[अर्काइभ] त्यसबेला काठमाडौंको ‘बफ मःम’

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

[Archive] At that time, Kathmandu's 'buff masham'

काठमाडौँ — अचेल मःम भन्ने बित्तिकै बफ (राँगा र भैंसी) चिकन (कुखुरा) र भेज (सागसब्जी, पनिर आदि) लाई मैदाको पीठोभित्र राखेर बनाएको सेतो डल्लो भन्ने बुझिन्छ । बच्चादेखि बुढापाकासम्म मःमका पारखी नभएका सायदै छन् ।

अहिले त काठमाडौं उपत्यका मात्र होइन– गाउँ, बजार र लेकाली बस्तीहरूमा पनि मःम खाने चलन बढ्दै गएको छ । सहर बजारमा मात्र होइन, घरमै मःम बनाएर खाने चलन पनि हुर्कंदै गएको छ । मःम पसलहरू विभिन्न नाममा चोकचोक र गल्लीगल्लीमा भेटिन्छन् । 

झन्डै ६० को दशकसम्म महाबौद्धलाई काठमाडौं उपत्यकामा मःम पाउने थलोका रूपमा चिनिने गरेको थियो । अहिले पनि चिनिन्छ तर यसको बजार फराकिलो भएर जताततै गएको छ । मःमको ब्रान्ड पनि सुरु भएको छ ।

विभिन्न नामले चिनिने मःमको ब्रान्ड उपत्यकामा मात्र ६०–७० वटा रहेको अनुमान छ । तर अहिले मिठाइ पसलदेखि चिया पसलहरूबाट मःम बेचिन्छ । मःमलाई धनी, गरिब र मध्यम वर्ग सबैको लोकप्रिय खाजाका रूपमा लिइन्छ । जताततै मःम बेच्ने होटलहरू खुलेका छन् । काठमाडौं उपत्यका मात्र होइन, मुलुकभरकै अवस्था यस्तै छ । 

५० को दशकसम्म कुखुरा र खसीको मःमको चलन खासै थिएन । अहिले ५० वर्ष उमेर काटेका पुरानो पुस्तामध्ये धेरैले त सम्भवतः राँगा र भैंसीको मासुबाट बनेको मःमबाटै खान सिकेकै हो । त्यतिबेला कतैकतै बंगुरको मासुबाट पनि मःम बनाउने चलन थियो । अहिले त कोदो, फापरसमेतको प्रयोग गरेर मःम तयार गरिन्छ ।

त्यतिबेला महाबौद्धमा बफ मःम मात्र पाइन्थ्यो । उक्त स्थानमा अहिले पनि मःम पसल रहेको छ । संख्या भने कम भइसकेको छ । त्यतिबेला मःम पाउने मुख्य ठाउँ महाबौद्ध, कमलाक्षी, बौद्ध, पुतली सडक, कालिकास्थान, न्युरोड, भगवती बहाल, दरबारमार्ग, भीमसेनस्थान, बटु गल्ली, चोकाछे गल्ली लगायतका थिए । ललितपुर र भक्तपुरको तुलनामा काठमाडौंमा धेरै मःमका होटल वा पसल थिए । 

३२ वर्षअघि काठमाडौंका मःम होटलले दैनिक ३ हजार व्यापार गर्दा धेरै ठूलो मानिन्थ्यो । त्यतिबेला प्रतिप्लेट मःम १५ देखि २५ रुपैयाँसम्म पर्थ्यो । दरबारमार्ग लगायतका महत्त्वपूर्ण स्थानका होटलहरूले भने प्रतिप्लेट सयभन्दा बढी लिने गर्थे ।

त्यतिबेला एउटै मःम होटलले १५ जनासम्म कामदार राखेका थिए । रोजगारीको महत्त्वपूर्ण थलो बनेको थियो । कान्तिपुरले उपत्यकामा सञ्चालित मःम व्यापारलाई मुख्य विषय बनाएर २०५० भदौ २६ गते ‘व्यवसायको आकर्षण : काठमाडौंका मःम पसलहरू’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully