[अर्काइभ] काठमाडौं उपत्यका कसरी बन्यो एसियाकै प्रदूषित सहर ?

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

[Archive] How did Kathmandu Valley become the most polluted city in Asia?

काठमाडौँ — गत चैतको अन्तिम दुई साता काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरका रूपमा चर्चामा रह्यो । हावाको गुणस्तर नाप्ने आईक्यू एअरका अनुसार वायुको एअर क्वालिटी इन्डेक्सले यस्तो अवस्था देखाएको हो ।

काठमाडौं उपत्यका मात्र होइन, यो समय मुलुक आसपासका बजार र गाउँहरूमा पनि तुवाँलोले ढाक्यो र प्रदूषण फैलियो । २०७८ सालको एक अध्ययनले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण स्वास्थ्यका लागि निकै खतरा मानिएको थियो । काठमाडौंमा बढी प्रदूषण हुनुको मुख्य कारण सवारी साधन र सडकबाट निस्कने धूवाँ र धूलो नै हो ।

पहिलेको तुलनामा उपत्यकाबाट इँटाभट्टाहरू धेरै कम भएका छन् भने विद्युतीय गाडीको प्रयोग पनि बढेको छ । तर धूले सडक र पुराना सवारीसाधनका कारण हुने प्रदूषण भने रोकिएको छैन । 

सरकारले हरेक एक लिटर डिजेल र पेट्रोल बिक्रीबाट १ रुपैयाँ ५० पैसा लिने गरेको छ । प्रदूषण नियन्त्रण शीर्षक नै राखेर सरकारले पेट्रोल र डिजेलमा उपभोक्ताबाट रकम उठाउँदै आए पनि यसरी संकलन भएको रकम वातावरण प्रदूषणसम्बन्धी अध्ययन, अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा लगानी हुनुपर्ने हो । तर, उक्त रकम कहाँ, किन र कसरी खर्च भइरहेको छ भन्ने सरकारी निकायलाई नै पत्तो छैन । 

काठमाडौं उपत्यकाको प्रदूषणको विषय अहिले मात्र उठेको भने होइन । तीन दशकअघिदेखिको यो समस्याप्रति सरकार नै जिम्मेवार रहेको देखिन्छ । किनकि, तीन दशकअघि नै यो समस्या देखिएको थियो । 

५० को दशकमा विशेषतः पुराना सवारी साधनले धेरैभन्दा धेरै प्रदूषण उत्पादन गरेको अध्ययनले देखाएको थियो । डेनभर रिमोट सेन्सिङ इन्सिच्युटका अनुसन्धानकर्ताहरूले २०५० भदौमा काठमाडौंमा गरेको एक अध्ययनले सवारी साधनबाट हुने प्रदूषण एसियाकै सबैभन्दा बढी काठमाडौंमा रहेको विवरण सार्वजनिक गरेको थियो । विश्वमा मेक्सिको सहरपछि काठमाडौंमा सवारी साधनको प्रदूषण धेरै रहेको अध्ययनले देखाएको छ । 

काठमाडौं उपत्यकामा कार्वन अक्साइड हाइड्रो कार्बन प्रदूषण अझ बढी रहेको रिपोर्ट सार्वजनिक गरिएको थियो । अध्ययनका क्रममा काठमाडौं उपत्यकाको ५ हजार ७ सय ३७ सवारी साधनको नमुना परीक्षण गरिएको थियो । 

समाचार संस्था एपीका अनुसार ट्याक्सी र सार्वजनिक बसको धूवाँले सबैभन्दा धेरै प्रदूषण बढाएको जनाएको थियो । एपीले अमेरिकी वातावरणविद्हरूको हवाला दिएर प्रकाशित समाचारमा सार्वजनिक सवारी साधनबाट काठमाडौं उपत्यकालाई रुग्ण बनाएको हो ।

क्लोराडोस्थित डेन्भर विश्वविद्यालयका रिमोट सेन्सिङ इन्सिच्यूटका रसायनविद् डोनाल्ड एच स्टेडमेन्टका अनुसार हङकङको तुलनामा काठमाडौंका सवारी साधनले ५ गुणा बढी धूवाँ निकाल्ने गरेका छन् । काठमाडौं उपत्यकामा भएको प्रदूषणका बारेमा २०५० भदौ १२ गते कान्तिपुर दैनिकले ‘काठमाडौं एसियाको सबभन्दा प्रदूषित सहर’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully