काठमाडौँ — वि.सं. २०५० को काठमाडौं–१ मा सम्पन्न उपनिर्वाचनमा सभापति कृष्णप्रसाद भट्टराई पराजित भएपछि नेपाली कांग्रेसभित्रको विभाजन जिल्ला/जिल्लामा कार्यकर्ता तहमा पुगेको थियो । खासगरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टी सभापति भट्टराईलाई हराएको भन्दै पार्टीमा ठूलो विभाजन आएको थियो ।
२०५० माघ २५ मा भएको उपनिर्वाचनमा एमालेकी विद्या भण्डारीसँग भट्टराई पराजित भएका थिए । सडकमा दिनैपिच्छे प्रधानमन्त्री कोइरालाविरुद्ध नाराजुलुस लाग्न थालेपछि पार्टी कार्यकर्ता विभाजित थिए ।
पार्टीमा संकट बढेपछि १८ जिल्लाका सभापतिले पार्टीमा अनुशासनहीनता बढेको निष्कर्ष निकालेका थिए । उनीहरूले पार्टीको संस्थागत निर्णय र हितविपरीत जाने जो–कोहीलाई अनुशासनको कारबाही गर्नुपर्ने भन्दै भट्टराईको पराजयले सबैलाई मर्माहत बनाएको निचोड निकालेका थिए ।
पार्टीका सर्वोच्च नेता गणेशमान सिंह, सभापति भट्टराई र प्रधानमन्त्री कोइरालाबीचको टकरावको असर तल्लो तहसम्म पुगेका कारण तनहुँ र नवलपरासीका सभापतिहरू क्रमशः अमरराज कैनी र कृष्णचन्द्र नेपालीको संयोजनमा काठमाडौंमा सभापतिहरूको बैठक गरेर पार्टीमा काठमाडौंको निर्वाचनले विनाशकारी विस्फोटको अवस्था आएको धारणा सार्वजनिक गरिएको थियो ।
कांग्रेसलाई कमजोर बनाएर प्रजातन्त्रमाथि नै प्रहार गर्ने मनसायका साथ विभिन्न शक्तिकेन्द्रबाट संरक्षण र प्रोत्साहन दिएको भन्दै नेता तथा कार्यकर्तालाई यसबाट सजग रहन जिल्ला सभापतिहरूले आह्वान गरेका थिए । सभापति भट्टराईले कार्यकर्तालाई शान्तिका लागि अपिल गरे पनि सडकमा विरोधका कार्यक्रम रोकिएका थिएनन् । प्रधानमन्त्री कोइरालाले सभापति भट्टराई हराउन सक्रिय भूमिका निर्वाह गरेको बुझाइ काठमाडौंका आमकार्यकर्तामा थियो । त्यसैले पनि पार्टीमा एउटा पक्ष कोइरालाविरुद्ध लागिरहेको थियो ।
२०५० माघ १७ गते कोइरालाले सार्वजनिक गरेको रेडियो वक्तव्यले भट्टराईको हार भएको अनुमान एकथरीको थियो । निर्वाचन प्रचारका बेला भट्टराई हराउन कोइरालाले नेपाल विद्यार्थी संघ र कांग्रेसका नेता–कार्यकर्तालाई विशेष रूपमा खटाएको भन्दै नारा–जुलुस भइरहेको थियो । त्यतिबेला कोइरालाले भट्टराईलाई ‘अन्तर्घात’ गरेको बुझाइ जिल्ला सभापितहरूको थियो । तर उनीहरू प्रस्ट रूपमा बोल्न सकेका थिएनन् । सभापतिहरूले आफ्नो प्रस्तावमा भनेका थिए, ‘नेतृत्व तहमा विद्यमान विभाजन र असहमतिले जिल्ला–जिल्लामा जरा गाड्दै गएको र यसले बिस्तारै अविश्वासको वातावरण बनाउँदै लगेको छ ।’
सभापति भट्टराईको पराजयमा कांग्रेसका सर्वोच्च नेता सिंह निकै दुःखी थिए । तर कोइराला निकटहरू भने भट्टराईको पराजयले प्रधानमन्त्री पदका लागि हुन सक्ने ‘बार्गेनिङ’ रोकिएको बताउने गर्थे ।
२०४८ पछि सरकार गठनलगत्तै विशेषतः सिंह, भट्टराई, कोइरालाबीचको सम्बन्ध राम्रो थिएन । कोइराला एकातिर थिए भने भट्टराई र गणेशमानको मत अर्कातिर देखिन्थ्यो ।
यही पृष्ठभूमिमा भएको उपनिर्वाचनमा प्रधानमन्त्री कोइरालाले निर्वाह गरेको भूमिकाले कांग्रेसमा संकट निम्त्याएको थियो । संकट समाधानको पहलस्वरूप सभापतिहरूले संयुक्त बैठक गरेका थिए । यिनै सन्दर्भलाई समेटेर राष्ट्रिय समाचार समिति (रासस)ले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० फागुन २ मा ‘नेकांको संकट समाधान गर्न पार्टीका १८ जिल्लाका सभापतिहरूको अनुरोध’ शीर्षकमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Congress district party presidents conclude that by-election results have led to a 'catastrophic explosion'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/congress-archive-1762025092753-1000x0.jpg&w=1001&h=0)