[अर्काइभ] ‘...त्यसैले भनिन्थ्यो, दार्चुलेहरू जहिल्यै भेडाको पछिपछि !’ 

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

[Archive] '...that's why it was said, the Darchules are always after the sheep!'

काठमाडौँ — दार्चुलावासी अहिले पनि सीमा जोडिएको तिब्बतको ताक्लाकोटमा वर्षैपिच्छे महिनौं बसेर व्यापार गर्छन् । यस्तो व्यापार दशकअघिसम्म ठूलो परिमाणमा हुन्थ्यो । कोभिडपछि लामो समय आउजाउमा रोक लगाएका कारण थप प्रभावित भएको हो । अहिले नेपालबाट तिब्बतको ताक्लाकोटमा हुने परम्परागत व्यापार न्यून रूपमा मात्र चलिरहेको छ ।

अहिले विशेषतः शौका जातिले परम्परागत व्यापारलाई थोरै भए पनि धानेका छन् । नेपालीहरू डेढ दशकअघिसम्म हरेक वर्षको गर्मी मौसममा गुलियो बस्तु गुँड, भेली र मिस्री बेच्न तिब्बत जाने गर्थे । यस्तो व्यापार पुस्तौंदेखि हुँदै आएको विश्वास छ । दार्चुलावासी भन्ने गर्छन्, ‘यो परम्परागत रूपमा चल्दै आएको व्यापार हो । कहिलेदेखि चल्यो, थाहा छैन ।’

फरक यति छ कि झण्डै ६० को दशकसम्म यताबाट गुलियो बस्तु लगेर उताबाट सबैभन्दा धेरै भेडाको ऊन, च्यांग्रा, बाख्रा र ढिके नुन ल्याउने गरिन्थ्यो । उताको भेडाको ऊन गुणस्तरीय हुने विश्वास थियो । तर अचेल भने लैजाने बस्तु उही भए पनि परिमाण भने न्यून छ । 

ऊन र नुन ल्याउन छाडिएको छ । अचेल भने तयारी पोसाक, जुत्ता र कस्मेटिक सामान ल्याउन थालिएको छ । गुँड, भेली र मिस्री भारतमा किनेर तिब्बत लैजाने गरिन्थ्यो । किनकि, नेपाली उत्पादनले ताक्लाकोटको माग धान्दैन । नेपालीहरू ताक्लाकोटमा गोठ हालेर ६ महिनासम्म बसेर व्यापार गर्थे । तिब्बतीहरू टाढाटाढाबाट नेपालीले लगेको सामान किन्न आउँथे । ताक्लाकोटमा गर्मी मौसममा स्थानीयका अनुसार एकप्रकारको हाटबजार नै लाग्थ्यो । 

[Archive] '...that's why it was said, the Darchules are always after the sheep!'

अहिले भारतले ताक्लाकोट नजिकै सडक पुर्‍याएको छ । तिब्बत सरकारले ताक्लाकोटलाई बजार बनाएको छ । धेरै सामान तिब्बतको मुख्य सहरबाटै ताक्लाकोट ल्याउन थालेपछि नेपालीहरू व्यापारका लागि जाने क्रम धेरै रोकिएको छ । भारतले पनि आफ्नो सामान ताक्लाकोटसम्म पुर्‍याउने गरेको छ ।

ताक्लाकोटमा उब्जनी कम हुने भएकाले त्यतिबेला नेपालीले लैजाने बस्तु सहज रूपमा बिक्री हुने गर्थ्यो । भेडालाई भारी बोकाएर दार्चुलावासीले आफैंले उत्पादन गरेको र भारतमा खरिद गरेको सामान ताक्लाकोट लैजान्थे । अहिले उता जानेहरूले पनि खच्चरको प्रयोग गर्छन् । ताक्लाकोट जान दार्चुलाको सदुमुकाम खलंगाबाट भारतर्फको झोलुंगे पुल तर्नुपर्छ ।

भारतबाट नेपाली भुभाग छाङरु र टिंकर पुगिन्छ । कतिपयले केही दिन टिंकरमा खेतीपाती लगाउँथे । गर्मी मौसम लागेकाले अचेल टिंकरमा जाने र खेती लगाउनेहरू भेटिन्छन् । उतिबेला भने उनीहरूख खेती लगाएर व्यापारका लागि तिब्बत जाने गर्थे । टिंकर र छाङरुवासी जाडो मौसममा सदरमुकामलगायतका स्थानमा बस्छन् भने गर्मीमा आफ्नो पुर्ख्यौली थलो फर्केर खेतीपाती गर्छन् ।

खेतीपाती लगाएर उनीहरूमध्ये केही व्यापारका लागि ताक्लाकोटा जाने गरेका थिए । जाडो मौसममा सबैका घरमा ढोका लगाएर बेसी झर्ने चलन छ । त्यो चलन अहिले पनि हराएको छैन । केही घरहरूमा भने कुरुवा राख्ने गरिन्छ । हिउँ धेरै पर्ने भएकाले जाडो मौसममा त्यहाँ बस्न सकिँदैन । 

३२ वर्षअघिसम्म दार्चुलावासी एकै जनाले सय भन्दा बढी भेडा पालन गर्थे । उनीहरूले भेडालाई भारी बोकाएर व्यापारिक वस्तु ताक्लाकोट लैजाने गर्थे । उताबाट त्यतिबेला नुन, ऊन, जुत्ता र कपडा ल्याउने गरेका थिए । एउटै नेपाली व्यापारी सामान बिक्री गर्न ६ महिनासम्म ताक्लाकोट बस्ने गरेका थिए । यताबाट उता सामान बोक्ने ढुवानीको साधन भेडा नै थियो । विदेशी जनावरले रोग ल्याउँछ भन्ने मान्यताले भारी बोक्ने भेडालाई तिब्बती अधिकारीहरूले सीमा पुगेपछि सुइ लगाउने गर्थे ।

५० को दशकमा दार्चुलाका व्यापारीले टिंकर नाकाबाट तिब्बत प्रवेश गर्न चार भेलीको एक रुपैयाँ प्रवेश शुल्क तिर्ने गर्थे भने भेडालाई लगाएको प्रतिसुई बराबर चार रुपैयाँ शुल्क लाग्ने गरेको थियो । सीमा तिब्बती अधिकारीहरूले प्रतिभेडा र भारीको ५० रुपैयाँ धरौटी लिने गर्थे । धेरै पहिले त भारत र तिब्बतको नाकामा सरकारी उपस्थिति नै थिएन भन्दा हुन्थ्यो । किनकि, आउजाउमा कसैले निगरानी गर्दैनथे । 

[Archive] '...that's why it was said, the Darchules are always after the sheep!'

दार्चुलावासी भन्ने गर्थे, ‘ताक्लाकोटमा गरेको व्यापारले हाम्रो घरखर्च चल्छ ।’ बर्सेनि सयौं नेपाली व्यापारका लागि ताक्लाकोट जाने गरेका थिए । जाडो मौसममा तिब्बतमा बसेर व्यापार गर्ने र गर्मीमा भेडालाई खाद्यान्न बोकाएर बझाङ, अछाम, दिपायल, डडेलधुरा, बैतडी जाने गर्थे । तिब्बतमा बस्दा भारी बोकाएको भेडाको मूल्य धेरै कम पाउने भएकाले बरु आफैं काटेर खाने गरेको अनुभव उनीहरूसँग रहेको छ ।

नेपालीहरू भेडा बुढो भएमा काटेर खान मिलेन भने सस्तोमा बिक्री पनि गर्थे । हिउँदभर देशभित्रै खाद्यान्न ढुवानी, वर्षाभर तिब्बतमा व्यापार गर्ने भएकाले ‘दार्चुलावासी जहिल्यै भेडाको पछिपछि’ भनेर जिस्क्याउने चलन थियो । दार्चुलामा अहिले भने भेडा पालन छैन । व्यापारका लागि तिब्बत जाने व्यापारी धेरै कम छन् । जानेहरूले पनि खच्चरको प्रयोग गरेर ढुवानी गर्छन् । 

 तिब्बतको ताक्लाकोट आउजाउ, त्यहाँको भौगोलिक अवस्था, चीन, भारत र नेपालको त्रिदेशीय सीमासँग जोडिएको दार्चुलावासीलाई जीविका चलाउन भोगेको दुःख र दैनिक जनजीवनका विषयमा केन्द्रित रहेर पत्रकार नारायण वाग्लेले ताक्लाकोटमै पुगेर लेखेको समाचार कान्तिपुर दैनिकले ‘तिब्बतसँगको परम्परागत व्यापार लोप हुने स्थितिमा’ शीर्षकमा २०५० भदौ २४ गते प्रकाशन गरेको थियो ।

तिब्बततिर नेपाली सीमानामा सडक जोडिन लागेको छ भने यतापट्टि भने यातायात सञ्चालन हुने अवस्था छैन । चीन र भारतले आफ्नो सीमामा विकासका पूर्वाधार धमाधम निर्माण गरिरहेका छन् । तर नेपालमा आफ्नै गाउँ जान पनि भारत भएर जानुपर्ने बाध्यात्मक परिस्थिति कहिले अन्त्य हुन्छ भन्ने अनुमान लगाउन पनि सक्ने अवस्था छैन । 

 प्रस्तुति : ऋषिराम पौड्याल 

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully