[अर्काइभ] दासढुंगा दुर्घटना प्रकरण : प्रदर्शनकारीले वीर अस्पतालको ताला फोरेर शव निकालेपछि... 

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

[Archive] Dasdhunga accident case: After the protestors broke the lock of Veer Hospital and took out the body...

काठमाडौँ — दासढुंगा दुर्घटनामा एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको घटनाले दुई महिनादेखि काठमाडौं उपत्यका लगभग अशान्तजस्तै थियो । दुर्घटनाको छानबिनका लागि सरकार र एमालेले गठन गरेको आयोगको ठहर मेल नखाएपछि आन्दोलन झन् चर्किएको थियो ।

सरकारले २०५० जेठ ४ गते सर्वोच्च अदालतका पूर्वअतिरिक्त न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एक सदस्यीय आयोग गठन गरेको थियो । एमालेले आन्तरिक रूपमा छानबिन गर्ने भन्दै स्थायी कमिटी सदस्य तथा सांसद केपी शर्मा ओलीको अध्यक्षतमा २०५० जेठ ५ गते आयोग गठन गरेको थियो । 

अनिल आयोगले दासढुंगा दुर्घटनालाई दुर्घटना मात्र भनेको थियो भने ओली आयोगले सुनियोजित हत्या भनेको थियो । एमालेले ओली आयोगको ठहरलाई आधारमा मानेर अनिल आयोगको भनाइ अस्वीकार गर्दै अर्को सर्वदलीय आयोगको माग गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अनिल आयोगको प्रतिवेदन प्राप्त भएपछि अर्को आयोगको आवश्यकता नभएको आशय व्यक्त गरेका थिए । एमालेले कोइरालाको उक्त विचारले दासढुंगा दुर्घटना झन् शंकास्पद भएको भन्दै विरोधका कार्यक्रमलाई चर्काउँदै लगेको थियो । यही सिलसिलामा काठमाडौंमा लगातार बन्द, हडताल, तोडफोड भइरहेको थियो । 

रत्नपार्कका रेलिङ, टेलिफोन बुथ भत्काउने, प्रहरीमाथि ढुंगामुडा गर्ने लगातार गरिनै रहेका थिए । तीन दिनमा नौ जनाको मृत्यु भइसकेको थियो भने सरकारले तीन सयभन्दा बढीलाई गिरफ्तार गरेको थियो । सरकारले अर्को आयोगको औचित्य छैन भनेको र एमालेसहितका प्रतिपक्ष दलहरूले आयोगको माग गरेको विषय नै प्रदर्शनको मूल कारण थियो । 

रत्नपार्क, भोटाहिटी, महाबौद्धलगायतका क्षेत्रमा दिनैपिच्छे तनाव हुन्थ्यो । २०५० असार १३ गते प्रदर्शनमा सहभागी भएकाहरूले बीर अस्पताल नियन्त्रणमा लिन खोज्दा निकै ठूलो झडप भएको थियो । परिस्थिति यस्तो आयो कि प्रदर्शनकारीहरूले प्रहरीबाट मारिएकाको शव आफैं बीर अस्पतालबाट झिकेर शव यात्रा गरेका थिए । 

विरोध प्रदर्शनमा उत्रेका एमाले, संयुक्त जनमोर्चा, नेकपा मसाल, नेकपा (मालेमा), नेपाल कम्युनिस्ट लिग र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताले बीर अस्पतालको शवगृहको ताला फोरेर महेश मानन्धरको शव झिकेका हुन् । बढी बल प्रयोग गर्दा थप क्षति हुने भएकाले प्रहरीले गोली चलाउन सकेन । 

अस्पतालको शवगृहबाट शव निकाल्ने समूहको नेतृत्व गरिरहेका एमाले सांसद कृष्णगोपाल श्रेष्ठ बीर अस्पतालको गेटमै बेहोस भएका थिए । मदन–आश्रितको दुर्घटनामा मृत्यु भएदेखि नै एमालेले काठमाडौंलगायतका मुलुकभर प्रदर्शन गर्दै आएको थियो । यस क्रममा ठूलो धनजनको क्षति भएको थियो । प्रदर्शनलाई निरन्तरता दिने निर्णय वाम पार्टीहरूले गरेका थिए ।

नेताद्वय भण्डारी र आश्रितको मृत्युपछि मुलुकभर भइरहेको प्रदर्शनका क्रममा धनजनको क्षति र राजनीतिक घटनाक्रमका बारेमा तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘प्रहरी–प्रदर्शनकारी भिडन्त, नौको मृत्यु : राजधानी तेस्रो दिन पनि अशान्त’ शीर्षकमा २०५० असार १४ गते पहिलो पृष्ठमा प्रकाशन गरेको थियो । 

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully