काठमाडौँ — विद्यादेवी भण्डारी सांसद, मन्त्री हुँदै गणतान्त्रिक नेपालको दुईपटक राष्ट्रपति बनिन् । अहिले पनि यो वा त्यो रूपमा उनको चर्चा सेलाएको छैन । मुलुकमा पहिलो महिला राष्ट्रपतिको इतिहास बनाएकी विद्यादेवीले अहिले फेरि एमालेकै नेतृत्व लिने तहसम्मको बहस पनि सुरु भएको छ ।
२०४६ को राजनीतिक परिवर्तनपछि पनि पार्टीको मूलधारको कुनै पदमा नरहेकी विद्यादेवीलाई जब एमालेले काठमाडौं–१ को संसदीय उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गर्यो, उनको राजनीतिक जीवनको पहिलो र महत्त्वपूर्ण खुड्किलो त्यही साबित भयो । उम्मेदवार बन्ने मात्र नभई प्रजातान्त्रिक आन्दोलनका एक शीर्ष र त्यागी व्यक्तित्व कृष्णप्रसाद भट्टराइलाई काठमाडौं–१ बाट पराजित गर्नु विद्याको राजनीतिक जीवनका लागि सूर्योदय नै साबित भएको जानकारहरू बताउँछन् ।
२०४८ सालको संसदीय निर्वाचनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले कांग्रेसका तत्कालीन सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराईलाई काठमाडौं– १ बाट हजारभन्दा कम मतले पराजित गरेका थिए । महासचिव मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ मा दासढुंगा जिप दुर्घटनामा मृत्यु भएपछि काठमाडौं–१ मा २०५० माघ २५ मा उपनिर्वाचन भएको थियो ।
मदनको योगदानको कदर हुने र मतदाताको सहानुभूति पनि पाउने विश्लेषणका आधारमा लामो छलफलपछि एमाले केन्द्रीय समितिले विद्यालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । केहीले कृष्णप्रसादको व्यक्तित्वसँग विद्याको उम्मेदवारी फिक्का साबित हुने टिप्पणी पनि नगरेका होइनन् । भट्टराईले भने आफू २०४८ को निर्वाचनमा नहारेको तर हराइएको भन्दै चुनावी सभाहरूलाई सम्बोधन गरिरहेका थिए ।
तर अन्ततः मदनको मृत्युले बटुलेको सहानुभूतिको मत र कांग्रेसभित्रको अन्तर्घातले विद्याले सजिलै निर्वाचन जितिन् । निर्वाचन जितेपछिको पहिलो विजय जुलुसमा विद्याले भनेकी थिइन्, ‘कसैले पनि गर्भबाटै सबै कुरा सिकेर आएको हुँदैन ।’
उपत्यकामा निस्केको विजय जुलुसमा सेतो पहिरनमा गलामा हरियो पात गाँसेर बनाइएको ‘विजय हार’ लगाएर दुई नाबालिका छोरी साथै लिएर हिँडेकी विद्याले ‘म मेरा मतदाताले दिएको विश्वासलाई कायमै राखी हरेक संसदीय अभ्यासमा जुझारु भएर लागिरहने प्रण गर्दछु’ वाचा गरेकी थिइन् । विजय जुलुसमा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारी तथा महासचिव माधव कुमार नेपालसहितका नेता, कार्यतकर्ता, शुभचिन्तक र सर्वसाधारणको उपस्थिति थियो ।
निर्वाचनका विषयमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष अधिकारीले फरक प्रसंगमा कान्तिपुरसँग भनेका थिए, ‘कृष्णप्रसादको ठाउँमा म भएको भए प्रधानमन्त्रीलाई कारबाही गर्थें ।’ अधिकारीले सत्तारुढ पार्टीभित्रको अन्योलका बारेमा टिप्पणी गर्दै भनेका थिए, ‘यो कुनै नौलो कुरो होइन, लडाइँ गरेजस्तो गरेर मिल्ने कांग्रेसका नेताहरूको खेल धेरै पुरानो भइसक्यो ।’
त्यतिबेला काठमाडौंको उपनिर्वाचनमा विद्या पराजित भएको भए सायद अहिले विद्याको उचाइ यो तहसम्म पुग्ने थिएन होला । त्यसैले उक्त निर्वाचन परिणाम सार्वजनिक भएपछि राजनीतिक विश्लेषकहरूको टिप्पणी थियो, ‘विद्या भण्डारीको राजनीतिक जीवनको सूर्योदय भएको छ ।’
गुटबन्दीले भट्टराईविरुद्ध जुन खालको अन्तर्घात भएको थियो, त्यसको चर्चा भने अहिले पनि कांग्रेसजनमा हुने गरेको छ । विशेषतः कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र प्रधानमन्त्री कोइरालाबीचको ‘इगो’ ले अन्तर्घातलाई प्रसय दिएको थियो ।
विद्याले कृष्णप्रसादलाई पराजित गरेपछिको विजय जुलुस र उपनिर्वाचनको विषयलाई सन्दर्भ बनाएर पत्रकार रवि अधिकारीले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘नेकपा एमालेको विजय जुलुस’ शीर्षकमा २०५० माघ २८ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That political life of Vidya that started by defeating Krishna Prasad](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-1562025011700-1000x0.jpg&w=1001&h=0)