[अर्काइभ] यसरी भएको थियो सुनधाराको अस्तित्वमाथि आक्रमण

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

[Archive] This is how Sundhara's existence was attacked

काठमाडौँ — स्थानीयले २०४४ सालसम्म सुनधाराको पानी घर लैजाने, पिउने गर्थे । नयाँ सडक आसपासका धेरै स्थानीय नुहाउन सुनधारा पुग्थे । कुनै बेला सुनधारामा जान जुत्तासमेत खोल्नुपर्ने नियम थियो । स्थानीयका बुझाइमा २०४४ सालमा जतिबेला सुनधाराको नजिकै कर्मचारी सञ्चाय कोषको भवन बनाउन जग खन्न सुरु भयो, त्यतिबेलादेखि नै पानीको मुहान सुक्न थालेको हो ।

स्थानीयले भवन नबनाउन दबाब दिने अभियान नै चलाएका थिए । स्थानीय सरोकारवालाहरूले भवनको जग खनेका कारण सुनधाराको पानी सुकेको अनुमान गरेका थिए । उनीहरूले भवन बनाउन रोक्न सरकारी निकाय गुहारे । साबिक काठमाडौं नगरपालिकालाई पनि सूचना दिए । तर सञ्चय कोषले पानी सुक्नुको दोष राजधानीको प्रदूषणलाई दिंदै काम अघि बढायो । 

भवन बनाउन जग खनेका कारण पानी सुकेको भनाइलाई सरकारी निकायले स्वीकारेको थिएन । तर सन् १८८५ मा बनेका धाराहरू सुकेका थिए भने आसपासमा ढल जमेर पोखरी बनेको थियो । 

पानी सुक्न थालेपछि बनाइएको प्राविधिक अध्ययन टोलीले प्राकृतिक सतहबाट संकलन भएको पानी नै धारामा आउने गरेको प्रतिवेदन दिएको थियो । ‘पानी जम्मा भएर धारामा आउन कतै मुहान बनेर आएको देखिएको छैन,’ प्राविधिक टोलीले भनेको थियो ।

अध्ययनमा संलग्न डा. सुदर्शनराज तिवारीले भने पानी आसपासको क्षेत्रबाट मात्र नभइ काठमाडौंको उत्तरतर्फको लैनचौरदेखि नै जम्मा भएको र टेवहाल चैत्यमुनिबाट ल्याइएको अनुमान पनि गरेका थिए । सुनधारालाई चार भागको तलामा विभाजन गरिएको थियो । प्रत्येक तलामा ११ वटा कुना, पाँचवटा मूर्ति, तीनवटा पित्तलको धारा, दुईवटा फलामका धारा थिए । सुनधारामा एउटा अमूर्त लाग्ने मानिसको आकृति कुँदेको ढुंगा पनि रहेको थियो । 

सुनधारा पानीका लागि मात्र नभइ धार्मिक हिसाबले पनि स्थानीयले निकै महत्त्व दिने गरेका थिए । तिहारको भाइटीकाको दिन दाजुभाइ नभएकाहरूले सुनधारामा नुहाएर रानीपोखरीमा रहेको महादेवको मन्दिरमा पूजाआजा गर्ने चलन थियो । त्यस्तै भद्रकालीका भजनमण्डलीले सुनधाराको जल चढाउने चलन थियो । इन्द्रजात्रामा ब्रत बस्नेहरूले सुनधारामा नुहाएर मात्र ब्रत विसर्जन गर्ने चलन थियो ।

सुनधारामा नुहाएमा छालाको रोग निको हुने विश्वास पनि थियो । धार्मिक हिसाबले स्थानीयले प्रत्येक दिन सुनधानमा नुहाएर मात्र खाना खाने चलन थियो । तर धारा सुक्न थालेकाले धेरैले आफ्नो परम्परा मेटिने चिन्ता गरेका थिए । 

स्थानीयको गुनासो बढेपछि काठमाडौंका तत्कालीन मेयर पीएल सिंहले सञ्चय  कोष भवन निर्माणमा  रोक लगाएर सुनधाराको संरक्षणमा लाग्ने आश्वासन पनि दिएका थिए । तर धारावरिपरिका ढुंगाहरू झिक्ने र इँटासमेत उठाएर बजार व्यवस्थापनका लागि प्रयोग गरिएको थियो । 

नियमित पानी पिउने र नुहाउनेहरू बिरामी पर्न थालेका थिए । किनकि पानीको स्वाद नै फरक भएको थियो । सुनधारा वरिपरि पार्क बनाउने काम सुरु भएको थियो । तर त्यसप्रति सर्वसाधारणले खासै चासो दिएका थिएनन् । किनकि उनीहरूलाई धारा सुक्न थालेको र जाताततै फोहोर जमेको प्रति चिन्ता थियो ।

सुनधारा वरिपरिका ढुंगा झिक्न थालेको र पुरातात्विक बस्तुको नोक्सानी हुन थालेको थियो । तर पुरातत्व विभागले सुनधारामा भइरहेको निर्माणको बारेमा अनभिज्ञता प्रकट गरेको थियो । सुनधारामा राखिएको पुरानो कलात्मक मूर्ति चोरी भएका कारण पाटनबाट ल्याइएको साधारण मूर्ति राखिएको थियो । सुनधाराको ढल बनाउने क्रममा जमिन खन्दा निस्केको ग्यासले एक जनाको मृत्यु नै भएको थियो । खाल्डाहरू खन्दा दुई मजदुर बेहोस भएका थिए । त्यहाँबाट ग्यास निस्केको अनुमान गरिएको थियो । 

सञ्चय कोष भवन बनाउन नगरपालिकाका तत्कालीन प्रधानपञ्च हरिबोल भट्टराईले रोकेको थिए । तर प्राविधिक रिपोर्टका आधार भन्दै भवन बनाउन स्विकृति प्रदान गरिएको थियो । तर ठेक्का लिने कम्पनी एनसीसीएनले काम नगर्ने भनेको थियो । सञ्चय कोष भवनको जमिनमुनि दुई तला बनाउने योजना थियो भने स्थानीयले सुनधारा बचाउ समिति नै बनाएर संघर्ष गरिरहेका थिए ।

महारानी ललिता त्रिपुराले उपत्यकाको गंगबु, कपन, नारायणस्थान, बालाजुलगायतका स्थानमा सुनधाराको संरक्षण र सरसफाइका लागि गुठी जमिन राखेको स्थानीयले बताएका थिए । तर उक्त जमिनलाई कर्मचारीले आफनो बनाएको आरोप स्थानीयले लगाएका थिए । राणाकालमा गुठीबाट सञ्चालन गर्नेगरी सुनधारा संरक्षणका लागि पाले पनि राखेको बताइएको थियो । त्यतिबेला सुनधारामा जान पनि जुत्ता फुकाल्नुपर्ने नियम बनाइएको थियो ।

राणाकालमा पुड्की नाम गरेकी एक जना महिला धाराको हेरचाह गर्न राखेको स्थानीयले सम्झन्छन् । जुत्ता नफुकाली सुनधारामा प्रवेश गर्न खोज्ने एक जनालाई ती महिलाले भित्र जान नदिएको झोंकमा उनीमाथि हातपात भएको थियो । तर उनलाई पिट्ने व्यक्तिलाई कारबाही गरिएको थियो । उक्त सूचना प्रधानमन्त्रीसम्म पुगेको थियो । 

ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण मानिएको सुनधारामा पानी आउन छाडेको र फोहोर, ढलले धाराहरू पुरिएको र धाराको नाममा रहेको गुठी जग्गा हराएको सन्दर्भ जोडेर कान्तिपुरका हरि थापाले लेखेको फिचर समाचार ‘सुनधारा संरक्षणसम्बन्धी गुठीको जग्गा कसले खोस्यो ?’ शीर्षकमा २०५० माघ २१ मा प्रकाशित भएको थियो ।

५० को दशमा देखिएको यो अवस्था  ३२ वर्षछि झन् लथालिंग भएको छ । कर्मचारी सञ्चय कोषको भवन बनेर व्यापारिक प्रयोजनमा प्रयोग भइरहेको छ । सुनधाराको अवस्था भने झन्झन् जीर्ण बन्दै गएको छ । 

 प्रस्तुतिः ऋषिराम पौड्याल  

कान्तिपुर संवाददाता

Link copied successfully