काठमाडौँ — करिब ३२ वर्षअघि अर्थात् ५० को दशकमा नेपालबाट निकासी हुने मुख्य उत्पादनमध्ये गलैंचाले ६० प्रतिशत हिस्सा ओगटेको थियो । नेपाली बस्तु निकासीको ठूलो हिस्सा ओगटेको गलैंचा त्यतिबेलाको सरकारी तथ्यांक अनुसार बर्सेनि १३ देखि १४ अर्बको अमेरिका, युरोप, जर्मनीलगायतका मुलुकमा निकासी हुन्थ्यो ।
काठमाडौं उपत्यकामा मात्र हजारौंले रोजगारी पाएका थिए । विशेषतः अशिक्षित महिलाले पनि गलैंचा बुन्ने अवसर पाएका थिए । काठमाडौंमा केन्द्रित गलैंचा उद्योगमा काम गर्ने मजदुर धेरैजसो सिन्धुपाल्चोकका थिए । त्यसपछि मकवानपुरका मजदुर काठमाडौंमा बसेर गलैंचा बुन्थे ।
२०५० को अन्त्यतिर गलैंचा उद्योग उपत्यका बाहिर पनि विस्तार भइरहेको थियो । गलैंचा कारखाना विस्तार भएको जिल्लामध्ये मकवानपुर पनि एक थियो । मकवानपुरमा त्यतिबेला गलैंचा कारखानाको संख्या लगभग एक दर्जन पुगिसकेको थियो । कारखाना पहाड र स्थानीय बजार क्षेत्रमा विस्तार हुन थालेपछि मजदुर पनि घरपायक र सजिलो स्थानमा जान थालेका थिए । खासमा त्यतिबेला काठमाडौंमा पिउने पानीको समस्या र प्रदूषणले बस्न कठिन हुँदै गएको थियो । गलैंचाले वातावरण बिगारेको र बाल–मजदुरको प्रयोगको मुद्दा पनि उठिरहेको थियो । गलैंचाका लगानीकर्ता पनि उपत्यका बाहिर जान खोजेका थिए ।
काठमाडौं नजिकैको मकवानपुर लगानीकर्ताको रोजाइमा थियो । कोशी जोन गलैंचा उद्योगका सञ्चालक ध्रुव सन्जेलले मकवानपुरमा मजदुर सहज रूपमा पाउने र उनीहरूले पनि घरनजिकै रोजगारी मिल्ने बताएका थिए । कारखाना सारेपछि मजदुरहरू काठमाडौंबाट पनि जिल्ला फर्कने भनाइ उनको रहेको थियो ।
त्यसैले एक वर्षअघिदेखि कोशी जोन गलैंचा उद्योगको शाखाका रूपमा ध्रुवतारा गलैंचा कारखाना मकवानपुरमा सञ्चालनमा ल्याइएको थियो । उक्त उद्योगमा ४८ थान गलैंचाका तान थिए । त्यसमा गलैंचा बुन्ने र धागो कात्नेसमेत ४ सयले रोजगारी पाएका थिए । गाउँका महिलाले पनि बेलुकीको फुर्सदको समयमा धागो कात्ने काम गर्छन् । १ किलो धागो कातेमा २५ देखि ३० रुपैयाँ पाउने गर्थे ।
त्यतिबेला यो आम्दानीलाई राम्रै मानिन्थ्यो । महिलाले घरधन्दा सकेर पनि धागो कात्ने काम पाउने गरेका थिए । तर नगरपालिकाले लिने चुंगीकर र विभिन्न नाममा लगानीकर्तालाई दिने दुःख भने हटाउन पर्ने माग कारखाना सञ्चालकहरूले गरेका थिए । सरकारी निकाय र साविक स्थानीय निकायले सघाएमा स्थानीय तहमा रोजगारीको अवसर सिर्जना हुने र उत्पादन लागत पनि घट्ने लगानीकर्ताको भनाइ थियो ।
जिल्लामा ऊन फिट्ने कटिङ र धागो रंग्याउने डाइङ प्लान्ट प्रविधिको अभाव तथा ढुवानीमा धेरै पैसा खर्च हुने समस्याप्रति भने लगानीकर्ताले सरकारी निकाय गुहारेका थिए । सरकारको अप्ठेरो नीतिले बाहिर जिल्लामा गएर कारखाना सञ्चालनमा कठिन भएको उद्यमी सन्जेलले जानकारी दिएका थिए ।
उद्यमीले हेटौंडालाई गलैंचा उद्योगको केन्द्र बनाउन खरिदकर्ताहरू त्यतै जाने वातावरण बनाउनुपर्ने माग गरेका थिए । कानुनी र नीतिगत झन्झट कम गर्नसमेत मकवानपुर गलैंचा उत्पादनको हव बन्न सक्नेमा स्थानीय पनि ढुक्क थिए ।
बजार र गाउँगाउँमा गलैंचा उद्योग सञ्चालन हुने सम्भावना, यसबाट सिर्जना हुने रोजगारीको विषय जोडेर मकवानपुरको हेटौंडालगायतका विभिन्न स्थानमा विस्तार भइरहेको गलैंचा कारखानाको विषयमा केन्द्रित भएर कान्तिपुरले तयार गरेको ‘हेटौंडा गलैंचा उद्योगका लागि उर्बर भूमि बन्न सक्छ’ शीर्षकमा २०५० चैत १३ मा समाचार प्रकाशित गरेको थियो । उतिबेला विदेशी मुद्रा आर्जन गर्ने मुख्य निकासी बस्तुमध्येको गलैंचा अहिले भने फस्टाउन सकेको छैन । अहिले जेनतेन मात्र कारखानाहरू सञ्चालन हुँदै आएका छन् ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That attempt to take the carpet industry outside Kathmandu](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/a-cover-2962025011742-1000x0.jpg&w=1001&h=0)