काठमाडौँ — २०५० माघ २५ गते हुन गइरहेको उपनिर्वाचनको ८ दिनअघि माघ १७ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रेडियो नेपालमार्फत सार्वजनिक गरेको १७ मिनेट लामो वक्तव्य र यसले सतहमा ल्याएको नेपाली कांग्रेसभित्रको अन्तरकलह अहिले (३२ वर्षपछि) पनि बेलाबेलामा कुनै न कुनै प्रसंगमा जोडिने गरेको छ ।
कांग्रेसको इतिहासमा गिरिजाप्रसादको त्यो वक्तव्य नमेटिने घटनाका रूपमा जरा गाडिरहेको छ । पार्टीका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउने नियत राखेर वक्तव्य जारी गरेको घटना क्रमले पुष्टि गरेको थियो ।
गिरिजाप्रसादको त्यो वक्तव्य २०५० माघ २५ गते हुन लागेको काठमाडौं–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका कृष्णप्रसादलाई हराउन आएको कुरामा अहिले कांग्रेस कार्यकर्ता मात्र नभएर सर्वसाधारण पनि सहमति जनाउँछन् । कोइरालाले सरकारी सञ्चारमाध्यमबाट आफैं १७ मिनेटसम्म वक्तव्य पढेका थिए । त्यसैले ‘गिरिजाप्रसादको १७ मिनेटको वक्तव्य’ भन्ने अहिलेको पुस्ताले समेत थाहा पाइसकेका छन् । त्यतिबेला निजी लगानीका प्रशारण माध्यम नभएका कारण सरकारको स्वामित्वमा रहेको रेडियो नेपालबाट उक्त वक्तव्य सार्वजनिक भएको थियो ।
वक्तव्यमा कोइरालाले भनेका थिए, ‘पार्टीलाई नयाँ ढंगबाट परिचालन गर्ने अभियान र यात्राको सवल सारथि हुनुको साटो किसुनजीले आफू उम्मेदवार हुन अनिच्छुक रहेको भन्दाभन्दै अरु कसैको आकांक्षाको उम्मेदवार झैं भएर उपनिर्वाचन लड्ने निर्णय भयो ।’ यो भनाइ नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहप्रति लक्षित थियो । गिरिजाप्रसादको वक्तव्यको आशय कांग्रेसको २०५० मंसिर ४ मा बसेको केन्द्रीय समितिको बैठकमा शैलजा आचार्य र नोना कोइरालाले राखेको विचारसँग मिल्दोजुल्दो थियो ।
कृष्णप्रसादलाई उम्मेदवार बनाउने कि नबनाउने विषयमा केन्द्रीय समितिमा छलफल भएका बेला शैलजा र नोनाले चुनाव लड्नुभन्दा पार्टीको संगठन सुदृढ गर्न लाग्नुपर्ने भनाइ राखेका थिए । प्रधानमन्त्री कोइराला उक्त बैठकमा नबोली हाँसेर बसेका थिए । तर बैठकले कृष्णप्रसादलाई उम्मेदवार बनाउने निर्णय गरेको अढाइ महिनापछि अर्थात् उपचुनावको मतदान हुनु साताअघि प्रधानमन्त्री कोइरालाको यस्तो वक्तव्य आएको थियो ।
कृष्णप्रसाद उपनिर्वाचनमा उम्मेदवार बन्नुमा पार्टीका सर्वोच्च नेता सिंहको डिजाइन भएको बुझाइ कोइरालाको थियो । त्यसैले उनले कृष्णप्रसादलाई आफू चुनाव लड्न इच्छा नहुँदानहुँदै पनि कसैका लागि उम्मेदवार बनेको आरोप वक्तव्यमा लगाएका थिए । आफ्नो प्रधानमन्त्री पदलाई कमजोर बनाउन भट्टराइलाई अघि सारेको बुझाइ कोइरालाको थियो ।
२०४८ को निर्वाचनपछि गिरिजाप्रसाद र गणेशमानबीचको खाडल चुलिँदै गएको थियो । त्यसैले गणेशमानले आफूविरुद्ध प्रधानमन्त्रीको वैकल्पिक व्यक्तिका रूपमा भट्टराईलाई अघि सारेको भनाइ कोइरालाको वक्तव्यले प्रस्ट झल्किन्थ्यो । कोइरालाको सबैभन्दा ठूलो गुनासो सरकारको आलोचना गरेर चुनाव प्रचार गरेकामा थियो । उनले वक्तव्यमा लेखेका थिए, ‘एकातिर मलाई पार्टीको सम्पूर्ण अनुशासन र मर्यादा तोडेर मनगडन्ते अभियोग लगाइन्छ, अर्कोतिर मलाई यो संसदीय संस्कार र मर्यादा धुमिल भएको चुनावी अभियानमा सरिक हुन भनिएको छ ।’
कोइरालाको वक्तव्यमार्फत अप्रत्यक्ष रूपमा भट्टराईले चुनाव जित्न नहुने धारणा राखेका थिए भने पार्टीको महासमिति र महाधिवेशन बैठकको माग पनि गरेका थिए । २०३४ सालदेखि डेढ दशक लगातार कार्यवाहक सभापति चलाएका भट्टराई २०४८ फागुनमा झापाको कलबलगुडीमा भएको महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चुनिएका थिए । महाधिवेशन भएको तीन वर्ष नपुग्दै कोइरालाले चुनावको मुखमा नेतृत्व परिवर्तन गर्नुपर्ने आशय व्यक्त गरेका थिए ।
कृष्णप्रसादको चुनाव प्रचारका क्रममा सरकार नातावाद र भ्रष्टाचारमा व्याप्त रहेको र मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति गलत रहेको सन्देश दिएको भन्दै कोइरालाले वक्तव्यमार्फत असन्तुष्टि जनाएका थिए । ‘केन्द्रीय समितिले किसुनजीको उम्मेदवारीलाई अनुमोदन गर्दा उम्मेदवार वा अरु कसैलाई खुलेर सरकारका विरुद्ध आक्रमण गर्ने अधिकार पनि दिएको थियो र ?’ वक्तव्यमा प्रश्न गरिएको थियो ।
कांग्रेसको चुनावी अभियानका क्रममा प्रतिपक्षको भन्दा पनि बढी आफू र आफ्नो नेतृत्वको सरकारको आलोचना गरेको भन्दै त्यस्तो चुनावी सभाहरूमा आफू सहभागी हुन नसक्ने भनाइ कोइरालाले वक्तव्यमार्फत सार्वजनिक गरेका थिए । उनले पार्टी सभापति सरकारको कामको जसअपजसको भागिदार हुनुपर्ने बताएका थिए । उनले सभापतिले त्यस्तो भागिदार नभएसम्म आफू चुनावी अभियानमा जान नसक्ने बताएका थिए । गणेशमान, किसुनजी र आफूबीच खाडल बढाउन केही तत्त्व लागेको भन्दै कोइरालाले एउटा नेताको अवसानमा अर्को नेताको उदय देख्ने गलत प्रवृत्ति बढेको वक्तव्यमा उल्लेख गरेका थिए ।
पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा कलबडगुडीदेखि नै उठाएको भन्दै उनले यही अवस्था रहेमा पार्टीको संरचना ध्वस्त हुने चेतावनी दिएका थिए । ‘स्वाभिमानी साथीहरूको छातीमा टेकेर पार्टी तोड्ने मनोकांक्षा भएका पार्टी एकता र संगठनविरोधी शक्तिको पार्टी र सरकारमा कब्जा जमाउने कुटिल षड्यन्त्रविरुद्ध म जीवनपर्यन्त संघर्ष गर्नेछु,’ उनले वक्तव्यमा भनेका थिए । उपचुनावको पूर्वसन्ध्यामा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रधानमन्त्री कोइरालाले जारी गरेको वक्तव्यका सन्दर्भहरू समेटेर कान्तिपुर दैनिकले ‘नेकाको अन्तरकलह समाधानका लागि पार्टी महाधिवेशन अपरिहार्य’ शीर्षकमा २०५० माघ १८ गते समाचार प्रकाशित गरेको थियो ।
कांग्रेस राजनीतिका जानकारहरूले कोइरालाको त्यो वक्तव्यलाई ‘प्रिन्सिपल भर्सेज पावर’ का रूपमा हेर्ने गरेका छन् । कांग्रेसभित्रको पार्टी सिस्टम र अनुशासन यहींबाट खण्डित भएको धारणा पार्टीको एउटा पक्षले अहिले पनि राख्ने गरेको छ ।
गिरिजाप्रसादको पावरको आकांक्षा र कृष्णप्रसादको राजनीतिक निष्ठा र सिद्धान्तबीच मेल नखाएको टिप्पणी हुन छाडेको छैन । यो अवस्था आउनुमा सर्वोच्च नेता गणेशमान र कोइरालाबीच सत्ता सञ्चालन, पार्टीको निर्णयविपरीत भएका राजनीतिक नियुक्ति र आपसी स्वार्थका सन्दर्भहरू पनि जोडिएका थिए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Girija Prasad's 17-minute statement brought about that conflict](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-pm-1-1162025010605-1000x0.jpg&w=1001&h=0)