काठमाडौँ — तीन दशकअघिसम्म नेपालले विदेशी मुद्रा आम्दानी गर्ने प्रमुख स्रोतमध्ये गलैंचा निकासी पनि एक महत्त्वपूर्ण हिस्सा थियो । ५० को दशकमा नेपालबाट बर्सेनि १३ देखि १४ अर्ब रुपैयाँ बराबरको नेपाली बस्तु निकासी हुने गरेकामा गलैंचाको स्थान झण्डै ६० प्रतिशत थियो ।
त्यतिबेलाको सरकारी तथ्यांक अनुसार सन् १९९०/९२ मा करिब ६ अर्बको गलैंचा जिर्मनी निकासी भएको थियो । गलैंचाको ठूला मार्केट जर्मनी थियो । बर्सेनि २५ लाख वर्गमिटर गलैंचा जर्मनी निकासी हुन्थ्यो । नेपाली गलैंचा निकासीको अर्को बजार अमेरिका थियो । त्यसैले २०५० वैशाख २७ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले नेपालले विदेशी मुद्रा आम्दानी गर्न निकासी बढाउन सकिने बस्तु गलैंचा पनि भएको बताएकी थिइन् ।
खासगरी ९० को दशकमा सोभियत संघ, जर्मनीसहितका देशहरूमा कम्युनिस्ट शासकलाई सत्ताच्यूत गरेका कारण विश्वभर आर्थिक उदारीकरणको युग सुरु भएको मानिन्थ्यो । नेपालमा २०४६ को परिवर्तनपछि सरकारले अँगालेको आर्थिक उदारीकरणले लगानीको वातावरण बन्दै गएको थियो । त्यही सिलसिलामा निकासीको प्रचूर सम्भावना रहेको भन्दै गलैंचा कारखाना सञ्चालन गर्ने र उत्पादितक गलैंचा निकासी गर्ने होडबाजी नै चलेको थियो ।
डिजाइन आफैं दिएर नेपाली गलैंचा बुन्न लगाउने उद्देश्यले अमेरिकी डिजाइनहरू नेपाल आएका थिए । २०५० भदौमा केन्द्रीय गलैंचा उद्योग संघको आयोजना र अमेरिकी सहयोग संस्था(यूएसआईडी)को प्रायोजनमा काठमाडौंमा ‘नेपाली गलैंचाका लागि अमेरिकी बजार’ शीर्षकमा गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीको खास उद्देश्य नेपाली गलैंचाको वैकल्पिक बजार खोज्नु थियो ।
नेपाल सरकार, अमेरिकी दूतावासका अधिकारी र नेपाली गलैंचा उत्पादहरूको सहभागितामा आयोजित गोष्ठीमा अमेरिकी दूतावासको राजनीति र अर्थ विभागमा पिटर एस गडजिन्स्कीले विदेशी मुद्रा आम्दानी गर्ने सबैभन्दा धेरै सम्भावना भएको गलैंचा उद्योगलाई सघाउने बताएका थिए । त्यतिबेला नेपाली गलैंचा उद्योगमा बाल मजदुरको प्रयोग धेरै भएको चर्चा थियो । विशेषतः गैरसरकारी संस्थाहरूले यसलाई उचालेका थिए । भएको भन्दा बढी उचालेर नेपाली गलैंचा उद्योगलाई धराशयी बनाएको लगानीकर्ताहरूको गुनासो रहेको थियो ।
तत्कालीन वाणिज्य राज्यमन्त्री सुरेन्द्रप्रसाद चौधरीले बालबालिकाको प्रयोग गरेर गलैंचा बुन्ने गरेको अनावश्यक हल्ला फिँजाएको बताएका थिए । त्यतिबेला बाल मजदुरको प्रयोगको विषयले गलैंचा उद्योगलाई नै नकारात्मक प्रभाव पारेको थियो । यसलाई व्यवस्थित गर्नेभन्दा पनि कारखानाबाट हटाउने अभियान नै चलाएका कारण अन्तर्राष्ट्रिय बजारमा समेत यसको असर परेको थियो ।
यो गोष्ठीमा गलैंचा उद्योग संघका अध्यक्ष विजयबहादुर श्रेष्ठले नेपाली गलैंचा अमेरिकामा १ प्रतिशत मात्र निकासी हुने भएकाले बढाउने गरी नीति बनाउनुपर्ने बताएका थिए । उनका अनुसार निकासी बढाउन अमेरिकी डिजाइनमा उत्पादन गर्न उतैका डिजाइनरहरूलाई कार्यक्रममा सहभागी गराइएको थियो । अमेरिकी डिजाइनरहरू नेपाली गलैंचाको डिजाइन र रंगका बारेमा छलफल गर्न आएका थिए । उनीहरूले अमेरिकीले चाहेजस्तो गलैंचा बुन्न सकेमा निकासी धेरै हुने बताउने गर्थे ।
त्यतिबेला बर्सेनि करिव २३ हजार वर्गमिटर गलैंचा मात्र अमेरिका निर्यात भइरहेको तथ्यांक थियो । त्यतिबेला नेपालमा करिब २३ लाख वर्गमिटर कार्पेट उत्पादन हुने गरेको थियो । अमेरिकी दूतावासका अधिकारीहरू नेपाली डिजाइनको गलैंचा नभएको र तिब्बती डिजाइनलाई नै नेपाली भन्ने गरेको बताउने गर्थे । त्यसले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गलैंचाको पहिचान अझै नभएको बुझ्न सकिन्थ्यो ।
अमेरिका र क्यानडामा गलैंचा पठाउन सकेमा युरोपियन मुलुकमा पनि बजार विस्तार गर्न सकिने सुझाव अमेरिकी अधिकारीहरूले नै दिएका थिए । गलैंचाको डिजाइन अमेरिकीले मन पराउने बनाउने र निकासीमा सहयोग गर्ने उद्देश्यले अमेरिकाले यूएसआईडीमार्फत गोष्ठी र प्रशिक्षण सञ्चालन गर्न सहयोग गरिरहेको थियो ।
नेपालको उत्पादन निकासी गरेर उत्साहजनक रूपमा विदेशी मुद्रा आम्दानी गरिरहेको गलैंचा उद्योग र यसको बजार विस्तारका बारेमा पत्रकार रवि अधिकारीले तयार गरेको ‘गलैंचाको पनि नेपाली डिजाइन छ र ?’ शीर्षक समाचार कान्तिपुर दैनिकले २०५० भदौ २० गते पहिलो पृष्ठमा प्रकाशन गरेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] American designers in Kathmandu to boost production of Nepalese carpets](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/kantipur-1942025125945-1000x0.jpg&w=1001&h=0)