काठमाडौँ — वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि विकास साझेदारहरूले विकास कार्यक्रमका लागि आर्थिक सहयोगको ढोका फराकिलो बनाएका थिए । दातृराष्ट्रहरूले गर्ने सहयोगबाट गरिने कार्यक्रमअन्तर्गत खानेपानी आयोजनाहरू सञ्चालन गर्ने योजना सरकारले ल्याएको थियो ।
यही सिलसिलामा जापान सरकारले डेस्ट रिलिफ फन्डअन्तर्गत दिने सहयोगको टन्डरमा कुन कुन मुलुकले भाग लिन पाउने र नपाउने भन्ने विवाद चुलिँदै गएपछि राष्ट्रियसभाका तत्कालीन सांसद चन्द्रराज ढुंगेलले सार्वजनिक महत्त्वको प्रस्ताव नै दर्ता गराएका थिए । पाइप खरिदको विषय संसद्मा प्रवेश गरेपछि छलफल गराइएको थियो ।
खासमा पाइप खरिदको ग्लोबल टेन्डरमा चीन र उत्तर कोरियाले भाग लिन नपाउने सन्दर्भ उठेपछि सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको हो । त्यतिबेला साम्यवादी मुलुक र प्रजातान्त्रिक मुलुक भन्ने भावना धेरैमा थियो । ९० को दशकपछि विश्वमा कम्युनिस्ट दर्शन कमजोर भएको धारणा प्रजातन्त्रवादीहरूले राख्ने गर्थे ।
कम्युनिस्टहरूले यस्तो धारणा मन पराउँदैनथे । दुवै पक्षको सैद्धान्तिक अडानले एक प्रकारको राजनीतिक द्वन्द्वको खाडल बढाउँदै लगेको देखिन्थ्यो । झन् २०४८ को निर्वाचनपछि बनेको कांग्रेस नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच त अनेक आरोह अवरोह चल्दै आएको थियो ।
तत्कालीन आवास तथा भौतिक योजना सहायक मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद्मा प्रवेश गरेको विषय केन्द्रित रहेर राष्ट्रियसभामा जवाफ दिएका थिए । टेन्डर आह्वानका क्रममा नेपाली व्यवसायी, चीन र उत्तर कोरियालाई प्रवेश निषेध हुने गरी सर्त राखेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले विरोध जनाएका थिए । सरकारले नै यस्तो निर्णय गर्दा नेपाली व्यवसायी हतोत्साही हुने र छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध पनि बिग्रिने एमाले सांसदहरूको धारणा थियो ।
मुलुकका विभिन्न स्थानमा सञ्चालन हुने खानेपानी योजना सञ्चालन गर्न पोलिथिन पाइप आपूर्तिको टेन्डर आह्वान गरिएको थियो । सरकारले विदेशी मुद्राको विनिमय हुन सक्ने भएकाले विदेशीलाई प्राथमिकता दिएको बताएको थियो ।
सांसद ढुंगेलले सार्वजनिक प्रस्तावको विषयमा बोल्दै सरकारले साम्यवादी मुलुक र त्यसका एजेन्टहरूले टेन्डरमा भाग लिन नपाउने नीति ल्याएकामा आपत्ति जनाएका थिए । सरकारले राइजिङ नेपालमा सूचना प्रकाशित गरेर कसैलाई रोक्ने गरी टेन्डर आह्वान गरेको भन्दै संसद्मै सांसदहरूले आपत्ति जनाएका थिए ।
एमाले सांसदहरू सुवास नेम्वाङ, प्रेमसिंह धामी, महेश चौधरी, बलराम उपाध्यायलगायतले दाताहरूको दबाब सजिलै स्विकार्दा राष्ट्रिय उद्योगहरू धराशयी हुने र परराष्ट्र सन्तुलनमा समेत असर पर्ने बताएका थिए । राजाबाट मनोनीत सांसदहरू रमेशनाथ पाण्डे, रवीन्द्र चक्रवर्ती र योगेश्वर पाण्डेले सरकार मुलुकको भौगोलिक अवस्थालाई ध्यानमा राखेर चल्नुपर्ने भन्दै सबै दाताको सर्त स्विकार्दा दूरगामी प्रभाव ख्याल गर्न आग्रह गरे ।
सहायक मन्त्री बडुले भने युरोपका ७, अफ्रिकाका ५०, अमेरिकाका ४६, एसियाका ४९ र आसियानका १६ राष्ट्रले टेन्डरमा भाग लिन पाउने जानकारी संसदलाई गराएका थिए । विकास सहयोग समितिमा चीन र उत्तर कोरिया पनि समावेश भएकाले टेन्डरमा भाग लिन पाउने बताएका थिए ।
पाइप खरिद टेन्डरमा भाग लिन पाउने/नपाउने बहसलाई राष्ट्रिय सभामा सार्वजनिक महत्त्वको विषयअन्तर्गत दर्ता गरेर छलफल गरेको सन्दर्भलाई कान्तिपुर दैनिकले २०५० भदौ १० गते ‘पोलिथिन पाइप र परराष्ट्र नीति’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] Discussion in the National Assembly about banning the purchase of polythene pipes to communist countries](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/archive-1642025010948-1000x0.jpg&w=1001&h=0)