[अर्काइभ] गणेशमानको आँगनमा नेतात्रयको त्यो मेलमिलाप !

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

[Archive] That reconciliation of Netatraya in Ganeshman's yard!

काठमाडौँ — उपनिर्वाचनको साताअघि २०५० माघ १७ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिक गरेको १७ मिनेट लामो रेडियो वक्तव्यले नेपाली कांग्रेसका सभापति तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद भट्टराई निकै अप्ठेरोमा परेका थिए । कोइरालाको वक्तव्यसँगै भट्टराई हराउ अभियानमा कांग्रेसभित्रकै नेताहरू लाग्न थालेको घटना सार्वजजनिक भइरहेको थियो ।

पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका नेताहरू (अहिले पनि पार्टी राजनीति र संसदमा रहेका) नै कोइराला गुटको डिजाइनमा भट्टराई हराउ अभियानमा लागेको चर्चा थियो । 

निर्वाचनमा कोइराला गुटको असहयोग हुने निश्चित भएपछि कांग्रेसका त्यतिबेलाका युवा नेता र शुभचिन्तकहरूको पहलमा नेतात्रयबीच विवाद समाधान गरेर एक भएको सन्देश दिन दबाब सिर्जना गरिएको थियो । त्यतिबेला पार्टीका रामचन्द्र पौडेल, गोविन्दराज जोशी, महेश आचार्य, शेरबहादुर देउवा, तारणीदत्त चटौत, रामशरण महतलगायतले नेतात्रयलाई मिलाउन पहल गरेका थिए । 

नेताहरूबीच दुई दिनसम्म चलेको वार्तापछि निर्वाचनमा मिलेर जाने र पार्टीमा पनि मेलमिलापको वातावरण सिर्जना गर्ने सहमति भएको थियो । २०५० माघ १९ गते कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको चाक्सीबारीस्थित घरमा नेतात्रयबीच बसेको दोस्रो दिनको बैठकले पार्टीभित्रको आन्तरिक समस्या हल गर्दै जाने र निर्वाचनमा भट्टराई जिताउन प्रधानमन्त्री कोइरालाले पनि सघाउने निर्णय भएको थियो । 

निर्वाचनमा सघाउने र कोइरालाले दिएको वक्तव्यमा समावेश भएका कतिपय विषयलाई नकारात्मक सन्देश नजाने गरी थप प्रस्ट हुने गरी सन्देश प्रवाह गर्ने सहमति पनि भएको थियो । बालुवाटारमा अघिल्लो दिन भएको बैठकमा प्रधानमन्त्री कोइरालाले आफूले दिएको वक्तव्य सही भएको बताएका थिए । माघ १८ मा बालुवाटारको वार्ता सकिएपछि कोइरालाले भनेका थिए, ‘कुराकानी आज भयो, बिहे भोलि हुन्छ ।’ गणेशमानले कुनै पनि मानिस दुलही भित्र्याएपछि मात्र सन्तुष्ट हुने प्रतिक्रिया दिएका थिए । 

अघिल्लो दिन भएको बैठकको एजेन्डालाई माघ १९ मा पुनः छलफल गरेर नेतात्रय सहमतिमा पुगेका थिए । नेतात्रयले एउटै वक्तव्य दिने योजनामा भने सभापति भट्टराईले नै रोकेका थिए । आ–आफ्नो धारणा राख्नुपर्ने भन्दै भट्टराईले छुट्टाछुट्टै वक्तव्य दिने बताएका थिए ।

कोइरालाले पनि वक्तव्य दिने बताएका थिए । तर भट्टराईको चुनाव प्रचार अभियानमा कोइराला र सर्वोच्च नेता गणेशममान जाने कि नजाने यकिन भने भएको थिएन । गणेशमानले सञ्चारकर्मीसँग भनेका थिए, ‘वक्तव्य आएपछि चुनाव प्रचारमा नजाँदा पनि हुन्छ ।’ कोइरालाले तीन दिन पहिले सार्वजनिक गरेको वक्तव्यमा भट्टराईको उम्मेदवारी र चुनाव प्रचारमा उठेका विषयप्रति असन्तुष्टि जनाएका थिए । उनको वक्तव्यले भट्टराईको निर्वाचनमा प्रत्यक्ष असर पर्ने परिस्थिति बनेको थियो । 

विशेषतः कांग्रेसभित्रको आन्तरिक कलह, कोइरालाको वक्तव्य र उपनिर्वाचनको विषयलाई समेटेर कान्तिपुरले पत्रकारद्वय तारानाथ दाहाल र सुमन प्रधानले लेखेको समाचार २०५० माघ २० मा प्रकाशित गरेको थियो । 

२०४८ को संसदीय निर्वाचनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । भण्डारीले जितेको काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्य पद रिक्त भएकाले २०५० माघ २५ मा उपनिर्वाचन हुन लागेको थियो । एमालेले उक्त क्षेत्रमा मदनकी पत्नी विद्या भण्डारीलाई उम्मेदवार बनाएको थियो ।

मदनसँग पराजित भएका भट्टराई उपनिर्वाचनमा मदनकै पत्नी विद्यासँग प्रतिस्पर्धामा उत्रेका थिए । कांग्रेसलाई विद्यालाई सहानुभूतिको मत जाने भय थियो । मदन–आश्रितको हत्या षड्यन्त्रपूर्वक भएको भन्दै एमालले मुलुकभरबाट सहानुभूति बटुलिरहेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully