[अर्काइभ] कम्युनिस्ट मुलुकलाई पोलिथिन पाइप खरिदमा बन्देजबारे राष्ट्रियसभामा छलफल

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

[Archive] Discussion in the National Assembly about banning the purchase of polythene pipes to communist countries

काठमाडौँ — वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि विकास साझेदारहरूले विकास कार्यक्रमका लागि आर्थिक सहयोगको ढोका फराकिलो बनाएका थिए । दातृराष्ट्रहरूले गर्ने सहयोगबाट गरिने कार्यक्रमअन्तर्गत खानेपानी आयोजनाहरू सञ्चालन गर्ने योजना सरकारले ल्याएको थियो ।

यही सिलसिलामा जापान सरकारले डेस्ट रिलिफ फन्डअन्तर्गत दिने सहयोगको टन्डरमा कुन कुन मुलुकले भाग लिन पाउने र नपाउने भन्ने विवाद चुलिँदै गएपछि राष्ट्रियसभाका तत्कालीन सांसद चन्द्रराज ढुंगेलले सार्वजनिक महत्त्वको प्रस्ताव नै दर्ता गराएका थिए । पाइप खरिदको विषय संसद‍्मा प्रवेश गरेपछि छलफल गराइएको थियो । 

खासमा पाइप खरिदको ग्लोबल टेन्डरमा चीन र उत्तर कोरियाले भाग लिन नपाउने सन्दर्भ उठेपछि सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको हो । त्यतिबेला साम्यवादी मुलुक र प्रजातान्त्रिक मुलुक भन्ने भावना धेरैमा थियो । ९० को दशकपछि विश्वमा कम्युनिस्ट दर्शन कमजोर भएको धारणा प्रजातन्त्रवादीहरूले राख्ने गर्थे ।

कम्युनिस्टहरूले यस्तो धारणा मन पराउँदैनथे । दुवै पक्षको सैद्धान्तिक अडानले एक प्रकारको राजनीतिक द्वन्द्वको खाडल बढाउँदै लगेको देखिन्थ्यो । झन् २०४८ को निर्वाचनपछि बनेको कांग्रेस नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच त अनेक आरोह अवरोह चल्दै आएको थियो । 

[Archive] Discussion in the National Assembly about banning the purchase of polythene pipes to communist countries

तत्कालीन आवास तथा भौतिक योजना सहायक मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद‍्मा प्रवेश गरेको विषय केन्द्रित रहेर राष्ट्रियसभामा जवाफ दिएका थिए । टेन्डर आह्वानका क्रममा नेपाली व्यवसायी, चीन र उत्तर कोरियालाई प्रवेश निषेध हुने गरी सर्त राखेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले विरोध जनाएका थिए । सरकारले नै यस्तो निर्णय गर्दा नेपाली व्यवसायी हतोत्साही हुने र छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध पनि बिग्रिने एमाले सांसदहरूको धारणा थियो ।

मुलुकका विभिन्न स्थानमा सञ्चालन हुने खानेपानी योजना सञ्चालन गर्न पोलिथिन पाइप आपूर्तिको टेन्डर आह्वान गरिएको थियो । सरकारले विदेशी मुद्राको विनिमय हुन सक्ने भएकाले विदेशीलाई प्राथमिकता दिएको बताएको थियो ।

सांसद ढुंगेलले सार्वजनिक प्रस्तावको विषयमा बोल्दै सरकारले साम्यवादी मुलुक र त्यसका एजेन्टहरूले टेन्डरमा भाग लिन नपाउने नीति ल्याएकामा आपत्ति जनाएका थिए । सरकारले राइजिङ नेपालमा सूचना प्रकाशित गरेर कसैलाई रोक्ने गरी टेन्डर आह्वान गरेको भन्दै संसद‍्मै सांसदहरूले आपत्ति जनाएका थिए । 

एमाले सांसदहरू सुवास नेम्वाङ, प्रेमसिंह धामी, महेश चौधरी, बलराम उपाध्यायलगायतले दाताहरूको दबाब सजिलै स्विकार्दा राष्ट्रिय उद्योगहरू धराशयी हुने र परराष्ट्र सन्तुलनमा समेत असर पर्ने बताएका थिए । राजाबाट मनोनीत सांसदहरू रमेशनाथ पाण्डे, रवीन्द्र चक्रवर्ती र योगेश्वर पाण्डेले सरकार मुलुकको भौगोलिक अवस्थालाई ध्यानमा राखेर चल्नुपर्ने भन्दै सबै दाताको सर्त स्विकार्दा दूरगामी प्रभाव ख्याल गर्न आग्रह गरे । 

सहायक मन्त्री बडुले भने युरोपका ७, अफ्रिकाका ५०, अमेरिकाका ४६, एसियाका ४९ र आसियानका १६ राष्ट्रले टेन्डरमा भाग लिन पाउने जानकारी संसदलाई गराएका थिए । विकास सहयोग समितिमा चीन र उत्तर कोरिया पनि समावेश भएकाले टेन्डरमा भाग लिन पाउने बताएका थिए ।

पाइप खरिद टेन्डरमा भाग लिन पाउने/नपाउने बहसलाई राष्ट्रिय सभामा सार्वजनिक महत्त्वको विषयअन्तर्गत दर्ता गरेर छलफल गरेको सन्दर्भलाई कान्तिपुर दैनिकले २०५० भदौ १० गते ‘पोलिथिन पाइप र परराष्ट्र नीति’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

 प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully