काठमाडौँ — २०५० मंसिर ४ मा कांग्रेसको केन्द्रीय समिति बैठकले कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णयलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन पराएका थिएनन् ।
त्यसको असन्तुष्टि भट्टराईको चुनावी प्रचारको अभियान चलिरहेकै बेला प्रधानमन्त्री कोइरालाले २०५० माघ १७ मा दिएको १७ मिनेटको रेडियो वक्तव्यले पुष्टि गरेको थियो । उनले पढेको वक्तव्य रेडियो नेपालबाट प्रसारण भएको थियो । रेडियो नेपालबाट उक्त उक्त वक्तव्य आएपछि भट्टराईका मतदाता र शुभचिन्तक समेत अलमलमा परेका थिए । वक्तव्यमार्फत अप्रत्यक्ष रूपमा भट्टराईलाई चुनाव जिताउन आवश्यक नभएको धारणा कोइरालाले राखेका थिए ।
वक्तव्य सार्वजनिक भएपछि कांग्रेसमा निकै ठूलो हलचल ल्याएको थियो । यसले पार्टीभित्र झन् द्वन्द्व बढाउने संकेत त्यतिबेलै देखिएको थियो । त्यसको समाधानका लागि कांग्रेसका नेतात्रय गणेशमान सिंह, भट्टराई र कोइराला एउटै थलोमा बसेर एक भएको सन्देश पनि दिएका थिए ।
तर निर्वाचनअघि जुन पृष्ठभूमि बन्यो, त्यसले कोइराला र उनका अनुयायीहरूको गतिविधिले भट्टराइलाई हराउने संकेत प्रस्ट दिएको थियो । आफूलाई कोइराला पक्षको भन्दै विभिन्न स्थानमा बसेर नेपाल विद्यार्थी संघ र केही युवा नेताहरू भट्टराईलाई चुनाव हराउन लागेको सूचनाहरू बाहिरिएको थियो । भट्टराईलाई चुनाव हराउन अभियान चलाउने नेताहरूमध्ये केही अहिले पनि पार्टीको ‘फ्रन्ट लाइन’मा काम गरिरहेका छन् । कोही सांसद छन् भने कोही पार्टीको गतिविधिबाट टाढा छन् ।
२०५० माघ २५ को उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउन नहुने तर्कमा पार्टीभित्रकै एउटा पक्ष उभिएको थियो । त्यतिबेला नै पार्टीको एउटा खेमाले भट्टराईको उम्मेदवारीप्रति असन्तुष्ट जनाएको थियो । नभन्दै चुनावको मतगणना नसकिँदै भट्टराई पराजित हुने संकेत देखिएको थियो । झण्डै ६ हजार मतले भट्टराई पछि परेपछि त्यसको सबै दोष प्रधानमन्त्री कोइराला र उनको समूहलाई लगाइएको थियो ।
मत गणनामा एमाले उम्मेदवार विद्या भण्डारीसँग पराजित हुने सम्भावना बढेपछि कांग्रेसको एउटा पक्षले प्रधानमन्त्री गिरिजाप्रसादविरुद्ध राजधानीमा नाराजुलुस गरेको थियो । । २०५० माघ २६ साँझ कांग्रेसका युवाहरूले प्रधानमन्त्री कोइराला मुर्दावाद, कृष्णप्रसाद भट्टराई जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद’ को नारा लगाएका थिए । युवाहरूले प्रधानमन्त्री कोइरालाले एमालेसँग मिलेर भट्टराईलाई हराउन षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
विशेषगरी नेविसंघका विद्यार्थीहरूले निकालेको जुलुस प्रधानमन्त्री निवास बालुवाटारतर्फ गएको थियो । जुलुस बालुवाटारतिर लागेपछि शान्ति सुरक्षा कायम राख्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । नेविसंघका कार्यकर्ताले कोइरालाले अन्तर्घात गरेर भट्टराई हराएकाले राजीनामा दिनुपर्ने बताएका थिए ।
आफ्नै पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेर बालुवाटार घेर्ने भएपछि प्रधानमन्त्री निवासमा ७/८ ट्रक हतियारधारी प्रहरी तैनाथ गरिएको थियो । बालुवाटार वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । कोइरालाविरुद्धको जुलुस माघ २६ गते बेलुकी बालुवाटारतिर जाने क्रममा प्रहरीले राष्ट्र बैंक पुगेपछि रोकेको थियो ।
जुलसका सहभागी निकै निराश देखिन्थे भने बेलाबेलामा उत्तेजित पनि हुने गरेका थिए । उत्तेजित जुलुसले कान्तिपुर दैनिकका फोटो पत्रकारद्वय चन्द्रशेखर कार्की र विकास रौनियारलाई हातपातको प्रयास पनि गरेको थियो । उनीहरू जुलुसको फोटो खिच्न गएका थिए ।
त्यतिबेला नेविसंघका अध्यक्ष एनपी साउद थिए । उनले जुलुस र भट्टराईको निर्वाचनका विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका थिए । कांग्रेसको आन्तरिक कलहको परिणामले भट्टराई पराजित हुने संकेत पाएपछि पार्टीमा देखिएको असन्तुष्टिको विषय समेटेर कान्तिपुर दैनिकले ‘प्रधानमन्त्रीको विरोधमा नेका कार्यकर्ताको जुलुस’ शीर्षक समाचार २०५० माघ २७ गते प्रकाशित गरेको थियो ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा जिप दुर्घटनामा २०५० जेठमा मृत्यु भएपछि काठमाडौं– १ मा उपनिर्वाचन भएको थियो । एमालेले मदन पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो । सर्वसाधारणको सहानुभूतिको मत विद्यालाई जाने खतरा त थियो नै त्यसमा पनि कांग्रेसको आन्तरिक कलहले भट्टराई पराजित हुने संकेत पहिल्यै गरिएको थियो ।
प्रधानमन्त्री कोइरालाले भट्टराईले निर्वाचन जित्नु भनेको आफ्नाविरुद्ध प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार तयार हुनु हो भन्ने बुझेका थिए ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Girija Prasad was called dead by his own workers...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-1462025012244-1000x0.jpg&w=1001&h=0)