काठमाडौँ — उम्मेदवारले निर्वाचनमा मतदातालाई दिने आश्वासन कुन हदसम्म पत्याउने भन्ने समस्या अहिले मात्रै होइन, पहिले पनि उस्तै थियो । आजभन्दा ३१ वर्ष पहिले कांग्रेस उम्मेदवार कृष्णप्रसाद भट्टराईले ०५० माघ १३ गते आफ्नो एक प्रचार सभामा उद्घोष नै गरेका थिए, ‘मलाई विजयी बनाएमा काठमाडौं क्षेत्र नम्बर १ लाई सुनको टुक्रा नै बनाइदिन्छु ।’
२०४६ को परिवर्तनपछि राजनीतिक नेतृत्व गरेका दल हुन् या सशस्त्र विद्रोहबाट आएको माओवादी– सबैले नेपाललाई सिंगापुर बनाउने घोषणा गरेका थिए । त्यसभन्दा एक कदम अगाडि बढेर भट्टराईले त्यस्तो बोलेको राजनीतिक वृत्तमा चर्चा पनि चलेको थियो ।
२०४८ को संसदीय निर्वाचनमा पराजित भएपछि भट्टराई २०५० को उप निर्वाचनमा पुनः काठमाडौं क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनेका थिए ।
दासढुंगा दुर्घटनामा मृत्यु भएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग २०४८ को संसदीय निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यतिबेला आफू पराजित भएकै निर्वाचनमा क्षेत्रमा मदनकी पत्नी विद्या भण्डारीसँग २०५० को उप निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए । काठमाडौंको बौद्ध क्षेत्रमा भएको चुनावी सभामा भट्टराईले आफूले प्रजातन्त्रका लागि गरेको योगदानको कदर गर्न पनि भनेका थिए ।
पञ्चायती व्यवस्था भर्खरै ढलेको भन्दै उनले संघर्षमा जीवन बितेकाले राजनीतिक नेतृत्वमा प्रजातन्त्रको मूल्य–मान्यताको विकास भइनसकेको बताएका थिए । उनले निर्दलीय व्यवस्थामा विश्वास राख्नेहरूलाई पनि प्रजातन्त्र दिएको भन्दै पञ्चहरू आफैंले आफैंलाई राष्ट्रवादी र प्रजातन्त्रवादी भन्ने गरेकामा आश्चर्य पनि प्रकट गरेका थिए । उनले टकनपुरको समस्या पञ्चायतद्वारा सिर्जित समस्या भएको बताएका थिए ।
आफू प्रधानमन्त्री भएका बेला पनि टनकपुरको विषय आउने गरेको भन्दै अहिले उक्त विषयले प्रधानमन्त्री गिरिजाप्रसादलाई समस्या आएको बताएका थिए । उनले यसको जिम्मेवारी पञ्चहरूले लिनुपर्ने पनि बताएका थिए । गिरिजाप्रसादले भारतसँग गरेको सम्झौतालाई लिएर विशेषतः एमालेसहितका वामपन्थी दलहरूले सदनदेखि सडकसम्म आन्दोलन चर्काएका थिए । त्यही सन्दर्भ जोडेर भट्टराईले टनकपुर पुरानो समस्या भएको बताएका थिए ।
एक पटक पराजित भएर पुनः उम्मेदवार भएका भट्टराईको चुनावी कार्यक्रमका विषयमा कान्तिपुर दैनिकले ‘प्रजातन्त्रमा सफासफी भनिदिनुपर्छ, लुकाउनुहुन्न’ शीर्षकमा २०५० माघ १४ गते समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That proclamation of Bhattarai making Kathmandu-1 a piece of gold!](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-0762025011622-1000x0.jpg&w=1001&h=0)