001&h=0)