काठमाडौँ — राष्ट्रिय सभा सांसद गोल्चे सार्कीले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका स्थानीय विकास तथा कृषिमन्त्री रामचन्द्र पौडेललाई चार मुक्का हानेपछि संसद् एकाएक तातिएको थियो । २०५० साउन ६ गते रोस्टमबाट फर्किने क्रममा सार्कीले संसद् भवनको अघिल्लो पंक्तिको कुर्सीमा गालामा हात राखेर बसिरहेका रामचन्द्र पौडेललाई चार मुक्का हानेका हुन् ।
गृहमन्त्री शेरबहादुर देउवा भुटानी शरणार्थीसम्बन्धी समस्यालाई लिएर वार्ता गर्न थिम्पु गएकाले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी पनि पौडेललाई दिइएको थियो ।
दासढुंगा जीप दुर्घटनाको निष्पक्ष छानबिन नभएको भन्दै संसद्मा तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले राजधानी काठमाडौंलगायत मुलुकभर विरोध कार्यक्रम चलाइरहेको थियो । काठमाडौंमा भएको चक्काजामका बेला सहभागी एमाले सांसदहरूलाई प्रहरीले पक्राउ र धरपकड गरेकामा संसद्मा त्यसको चर्को विरोध भइरहेको थियो ।
दासढुंगा दुर्घटनालाई लिएर त्यतिबेला सरकार र एमालेबीचको विवादको खाडल ठूलै बनेको थियो । चक्काजाममा उत्रिएका सांसदहरूलाई पक्राउ गरेको घटना भने ताजै थियो । सोही विषयमा जवाफ दिन गृहमन्त्रीका हैसियतमा रामचन्द्र पौडेल राष्ट्रिय सभामा उपस्थित भएका थिए ।
पौडेलले जवाफ दिनुअघि जक्काजाममा पक्राउ परेका सांसदहरूका तर्फबाट एमाले सांसद सार्कीले बोल्ने अवसर पाए । उनले बोलेर रोस्टमबाट फर्किने क्रममा गालामा हात राखेर अघिल्लो कुर्सीमा बसिरहेका रामचन्द्रलाई चार मुक्का हाने । उनले मुक्का प्रहार गरेपछि संसद्मा होहल्ला मच्चियो । दुवै पक्षका सांसदहरू उत्तेजित भएर उठे । नेपालको संसदीय अभ्यासका क्रममा सांसदले मन्त्रीमाथि मुक्का हानेको सम्भवतः यो पहिलो घटना थियो ।
सत्तारुढ कांग्रेसका राष्ट्रिय सभाका नेता बासु रिसालले सांसद गोल्छे सार्कीलाई निष्कासन गर्नुपर्ने माग गरेका थिए । सांसद जगदीशशमशेरलगायतले तीव्र विरोध गरेपछि सांसद गोल्चे सार्की बैठक-कक्ष छाडेर निस्किए । लगत्तै राष्ट्रिय सभाका अध्यक्ष बेनीबहादुर कार्कीले उनलाई ७ दिन बैठकमा सहभागी हुन नपाउने गरी निष्कासनको घोषणा गरे ।
उक्त घोषणालाई लिएर एमाले सांसदहरूले चर्को विरोध जनाए भने कांग्रेस सांसदहरूले घोषणाको समर्थन गरेका थिए । एमाले सांसदहरूले सार्कीमाथि भएको कारबाही फिर्ता लिन माग गर्दै संसदमा होहल्ला गरेका थिए । तर अध्यक्ष कार्कीले उनी संसदबाट भागेकाले लिखित रूपमा माफी मागे मात्र राष्ट्रियसभा नियमावली अनुसार विचार गर्न सकिने बताए ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपालले मन्त्रीमाथि हातपात गर्नु उचित नभएको प्रतिक्रिया दिए । तर उनले कारबाही नै समस्याको समाधान नहुने पनि बताए । नेपाली कांग्रेसका सांसद नरहरि आचार्यले प्रतिपक्षले मुड्की चलाउन खोजेको आरोप लगाए । उनले एमालेप्रति इंगित गर्दै सत्तामा गएमा कस्तो व्यवहार गर्छ भन्दै प्रतिप्रश्न पनि गरे ।
मन्त्री पौडेलले भने आफूमाथिको प्रहारलाई लिएर सदनको मर्यादा कायम राख्ने कि नराख्ने भन्दै प्रश्न गरे । उनले अल्पमतको बन्धक बहुमत हुन नसक्ने बताएका थिए । एमाले सांसद प्रदीप नेपालले अध्यक्ष कार्कीलाई सांसद सार्कीमाथि गरेको कारबाही फिर्ता लिन भनेका थिए । तर कार्कीले भने आफूले नियमावली अनुसार नै कारबाहीको प्रक्रिया अघि बढाएको अडान दोहोर्याए ।
प्रतिपक्षी एमाले सांससदहरूले राष्ट्रियसभामा करिब १० मिनेट सरकारविरुद्ध नारा लगाए । कांग्रेसका सांसदहरूले हिम्मत भए प्रतिपक्षलाई सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन चुनौती दिएका थिए । नारा लगाउन थालेपछि सत्तापक्षका सांसद चेतकुमारी दाहाल, डिल्लीप्रसाद आचार्य र अर्थ राज्यमन्त्री महेश आचार्यले नियमापत्ति गरेका थिए ।
सांसदले संसदभित्रै मन्त्रीमाथि मुक्का प्रहार गरेको विषयले भने मुलुकभर चर्चा पाएको थियो । त्यसमा पनि कांग्रेसका अग्रपंक्तिका नेतासमेत रहेका पौडेलमाथिको हातपातका विषयमा सत्ता र प्रतिपक्षबीच लामो समय एकअर्काको आलोचना भइरह्यो । यही सन्दर्भलाई आधार बनाएर ‘मन्त्री पौडेलमाथि हातपात : सांसद सार्की निलम्बित’ समाचार कान्तिपुर दैनिकले २०५० साउन ७ गते प्रकाशन गरेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] After MP Golche Sarki punched Acting Interior Minister four times...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/archieve-cover-1242025012050-1000x0.jpg&w=1001&h=0)