[अर्काइभ] उपनिर्वाचनमा विद्या भण्डारीलाई उम्मेदवार बन्नैपर्ने के थियो त्यस्तो बाध्यता ?

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

[Archive] What was the compulsion for Vidya Bhandari to become a candidate in the by-election?

काठमाडौँ — २०४८ को निर्वाचनमा कांग्रेसका तत्कालीन पार्टी सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं– १ बाट पराजित गरेका एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ मा दासढुंगा जिप दुर्घटनामा मृत्यु भयो । उक्त निर्वाचन क्षेत्रमा भट्टराई पराजित हुनुको मूल कारण मदनको वाक‍्कलाले मतदातामा पारेको सकारात्मक प्रभाव नै थियो । भट्टराई थोरै मतले पराजित भएका थिए । कसै कसैले कांग्रेसभित्रैबाट असहयोग भएकाले भट्टराई पराजित भएको चर्चा पनि चलाएका थिए ।

तर मुख्यतः मदनको भाषण शैलीले सर्वसाधारणको मत प्रभावित भएको थियो । मदनको मृत्युपछि रिक्त भएको काठमाडौं–१ मा जोकोही उम्मेदवारले निर्वाचन जित्न कठिन छ भन्नेमा एमाले प्रस्ट थियो । त्यतिबेला मदन र जीवनराज आश्रितको मृत्यु अस्वाभाविक र षड्यन्त्रपूर्वक भएको सन्देश मुलुकभर फैलिएको थियो । 

खासगरी एमालेले नेताद्वयको हत्यामा अप्रत्यक्ष रूपमा कांग्रेसमाथि नै शंका गरिरहेको थियो । त्यसलै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति एमाले निकै आक्रामक थियो । 

विशेषतः २०४८ को निर्वाचनपछि सरकार बनेलगत्तै कर्मचारी आन्दोलन, टनकपुर सम्झौता, दासढुंगा दुर्घटना, अरुण तेस्रो विद्युत् आयोजनाको कार्यान्वयनजस्ता विषयमा एमालेको चर्को असन्तुष्टि थियो । असन्तुष्टिका क्रममा विरोधको केन्द्रविन्दु प्रधानमन्त्री कोइराला थिए । एमालेको जुलुसमा ‘यसपालिको हैजा गिरिजाप्रसादलाई लैजा’, ‘तालु खुइले गिरिजा भारतभित्र छिरिजा’ जस्ता नारा लगाउने गरिन्थ्यो । 

एमाले नेतृत्वले नै गिरिजाप्रसादलाई राष्ट्रघाती र हत्याराको संज्ञा दिने गरेको थियो । एमाले नेताद्वयको मृत्युलाई एमालेले षड्यन्त्रपूर्वक गरिएको हत्या भन्दै आएको थियो । सर्वसाधारणले पनि मदन–आश्रितको मृत्युलाई स्वाभाविक मानेका थिएनन् । 

यही पृष्ठभूमि तयार भएका बेला एमालेले काठमाडौं–१ मा निर्वाचन जित्न सहानुभूतिको मत आफ्नो पक्षमा आउने अपेक्षाले नै २०५० माघ २५ मा भएको उपनिर्वाचनमा मदन भण्डारीकी पत्नी विद्यालाई उम्मेदवार बनाएको चर्चा थियो । भट्टराईको व्यक्तित्वसँग प्रतिस्पर्धा गर्न एमालेमा मदनकै हैसियतमा उभिने उम्मेदवार थिएनन् । त्यसैले एमाले केन्द्रीय कमिटीमा भएको लामो छलफलपछि विद्यालाई उम्मेदवार बनाउने निर्णय भएको थियो । 

विद्यालाई उम्मेदवार बनाउनुलाई धेरैले सहानुभूतिको मत बटुल्ने उपायका रूपमा हेरेका थिए । त्यसैले चुनाव प्रचारका क्रममा २०५० माघ १६ मा बौद्धमा आयोजित सभामा एमाले उम्मेदवार विद्या भण्डारीले भनेकी थिइन्, ‘यो निर्वाचनमा मेरो उम्मेदवारी रहर नभएर बाध्यता हो ।’ 

मुलुकमा नेताहरूको हत्या गर्ने परम्पराको थालनी भएको र त्यसले मुलुकलाई सही दिशातर्फ नलैजाने अभिव्यक्ति पनि सोही सभामा विद्याले दिएकी थिइन् । उनले आफू साधारण अवला नारी नभएको बताउँदै मदन र जीवराजजस्ता नेताहरूको आदर्श र बलिदानको सम्मानमा उम्मेदवारी दिएको पनि बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘नेताहरूको सपना साकार पार्ने दृढ संकल्पसहित चुनावी मैदानमा उत्रिएकी छु ।’ 

चुनाव प्रचारका क्रममा वामपन्थी नेता पद्मरत्न तुलाधरले उपनिर्वाचन हत्या, आतंक, महँगी र राष्ट्रघातलाई समर्थन गर्ने कि अस्वीकार गर्ने भन्ने छिनोफानो गर्नका लागि भएको बताएका थिए । 

विद्याको उम्मेदवारी र उपनिर्वाचनमा भइरहेको प्रचार/प्रसारलाई समेटेर कान्तिपुर दैनिकले २०५० माघ १७ गते ‘उम्मेदवारी रहर नभएर बाध्यता : भण्डारी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यतिबेला कांग्रेसले भने एमालेले सहानुभूतिको मत बटुल्न विद्यालाई उम्मेदवार बनाएको आरोप लगाउने गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully