काठमाडौँ — ५० को दशकमा गलैंचा, गार्मेन्ट, पर्यटन व्यवसाय र पस्मिना उत्पादन विदेशी मुद्रा आर्जन गर्ने प्रमुख नेपाली उत्पादन थियो । नेपालका लागि अमेरिकी राजदूत जुलिया चाङ ब्लकले २०५० वैशाखमा रोटरी क्लवले आयोजना गरेको ‘नेपालमा आर्थिक प्रगतिका सम्भावनाहरू’ विषयक कार्यक्रममा भनेकी थिइन्, ‘विदेशी मुद्राको आम्दानीको मुख्य स्रोत गलैंचा, गार्मेन्ट र पर्यटन हुन सक्छ ।’
उनको यो भनाइले पनि नेपालमा उत्पादित बस्तु विदेशमा निर्यात गर्न लायक भएको सन्देश दिएको थियो । नेपालले हस्तकला, शिल्पकला र काष्ठकलामा जति नाम कमाएको छ, पस्मिनालाई पनि उत्कृष्ट उत्पादनका रूपमा हेर्ने गरिन्थ्यो ।
नेपालमा आजभन्दा लगभग ७७ वर्षअघि काठमाडौंका स्वर्गीय पदमबहादुर गुरुङले सुरु गरेको पस्मिनाको उत्पादनले निरन्तरता पाउँदै ५० को दशकसम्ममा निकै चर्चा बटुलेको थियो ।
पस्मिनाका पछ्यौरा नेपालीले स्वदेशी तथा विदेशीलाई उपहारस्वरूप प्रदान गर्ने बहुमूल्य बस्तुका रूपमा स्थापित भएको थियो । पस्मिनाको उत्पादन परिमाणका हिसाबले कम भए पनि गुणस्तरीय भएकाले सबैको रोजाइ जस्तै बनेको थियो । १९८७ मा एभरेस्ट पस्मिना आर्टले भारतमा भएको ट्रेड फेयर इन्टरनेसलनमा १५ दिनमा ३ लाख कमाएको थियो । पस्मिनाबाट त्यतिबेला कमाएको उक्त रकम धेरै भएको फियरका सहभागीले बताएका थिए ।
एउटै उद्योगले त्यति रकम कमाउनुले नेपाली पस्मिनाको बजार राम्रो छ भन्ने सन्देश गएको थियो । एभरेष्ट पस्मिना उद्योगमा १५ जना परिवारका सदस्यले काम गर्थे । पस्मिना उद्योग चलाउन ऋण लिनेहरू पनि थिए । तर नाफा हुने भएकाले ऋण तिर्न खासै समस्या नहुने व्यवसायी बताउँथे ।
अचेल भने पस्मिनाका सल मेसिनबाट बनाउने प्रचलन बढेको छ । उतिबेला प्रायः हातैले बनाउने चलन थियो । त्यसैले पनि विदेशीले ‘ह्यान्ड मेड’ भन्दै नेपाली पस्मिना मन पराउने गर्थे । त्यसैले विदेशबाट आएका राष्ट्रध्यक्ष वा कुनै पनि विदेशी पाहुनालाई सार्वजनिक कार्यक्रममा पस्मिनाका सामान उपहार दिने चलन थियो ।
धेरै देशका राष्ट्रध्यक्ष र प्रधानमन्त्रीकी श्रीमतीलाई उपहारस्वरूप पस्मिनाको पछ्यौरा ओढाउने चलन पनि थियो । त्यतिबेला विदेशीलाई उपहार दिन परराष्ट्र मन्त्रालयले कारखानाबाटै पस्मिना खरिद गरेको अनुभव व्यवसायीको छ ।
२०५१ सालमा एउटा पस्मिना सलको ४ देखि ८ हजार रूपैयाँ पर्थ्यो । असल जातको पस्मिना निकै नरम र मुलायम हुन्छ । त्यतिबेला एभरेष्ट पस्मिनाले दैनिक सय वटासम्म बिक्री गर्थ्यो । पस्मिना बनाउने ऊन तिब्बतबाट आउँथ्यो । अहिले भने मंगोलिया, चीन, अष्ट्रेलियाजस्ता मुलुकबाट ल्याउने गरिएको छ । निर्यात भने अहिले युरोप, अमेरिका र जापानमा मुख्य रूपमा हुने गरेको छ । अहिले नेपालमा पस्मिना बेच्ने झण्डै ८ सय पसल छन् । पस्मिना मात्र बुन्ने दुई सयभन्दा बढी कारखाना छन् भने दर्ता भएका उद्योग चार सयको हाराहारीमा रहेका छन् ।
कतिपय उद्योगले पस्मिना र ऊनको स्विटर बनाउने गर्छन् । व्यवसायीहरूका अनुसार अहिले पनि सरकारी तथ्यांक अनुसार मुलुकबाट बर्सेनि करिब ४ अर्ब बराबरको पस्मिना निर्यात हुने गरेको छ । तर अनौपचारिक बजार र पर्यटकीय क्षेत्रलाई समेतलाई समेट्ने हो भने झण्डै बर्सेनि १० अर्बको पस्मिना विदेश जाने गरेको छ ।
चितवन, पोखरा, ठमेल, बौद्धलगायत पर्यटकीय क्षेत्रमा खुला रूपमा पस्मिना बिक्री केन्द्र रहेका छन् । भारतमा बनेको वा अन्य स्थानबाट ल्याएको नक्कली पस्मिनालाई नेपाली ब्रान्ड राखेर बेच्ने समस्या चार दशकदेखि चुनौतीका रूपमा रहेको छ । झण्डै चार दशकअघि नेपालमा पस्मिना उद्योगको अवस्था, बजारीकरण र उद्यमीको अनुभवलाई समेटेर विकास सञ्चार केन्द्रका लागि राज गौतमले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० माघ २ मा ‘नेपाली पस्मिना विदेशीबीच लोकप्रिय’ शीर्षकमा प्रकाशित गरेको थियो ।
कच्चा पदार्थ ल्याएर नेपालमै बनाइने पस्मिना उद्योगको भविष्य अझै उज्ज्वल रहेको व्यवसायीको भनाइ छ । तर नेपाली ब्रान्डको मार्केटिङ भने कमजोर रहेको उनीहरू बताउँछन् ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Nepali pashmina was given as a gift to foreign guests](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-0562025125325-1000x0.jpg&w=1001&h=0)